शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सभामुखमा सापकोटा निर्विरोधले काँग्रेसमा विवाद :  नैतिक सङ्कटमा प्रवक्ता

शुक्रबार, १० माघ २०७६, २२ : ३८
शुक्रबार, १० माघ २०७६

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलद्वारा सभामुखमा उम्मेदवारी नदिने निर्णयको पार्टीभित्रैबाट चर्को आलोचना शुरु भएको छ । मङ्गलबार सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बसेको संसदीय कार्यसमिति बैठकले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले तय गरेका सभामुखका उम्मेदवारप्रति समर्थन जनायो । योसँगै नेकपाका उम्मेदवार अग्नि सापकोटा निर्विरोध निर्वाचित भए भने काँग्रेसमा ‘विद्रोह’ शुरु भयो ।

नेकपाले सभामुखको उम्मेदवारमा सापकोटाको नाम अगाडि सारेपछि काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पात्रको उचित छनोट नभएको भन्दै पदको गरिमा नै धरापमा परेको प्रतिक्रिया दिएका थिए । पार्टीको संसदीय दलले सापकोटाको नाममा समर्थन गर्दै छ भन्ने कुरा शर्माले पहिले नै जानकार थिए । तर, पार्टीको निर्णय रोक्न आग्रह गरे पनि पार्टी नेतृत्वसामु कुनै सीप लागेन ।

त्यसपछि उनी सोमबार मिडियामार्फत दबाब सिर्जना गर्न तम्सिए । काँग्रेसले संसदीय दलकी सचेतक पुष्पा भुसाललाई सभामुखको उम्मेदवार खडा गर्दैछ भनेर सूचना चुहाए । यद्यपि उनको त्यो प्रचार पनि निरर्थक सावित भयो ।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सापकोटाविरुद्ध काँग्रेस नउभिने वचन दिएका दलका नेता शेरबहादुर देउवाले विश्वप्रकाशहरूको सुझावलाई रद्दीको टोकरीमा मिल्काइदिए । तर उक्त निर्णयबारे पार्टीका सांसदको रायसमेत लिने काम देउवाबाट भएन । सभामुखको उम्मेदवार चयनमा नेकपाको निर्णयमाथि पार्टीभित्रबाट प्रश्न उठेपछि देउवाले २१ सदस्य रहेको दलको कार्यसमितिमा मात्र छलफल गरेर निर्णय लिए ।

बैठकमा प्रमुख सचेत बालकृष्ण खाँणको समेत उपस्थिति थिएनन् । त्यो दिन उनी गृह जिल्ला रूपन्देही थिए । यस्तै महामन्त्री शशांक कोइराला पनि बैठकमा थिएनन् । उनी पार्टीको उक्त निर्णयप्रति असन्तुष्ट देखिएका छन् ।

तर वरिष्ठ नेता रामचन्द्र पौडेल निकट सांसद मिनेन्द्र रिजालले मङ्गलबार देउवालाई साथ थिए । पौडेल पक्षका केही सांसदले विरोध गरेपछि रिजालले उनीहरुलाई पनि मनाएका थिए । त्यसपछि देउवाले संसदीय कार्यसमितिबाट सहजै निर्णय लिए ।


विगतमा पार्टीको निर्णयमा चित्त नबुझे पदमा रहेकाहरूले राजीनामा दिएको दृष्टान्त छ । पार्टीले गलत निर्णय लिएको ठहर गर्दै काँग्रेसका तत्कालीन प्रवक्ता नरहरि आचार्य र सह–महामन्त्री पूर्णबहादुर खड्काले पदबाट राजीनामा दिएका थिए । तर पार्टीबाट गलत निर्णय भएको निष्कर्षमा पुगेका शर्मा भने अहिलेसम्म मौन छन् ।


प्रवक्तामाथि नैतिक सङ्कट

प्रवक्ताको प्रतिक्रियालाई पार्टी सभापति र संसदीय दलका नेताको अध्यक्षतामा बसेको बैठकले खण्डित गरिदिएपछि यतिबेला शर्मामाथि नैतिक सङ्कट परेको छ । संसदीय दलको निर्णयपछि उनी रक्षात्मक अवस्थामा पनि देखिएका छन् ।

रातोपाटीले अबको तपाईंको प्रतिक्रिया के हो भन्ने प्रश्नमा उनले भने, ‘मैले राजनीतिक तवरबाट प्रतिक्रिया दिएको थिएँ । पार्टीको संसदीय दलले रणनीतिक रूपमा निर्णय लियो । अब योभन्दा बढी प्रतिक्रिया दिने अवस्था छैन ।’

विगतमा पार्टीको निर्णयमा चित्त नबुझे पदमा रहेकाहरूले राजीनामा दिएको दृष्टान्त छ । पार्टीले गलत निर्णय लिएको ठहर गर्दै काँग्रेसका तत्कालीन प्रवक्ता नरहरि आचार्य र सह–महामन्त्री पूर्णबहादुर खड्काले पदबाट राजीनामा दिएका थिए । तर पार्टीबाट गलत निर्णय भएको निष्कर्षमा पुगेका शर्मा भने अहिलेसम्म मौन छन् ।


‘यस्तो निर्णय हुँदैछ भन्ने कुरा उहाँलाई थाहा थियो ।  किनकि उहाँ अघिल्लो दिन देउवासँग हुनुहुन्थ्यो । पछि उहाँले ट्विटरमा विरोध गर्नुभयो । हामीलाई अत्तो–पत्तो छैन । उता देउवा पनि ठीकबाहिर सार्वजनिक ठाउँमा पनि ठीक । यस्तो पनि हुन्छ ?,’ शर्मामाथि ती सांसदले प्रश्न गरे ।


यतिबेला देउवासँगै शर्माको भूमिकामाथि पनि पार्टीभित्रबाट प्रश्न उठाइएको छ । पार्टी नेतृत्वबाट गलत निर्णय हुन लागेको सङ्केत पाएर पनि उनी आफ्नो सार्वजनिक खपतमा केन्द्रित भएको एक सांसदले आरोप लगाए ।

रातोपाटीसँगको कुराकानीमा ती सांसदले भने, ‘पार्टी प्रवक्ताले जहिले पनि आफू बोल्ने र पछि त्यो कुरा छोड्ने गर्नुभएको छ । पार्टीको प्रवक्ता भएपछि पार्टीको धारणा स्थापित गर्न सक्नुपथ्र्यो । उहाँले प्रवक्ताका रूपमा प्रतिक्रिया दिएपछि एकखालको धारणा निर्माण गरौँ भनेर पहल लिन सक्नुपथ्र्यो ।’

‘यस्तो निर्णय हुँदैछ भन्ने कुरा उहाँलाई थाहा थियो ।  किनकि उहाँ अघिल्लो दिन देउवासँग हुनुहुन्थ्यो । पछि उहाँले ट्विटरमा विरोध गर्नुभयो । हामीलाई अत्तो–पत्तो छैन । उता देउवा पनि ठीकबाहिर सार्वजनिक ठाउँमा पनि ठीक । यस्तो पनि हुन्छ ?,’ शर्मामाथि ती सांसदले प्रश्न गरे ।

ती सांसदले थपे, ‘पार्टीको जिम्मेवारीमा बसेको व्यक्तिले यस्तो विषयमा गलत निर्णय हुने भयो सबै आउनुहोस् छलफल गरौँ भनेको भए, रातारात लागेर दलको बैठकमा एक खालको हस्तक्षेप गर्ने परिस्थिति हुन्थ्यो । तर प्रवक्ता देउवाको प्यारो बन्न र बजार खपतमा एकै पटक उत्रिनुभयो ।’

सत्ता–प्रतिपक्षी मिलोमतो आश्चर्यजनक

संसदीय दलको निर्णयप्रति सांसद गगन थापाको पनि खरो विमति छ । संसदीय दलको कार्यसमितिमा नरहेका थापाले भने, ‘सभामुखमा नेकपाका उम्मेदवारलाई काँग्रेस संसदीय दलले समर्थन गर्ने निर्णय गरेको होइन । यो निर्णय संसदीय दलको कार्यसमितिको हो । मङ्गलबार काँग्रेस संसदीय दलको बैठक नै बसेको होइन । हामीले कार्यसमितिको निर्णय पत्रिकामा पढेर थाहा पाएको हो ।’

उनका अनुसार बेलामा नेपाली काँग्रेसले जसरी प्रतिपक्षीको भूमिका खेल्नुपथ्र्यो, त्यसरी प्रतिपक्षीको भूमिका खेल्न सकेन भनेर कार्यकर्ता र आम जनताको गुनासो छ । थापाले भने, ‘कैयौँ विषयमा सरकारभन्दा अलग रहनुपर्ने प्रतिपक्षीको जिम्मेवारी हो । सरकारसँगै मिलोमतो कही गर्नुहुन्न । प्रतिपक्षी अलग्गै रहनुपर्छ ।’

राजनीतिमा मिलोमतो र समजदारी फरक कुरा भएको उनले बताए ।

‘कतिपय राष्ट्रिय विषयमा सहमति चाहिने कुरा फरक विषय हो । अरू बाँकी रहेका कुराहरुमा लेनदेन र मिलोमतो कही हुनुहुँदैन,’ थापाले भने, ‘प्रतिपक्षी अलग्गै बस्ने पर्छ । हाम्रो संविधानले कल्पना गरेको व्यवस्था पनि यही हो । तर त्यो भइरहेको छैन ।’

नेतृत्वले आम जनचाहना विपरीत निर्णय लिएको उनको बुझाइ छ । ‘यतिबेला सरकार एकतिर डेलिभरीमा कमजोर र राजनीतिक रूपमा अनुदार बन्दै गएको छ । यो बेलामा प्रतिपक्षी सशक्त होस् सरकारलाई रोक्न सकोस् भन्ने आम चाहना छ,’ थापाले भने, ‘यो चाहनाको सन्दर्भलाई सत्तारुढ दलले सभामुखको उम्मेदवार खडा गरिसकेपछि काँग्रेसले पनि उम्मेदवार खडा गर्नुपर्ने थियो ।’

नेकपाले काँग्रेसलाई उपसभामुख दिने कुरा कल्पना भन्दै बाहिरको विषय भएको उनले बताए । थापाले भने, ‘मानौँ नेकपाले हाम्रो तर्फबाट सभामुख र काँग्रेसलाई उपसभामुख भनेर दिएको भए काँग्रेस संसदीय दलले तटस्थ भूमिकाका विषयमा सोच्न सकिन्थ्यो होला । तर त्यस्तो त केही होइन । नेकपाले उपसभामुखमा खुलेर राष्ट्रिय जनता पार्टीलाई समर्थन गर्छ । यस्तो अवस्थामा काँग्रेसले आपत्ति प्रकट गर्नुपर्ने अवस्था थियो ।’

नेकपाले सभामुखका लागि तय गरेको पात्रको छनोटमाथि असहमति जनाउने अवसर गुमाएको उनलाई चित्त बुझेको छैन । ‘उहाँ प्रक्रियाबाट आउनुभयो भने हामीले सभामुख मान्नुपर्छ । तर पात्रको छनोटसँग मेरो असहमति छ भन्ने कुरालाई काँग्रेसले राख्नुपथ्र्यो । त्यो अवसर किन गुमाएको ?,’ उनको प्रश्न छ ।

पूर्वसभामुख दमननाथ ढुङ्गाना काँग्रेसले यतिबेला संवैधानिक, सैद्धान्ति र नैतिक भूमिका खेल्न नसकेको जिकिर गर्छन् । ‘संसदमा कुन पार्टीको कति सिट सङ्ख्या छ, कुन पार्टीले के नीति लिन्छ भन्नेमा भरपर्छ । काँग्रेस आफ्नो मत पुग्दैन भनेर उम्मेदवार नउठाएको कुरा प्रस्ट छ । तर, काँग्रेसले केका लागि कम्प्रमाइज गर्यो ?,’ उनको पनि प्रश्न छ ।

काँग्रेसको भूमिका देखेर आफू आश्चर्यमा परेको ढुङ्गानाले बताए । ‘काँग्रेसले उम्मेदवार उठाएन, त्यो ठीक छ । तर काँग्रेसले खेल्नुपर्ने भूमिका त खेल्नुपथ्र्यो नि ?,’ उनले भने, ‘काँग्रेसले सभामुखमा उम्मेदवार खडा नगरेका कारण बुझ्न सकिन्छ । तर सत्तारुढ दलबाट जस्तो सभामुखको उम्मेदवार खडा गरियो, त्यसमा संवैधानिक, सैद्धान्तिक र नैतिक भूमिका नखेल्नुको उत्तर गर्भमा छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप