शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भिडियो समाचार : राष्ट्रियसभा निर्वाचनमा काँग्रेस बन्यो निल, दीपक मनाङे पक्राउ

बिहीबार, ०९ माघ २०७६, २१ : २७
बिहीबार, ०९ माघ २०७६

राष्ट्रियसभा निर्वाचन

राष्ट्रियसभाको रिक्त १८ सिटका लागि बिहीबार भएको मतदानको सम्पूर्ण मतपरिणाम आएको छ । बिहीबार राति आएको नतिजाअनुसार नेकपा १६ सिट र राजपा २ सिटमा विजयी भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा काँग्रेसले भने एक सिट पनि जितेन र यसअघिको ७ सिट पनि गुमाएको छ  निर्वाचन बिहीबार बिहान १० बजेदेखि अपराह्न ४ बजसम्म मतदान चलेको थियो । 

आयोगका अनुसार, प्रत्येक प्रदेशको १ स्थानमा मतदानस्थल तोकिएको थियो । प्रदेश १ का लागि विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह, २ का लागि जनकपुर उपमहानगरपालिकाको महेन्द्रनारायण स्मृति भवन र वागमती प्रदेशका लागि ललितपुर महानगरपालिका–४ स्थित वडा समिति भवन मतदानस्थल तोकिएको थियो ।

गण्डकी प्रदेशका मतदाताका लागि पोखरा महानगरपालिकामा अवस्थित निर्वाचन कार्यालय, प्रदेश ५ का मतदाताका लागि घोराहीस्थित कर्मचारी मिलन केन्द्रको भवन, कर्णाली प्रदेशका मतदाताका लागि जिल्ला निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशका मतदाताका लागि दीपायलस्थित पद्म पब्लिक मुक्तिनारायण उच्च माविबाट मतदान गर्ने व्यवस्था मिलाइएको थियो । 

५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाइ अर्थात् १९ सांसदको पदावधि यही फागुन २० मा समाप्त हुँदैछ । तीमध्ये बिहीबार १८ सिटका लागि मतदान भएको हो । प्रदेशसभा सदस्य, नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष राष्ट्रियसभा निर्वाचनका मतदाता रहने यो निर्वाचनमा कुल मतभार ५३ हजार ५ सय ८ रहेको छ । चुनावका लागि ६ दलका ४५ जना उम्मेदवार मैदानमा थिए । 

कहाँबाट को विजयी ?

नतिजाअनुसार प्रदेश नम्बर २ मा राजपा र नेकपाका २–२ उम्मेदवार विजयी भए । जहाँ राजपा नेकपाको गठबन्धन थियो । 

प्रदेश नम्बर २ मा राजपा उम्मेदवार मृगेन्द्र कुमार सिंह यादव र शेखर कुमार सिंह विजयी भए । यस्तै नेकपाबाट तुलसा कुमारी दाहाल र राधेश्याम पासवान विजयी भए । 

अन्य प्रदेशमा सबै नेकपाका उम्मेदवार विजयी भए । जसअनुसार प्रदेश नम्बर १ बाट इन्दिरा देवी गौतम, गोपी बहादुर सार्की अछामी र देवेन्द्र दाहाल विजयी भए भने बागमती प्रदेशबाट गंगा कुमारी बेल्बासे र बेदुराम भुसाल विजयी भए । 

यसैगरी गण्डकी प्रदेशबाट भगवती न्यौपाने र नारायणकाजी श्रेष्ठ विजयी हुँदा प्रदेश नम्बर ५ बाट विमला घिमिरे, गोपाल भट्टराई र जगप्रसाद शर्मा विजयी भए । 

यस्तै कर्णालीबाट सुमित्रा बिसी र माया प्रसाद शर्मा विजयी हुँदा सुदूरपश्चिमबाट शारदा देवी भट्ट र नारामान स्वास विजयी भए । 


३ अर्ब रुपैयाँ ब्याजसहित फिर्ता

सरकारले साझा यातायातलाई विद्युतीय बस खरिद गर्न दिएको ३ अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने निर्णय गरेको छ । हालै बसेको मन्त्रिपरिषदको बैठकले सो संस्थाले निर्धा्रित समयमा बस खरिद गरी संचालन गर्न नसकेको हुँदा साझालाई दिइएको ३ अर्ब रुपैयाँ हालसम्मको ब्याज सहित फिर्ता लिने निर्णय गरेको संचारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । 

२०७६ को असार २४ र २९ गतेको निर्णय अनुसार साझा यातायातलाई ३ सय वटा विद्युतीय बस खरिद गरी सञ्चालनका लागि सरकारको तर्फबाट शेयरबापत ३ अर्ब रुपैयाँ लगानी गरी पैसा दिइएको थियो । साझा यातायातले सो काम गर्न नसकेपछि त्यसको जिम्मा भौतिक पूर्वाधार मन्त्रालयलाई दिइएको छ । 

दूतावासको घर 

सरकारले जर्मनीको बोल शहरमा रहेको नेपाली दुतावासको पुरानो भवन बिक्रीका लागि स्वीकृति दिएको छ ।मन्त्रिपरिषदको बैठकले नेपालको सो भवनको मूल्य निर्धारण गरी बिक्री गर्न जर्मनीको बर्लिनमा सरेको नेपाली दूतावासलाई स्वीकृति दिइएको मन्त्री बाँस्कोटाले जानकारी दिए ।

मन्त्री बाँस्कोटाले तिब्बतमा बर्षाैदेखि बस्दै आएका नेपालीका लागि हस्तलिखित राहदानी परिवर्तन गर्न दिने निर्णय गरेको जानकारी दिए ।  पहिले ४० जना त्यस्ता व्यक्ति रहेकोमा अहिले ३८ जना रहेको उहाले बताए ।   

यीसँगै मन्त्रीपरिषद बैठकले विभिन्न ३२ वटा निर्णयहरु गरेको छ ।

ईश्वर पोखरेल

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले राजनीतिका कारण मानिसहरु विभाजित भएपनि संगीतले मान्छेहरुलाई एक ठाउँमा ल्याउने बताएका छन् । 

तारादेवीको चौधौं पुण्यस्मृतिका अवशरमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले यस्तो बताएका हुन् ।  राजनीतिले विचार र दृष्टिकोण दिएपनि राजनीतिकै कारण समाज र मानिस विभाजित हुने गरेको उल्लेख गर्दै उपप्रधानमन्त्री पोखरेलले संगीत, कला र गायनले मान्छेलाई एक ठाउँमा जोड्ने बताए । 

उनले कला र संगीतको क्षेत्रमा लागेका व्यक्तिहरुमा राजनीतिक रोग सर्न नहुने समेत बताए । 

दीपक मनाङे पक्राउ

अखिल नेपाल फुटबल संघ (एन्फा)का कास्कीका अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेको अभियोगमा गण्डकी प्रदेशका प्रदेशसभा सदस्य दीपक मनाङे भनिने राजीव गुरुङलाई प्रहरीले  पक्राउ गरेको छ । मनाङेलाई बिहीबार पोखराको लेकसाइडस्थित होटल प्याराडाइज इनबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

गुरुङले बुधबार मनाङेविरुद्ध जिल्ला अदालत कास्कीमा उजुरी दर्ता गराएपछि प्रहरीले मनाङेमाथि पक्राउ पुर्जी जारी गरेको थियो ।

मंगलबारदेखि पोखरामा सुरु भएको मुख्यमन्त्री कप उद्घाटन कार्यक्रममा सांसद मनाङेले एन्फा अध्यक्ष गुरुङलाई झापड हानेपछि यतिबेला विवाद चुलिएको छ । 

मनाङले आफूले हातपात गरेको पत्रकार सम्मेलनमार्फत नै स्वीकार गरिसकेका छन् । पत्रकार सम्मेलनमा उनले मिलन भ्रष्टाचार र गठीमा संलग्न रहेको भन्दै उनलाई फूलमाला लगाएर नहुने र झापडनै हान्नुपर्ने बताएका थिए । 

सशस्त्र प्रहरी बल

सशस्त्र प्रहरी बलका प्रमुख (आइजीपी) शैलेन्द्र खनालले संगठन नीतिगत भ्रष्टाचार र आर्थिक अनियमितता गर्ने कसैलाई छुट नहुने बताएका छन् । 

१९ औं सशस्त्र प्रहरी स्थापना दिवसका अवशरमा आयोजित कार्यक्रममा खनाललेसंगठनमा राम्रा काम गर्नेलाई उचित पुरस्कार दिने बताए । 

 खनालले भ्रष्ट आचरणका कर्मचारीलाई कडा भन्दा कडा कारवाही गर्ने गरिने नीति अनुरुप सबैलाई जिम्मेवार र जवाफदेही बन्न निर्देशन समेत दिए ।  खनालले संगठनको मूल्य, मान्यता र आचरण विरुद्धको काम गर्ने १२ सय ९७ जना कर्मचारीलाई कारवाही गरिएको समेत जानकारी दिए । 

आफ्नो कार्यकालमा संगठनभित्र राम्रो काम गर्ने ५ सय २१ जना कर्मचारीहरुलाई पुरस्कृत पनि गरिएको उनले बताए । 

१९ औं सशस्त्र प्रहरी स्थापना दिवसका अवशरमा संगठनभित्र उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीहरुलाई सम्मान गरिएको थियो । 

ट्रान्सपरेन्सीको प्रतिवेदन

केही सुधार भएपनि नेपाल भ्रष्टाचार व्याप्त रहेका मुलुकहरुको श्रेणीबाट माथि उक्लिन सकेको छैन । 

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले विहिबार सार्वजनिक गरेको सीपीआई २०१९ को सर्वेक्षण रिपोर्टले नेपाल भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकांङ्कको १ सय १३ औँ स्थानमा रहेको देखाएको हो । सन् २०१८ मा नेपाल ३१ अंक सहित १ सय २४ औ स्थानमा थियो । सन् २०१९ मा ३ अंक बढी प्राप्त गरि ३४ अंक पुगेपनि सबै भन्दा बढी भ्रष्टाचार हुने मुलुकहरुमा २० औ स्थानमा परेको छ । १ सय ८० देश मध्ये ९ अंक प्राप्त गरि सोमालिया सबै भन्दा बढी भ्रष्टाचार हुने मुलुकमा अंकित भएको छ । त्यसैगरी ८९ अंक प्राप्त गरि डेनमार्क सबै भन्दा कम भ्रष्टाचार हुने मुलुकमा कायम रहन सफल भएको छ । 

भन्सार दिवस

६८ औं भन्सार दिवसको उपलक्ष्यमा भन्सार कर तथा भिसिटिएस सम्बन्धि प्रशिक्षण कार्यक्रम गरिएको छ । 

 नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भन्सार दिवसको अवशरमा प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो । प्रशिक्षणबाट सम्पूर्ण व्यवसायीहरुलाई सहयोग पुग्ने नाडाका अध्यक्ष कृष्ण दुलालले बताए । 
भन्सार विभागका महानिर्देशक सुमन दाहालले भन्सारसँग आम नागरिकको साक्षात्कार हुन नसकेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप