सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

माननीय प्रदीप गिरीलाई सङ्गीन सवाल

शुक्रबार, ०९ भदौ २०७४, १० : १८
शुक्रबार, ०९ भदौ २०७४

नेपाली  काङ्ग्रेसका नेता, वरिष्ठ बुद्धिजीवी तथा सभासद् माननीय प्रदीप गिरी आफ्ना लिखित र मौखिक अभिव्यक्तिका कारण अहिले विशेष चर्चामा हुनुहुन्छ । उहाँले भारतका चर्चित पूर्व सांसद् मणि शङ्कर ऐरसित एक भेटमा भारतलाई प्रत्यक्ष हस्तक्षेप नगर्न भारतलाई आग्रह गरेर आधारभूत रूपमा गल्ती गरेको खुलस्त भएको छ । गिरीले उक्त कुरा विमलेन्द्र निधिको आमन्त्रणमा दोस्रो तहको स्थानीय तहको निर्वाचनका बेला काठमाडौँ आएका  मणिशङ्कर ऐरसितको भेटवार्तामा भन्न भएको कुरा  ऐरले आफ्नो काठमाडौँ डायरीमा उल्लेख गरेका छन् (७ श्रावण २०७४ शनिबार जनता टाइम्स, नेपालअनलाइन खबर पत्रिका) ।  अनि गिरी महोदयले नै यही भाद्र ५ गते प्रतिनिधि सभामा  संविधान संशोधन विषयमा उत्तेजनात्मक भाषण गर्नुभएको देखिन्छ । उक्त वक्तव्यका क्रममा  गिरी महोदयले संविधान संशोधन विषयमा आधारित भएर बोल्दा राणाकालीन र महेन्द्रीय राष्ट्रवादबाट देशको कल्याण हुँदैन भन्नु भयो । तर उहाँ जत्तिको धेरै पोथा पढेको विद्वान्लाई जङ्गबहादुर राणाले बेलायतको भ्रमणबाट फर्केर आएपछि   नेपालका दक्षिण सीमावर्ती क्षेत्रमा जङ्गेपिल्लर गाडेर सीमा सुरक्षा गरेको तथा त्यसका कारण  नेपालको कपिलवस्तु तथा सिद्धार्थ गौतम बुद्धको जन्मभूमि नेपाल सरहदभित्र परेको विषयलाई धारे हात लगाउन मिल्छ ? यो कुरा सीमा स्तम्भ गाडेको ३५ वर्षपछि कपिलवस्तु नेपालमा परेको थाहा पाएर  तत्कालीन इस्टइन्डिया कम्पनी सरकार दुःखित भएको थियो । के यी काम जङ्गबहादुरले गरेको हुँदा सराप्नलायक हुन् गिरीज्यू ? वरिष्ठ लोकतान्त्रिक पत्रकार जगत नेपालले महेन्द्र र बीपी टकराव शीर्षक कृतिमा पूर्वराजा महेन्द्रले पूर्वपश्चिम राजमार्ग निर्माण तथा  कोदारी राजमार्ग खोलेर उल्लेखनीय काम गरेको उल्लेख गरेका छन् । 

अझ उनले त बीपी कोइरालाले भन्दा पनि आँटिलो काम महेन्द्रले  गरेको बताएका छन् । महेन्द्रकै समयमा नेपालको अन्तर्राष्ट्रिय छवि विस्तारित भएको विज्ञहरूले उल्लेख गरिसकेकै छन् । द्वन्द्ववादी विश्लेषणका पण्डित गिरीका उपर्युक्त अत्यन्त अद्वन्द्ववादी वा अन्धवादी विचार सुन्दा अचम्म र उदेक नै लागेको छ । के द्वन्द्ववाद फलाको गर्ने विषय मात्र हो ? महेन्द्रीय राष्ट्रवादको रटान त सामान्य मनुवाले पनि गर्छ तर त्यही विषयमा तालको बेताल तथा बेतुकी कुरा कथुर्न  गिरी जस्ता विज्ञलाई सुहाउँछ ? आग्रह र दुराग्रहयुक्त हठमा बेरिएर  वरिष्ठ र स्वतन्त्र लेखक भइन्छ र ? अनि के यस्तै काङ्ग्रेसले बीपीवादको सुरक्षा गर्न सक्ला ? बीपी कोइरालाले जस्तो कठिनतम सङ्घर्ष गरेको गाथागान गरेर कहिल्यै नथाक्ने  नेकाका थिङट्याङ भनिनेहरूले कोइरालाबाट सिकेको यही हो ?  नेपालको पहिलो राष्ट्रपति बनाइदिने लोभलाई पैतालामुनि दबाएर  देशको अखण्डताका पक्षमा जिउँदै मर्नमिट्न तयार हुने बीपी कोइरालाबाट ससाना कुरामा देश टुक््रयाउने धम्की दिने गिरीजी साँच्चै काङ्ग्रेस हुनुहुन्छ ?  कथित संविधान संशोधन असफल हुने निश्चित देखेर गिरीको पारो तात्तिएको बुझिन्छ । 

के यो संविधान संशोधन देश, जनता र सङ्घीयताका पक्षमा छ ? तराई मधेसको पहिचान बारे टेबुल ठोकी ठोकी बहस गर्ने गिरीलाई मैथिली, भोजपुरी, अवधी, थारु आदि नेपालका राष्ट्रभाषिक पहिचानको सुरक्षा र सम्बर्धन गर्ने कुरा बेतुकको विषय हो  ? यस खालको गौरवशाली स्वपहिचानको उचाइ  र प्रभाव समाप्त पार्न खोजेर कसको पहिचानमा रमाउन मन छ गिरीजी ? अहिले संविधान संशोधनका नाममा हिन्दी भाषालाई अनुसूचीमा राखेर पछि ऐनमौकामा हिन्दीलाई तराईमधेसको साझा सम्पर्क भाषा बनाउने कुटकलुषित मनसाय अब पनि नबुझ्ने तराई मधेसमा नै कोही होला र ? गिरीजी अहिले पछिल्लो तराईमधेस बारे अनभिज्ञ हुनुहुन्छ होला । तपाईं जस्तैका मति र गतिका कारण संविधान बारेमा भ्रमित मधेस र मधेसी अहिले सचेत बन्दैछन्, जाग्दैछन् । त्यहाँ अनिता यादव, राजेश्वर महासेठ, समीम मियाँ, पारोदेवी यादव, डा. नवीन यादव, सुखाराम यादव, सुरेश सिंह हेमशङ्कर सिंह, अनिल सिंह आदि अनेक राजनीतिक जीवनका हस्ती तथा अगुवाहरू देश र मधेस हक, हित, उत्थान र एकताका सबालमा एकताबद्ध हुनु भएको छ । अझ पछिल्लो अवधिमा विभिन्न पार्टीहरूबाट एमाले प्रवेशको लहर चलेपछिका अनेक राजनीतिक प्रतिभाहरू एमाले पार्टी महासचिव ईश्वर पोखरेलको उपस्थितिमा आबद्ध हुनुभएको छ ।  

प्रसिद्ध र वरिष्ठ  मैथिली नेपालीभाषी सर्जक डा. विमल प्रसाद तथा रमेशरञ्जन झा एक्लै मधेसका सिर्जनाका जूनघाम हुनुहुन्छ । यस्ता जून घामका अगाडि अनेक फरेबी भ्रमका टिमटिमे टमटम  एकै चरणमा स्वाहा हुन्छन् । त्यसमा पनि मधेसमा अनेक सर्जक लेखकहरू निरन्तर देश, मधेस हक हित, अखण्डताका पक्षमा कलम चलाइरहेका छन् । राम दयाल मण्डल, शत्रुघन महतो, दिनेशचन्द्र यादव, बैजनाथ चौधरी, नेजमा खातुन, रामचन्द्र यादव, राजकुमार गुप्ताहरू तपाईंहरू जस्ता सेता चामल बुद्धिजीवीका संविधान, तराईमधेस र मधेसी जनता विषयमा भुइँतहदेखि छरेका अनेक भ्रमहरूका विरुद्ध गाउँ, टोल, छरछिकमेक, खमार र खलियानमा चेतना छर्दै लागि रहनुभएको थियो । 

हजार झुटलाई एउटै सत्यले तोडिदिन्छ । ढाँटको निम्तो खाइ पत्याउनु भनेझै संविधान संशोधनका नाममा किस्ताकिस्ता गरेर  यस देशलाई जात, भात, नाक, नश्लका नाममा तपाईंहरूले विखण्डन गर्न खोजेको अब स्पष्ट भइसकेको छ । स्थानीय तहका अध्यक्ष र उपाध्यक्षले राष्ट्रिय सभासद् चयन गर्ने हालको संवैधानिक प्रावधान हटाएर कुन लोकतन्त्रको संरक्षण गर्न खोजिएको हो ? जनता र जनप्रतिनिधिका संवैधानिक  हक अधिकार हनन गर्ने नेकाको कस्तो लोकतन्त्र हो ? अनि पनि आफूलाई प्रजातन्त्रवादी भन्न कुन मुखले सुहाउँछ गिरीजी ? काठमाडौँमा सुविधा भोग गरेर, सुखसयलमा चैनपूर्वक बसेर बौद्धिक विलास गर्न सजिलो छ तर भुइँ तहका पीडा नबुझ्ने बातबहादुरहरूका पछि भ्रममुक्त आम जनता तपाईंहरूका पछिपछि लाग्ने छैनन् । यस्ता सस्ता पानीका फरबी फोकाहरू फुटिरहेका छन् । यस्ता झुटहरू स्वतः सेलाउँछन् । तर सेलाए पनि हराइहाल्नु र अझ समाप्त भइहाल्नु भने हुँदैन । यो दुनियाँमा सत्यसितै असत्य र अपराध पनि सँगै हिँड्छ र हिँड्नुपर्छ । नत्र सत्य र असत्यको भेद छुट्याउन दुनियाँलाई गाह्रो पर्छ ।  

गिरीजी तपाईं त नेपालमा भारतले अत्यन्त अमानवीय नाका बन्दी लगाएको बेला रक्सौलपारि गएर दशगजाभित्र बसेर नेपाल विरुद्ध मोर्चा कस्ने प्रबुद्ध व्यक्ति हुनहुँदो रहेछ ।  अनि कसरी त्यस पवित्र काममा तपाईं छुट्नु भयो ? यसमा यस लेखकलाई अलि अचम्म लागेको छ  ।  त्यस बेला रक्सौलपारि  बस्ने नेपालीले नेपालतिर ताकेर बर्साएझैँ गिरीजीले संसद भवनमा ढुङ्गामुढा बर्साउनु भएछ । कलम र वाणीको हुर्मत नै लिनु भएछ । यस लेखकले गिरीजीलाई अमरेन्द्र कुमार सिंहकै स्तरमा झरेर बोलेको सुन्दा शिर झुक्यो र चित्त दुख्यो । 

यस खालका बोली वचनका लागि धेरै दर्शन शास्त्रका पोथा पढ्नै पर्ने थिएन । संविधान संशोधन असफल हुँदैमा नेपाल देशबाट छुट्टिन नचाहनेलाई पनि छुट्टिनेकै पङ्क्तिमा धकेल्न खोजेको अत्यन्त गम्भीर, कुरूप  र भद्दा आरोप गिरीले  लगाउनु भयो  ।  नेका युवा नेता चन्द्र भण्डारी तथा अर्का युवा नेता मनमोहन भट्टराई बीपी कोइराला र गणेशमान सिंहको विचारमा प्रतिबद्ध देखिनुहुन्छ । उहाँहरूको विवेक, विचार, इमान र राष्ट्रिय भावनाका अगाडि गिरीजीको कुनै भाउ र भेउ यस लेखकले भेटेन ।  गिरीजीले ओली लक्षित आलोचनामा केन्द्रित भएर संसद् भवनमा लिखित र मौखिक वाणी प्रवाह गर्नु भएको छ  । 

प्रदीप गिरीले नेपालबाट हामीलाई पनि छुट्याउन खोज्नेहरूलाई संविधान संशोधन करारा जवाफ हो पनि  भन्नु भएछ । गिरीजीलाई अब आउने निर्वाचनमा दुई तिहाइ ल्याएर यस देशका लागि जे गर्न मन छ गरे हुन्छ । तर ओली  पार्टी अध्यक्ष र प्रधानमन्त्री भएर गरेका सारा काम र आम गतिविधिका बारेमा अब ओली र ओली वृत्तले बोल्नै पर्दैन । गिरी जस्तो अध्ययनशील महोदयलाई ओलीको राष्ट्रिय अडानका  बारे प्रसिद्ध मानव अधिकारकर्मी कृष्ण पहाडी, प्रसिद्ध लेखकहरू सौरभ, कृष्णमुरारि भण्डारी, डा. ऋषिराज बराल, सुधीर शर्मा, चरण प्रसाईंलगायत अनेक स्वतन्त्र वरिष्ठ लेखकहरूले उल्लेख गरिसकेका छन् । 

पूर्व सभामुख तथा वरिष्ठ कानुनविद् नीलाम्बर आचार्यले यही भाद्र ५ गतेको  जनआस्था साप्ताहिकमा   अहिलेको काम चलाउ संसद्ले संविधान संशोधन जस्ता काम गर्ने नै होइन, यसले त सबै निर्वाचन गराएर सङ्घीय संरचना अनुसारको सरकार बनाउने मार्ग मात्र प्रशस्त गर्ने हो भन्नु भएको छ । तर प्रदीप गिरी कानुन्ची भन्दा धेरै बाठो भएर राष्ट्रघाती संविधान संशोधनका विषयमा अतथ्य, अतक्र्य र अवास्तविक कुरा कथुर्न हौसिनु भएको छ तर भारत सरकारले नेपालको तराई मधेसको सीमाको दशगजाभित्र दर्जनौँ  बाँध बनाएर आँखा अगाडि  मधेसको आम जनधन सर्वनाश चुर्लुम्म डुबेको देखीदेखी के कारणले डुबान भएको हो भन्न सुहाउँछ ? यस विषयमा उहाँ के भन्नु हुन्छ भने आफूमा बाँध विषयक प्राविधिक  ज्ञान नभएको हुँदा भारतले बनाएको बाँधका कारण तराईमधेस डुबान भएको  हो होइन थाहा छैन भन्नुहुन्छ । तराई मधेस र तिनका हितका लागि गोहीको आँसु चुहाउनेहरू आफ्नै आँखा अगाडि तमाम मधेसीहरू घरबारविहीन भएको, भोकभोकै परेको आँशुको भेलमा डुबेको लालबाला भेलमा डुबेर मरेको पटक्कै देख्दैनन् । मालिकको आदेशको आँखाले यस्तो कुरा देख्न र हेर्न मनाही गरेको छ । मालिकबाट प्रशिक्षित मुनवाहरूको मन आम पीडित जनताका लागि पत्थरझैँ हँदोरहेछ । यस्ता मानवहरू मालिकका खातिर आफ्नै बलि चढाउन आतुर हुन्छन् । 

संविधानको व्याख्या गर्न संविधानविद् हुनु परेन तर आफ्नै टोल र छरछिमेकका आफ्ना जातभाइहरू  आफ्ना जोर आँखाका अगाडि भरतीय बाँधका कारण महाविपद्मा पर्दा बाँध विषयक प्राविधिक ज्ञानका अभावमा गिरी महोदयलाई  बोल्नै  मिलेन, सामान्य मानवीय संवेदना व्यक्त गर्न पनि पनि भएन, सुहाएन  । हुँदाहुँदा गिरीले उल्टो तराई डुबानका विषयमा सत्यतथ्य उल्लेख गर्ने सभासद्हरूलाई भारतले भुइँचालो पठाइदियो भनेर आरोपित गर्न मिल्छ पनि भनेर कटाक्ष गर्न भ्याउनु भयो । गिरी महोदयलाई एउटा कुरा भनौँ अतिप्रशंसा पनि निन्दा हुन्छ । अहिले नेपालमा धेरै कथित भारतभक्तहरू छिचिमिराझैँ रातारात देखा पर्न थालेका छन् । तर तिनैले भारतीय शासकको अतिप्रशंसाका नाममा भारत विरोधी माहौल सिर्जना गरेका छन् । गिरी जत्तिको विज्ञलाई थाहा हुनुपर्ने कुरा हो । कुनै पनि विषय वस्त्ुमा आउने सकारात्मक वा नकारात्मक परिवर्तनको मूल तत्व आन्तरिक हुन्छ । नेपालमा भारत विरोधको मूल कारण नेपाल र नेपाली होइन बरु भारत आफैँ । नेपालका कथित भारतभक्तहरू भारत विरोधी लहरका कारक हुन् । यसको फेहरिस्त निक्कै लामो हुन्छ । भारत भनेपछि सिधासाधा जनताको भारत र अर्को ब्रिटिस उपनिवेशी चरित्रको विस्तारवादी भारत हो । 

बीपी कोइरालाको भजन गाउनेहरूलाई त्यसबेला स्वयं कोइराला आफैँले भारतीय सत्तापक्षबाट व्यहोरेको घोर अपमानबाट अवगत हुनुपर्ने हो ।  पछिल्लो कुरा गर्ने हो भने केही वर्षअघि भारतीय मोदी सरकारले नेपालमा भएको सार्क स्तरीय सम्मेलनमा नेपाललाई उपहार स्वरूप २३ करोड मूल्यको एउटा हेलिकोप्टर दिएको प्रचार गरियो तर केही समयपछि भित्रभित्रै नेपाल सरकारलाई उक्त २३ करोड दिनका लागि भारतले बारबार ताकेता गरेको समाचार प्रसारित भएको थियो । अनि भूकम्पका बेला अरबौँ रुपियाँको आर्थिक भौतिक सहयोग गर्ने बाचा गरेको  भारतले आजका दिनसम्म फुटोकौडी दिएन भारतले, अब त्यही बाचा कबोल गरेको  रकम माग्न प्रधानमन्त्री भारत भ्रमणमा जानु भएको छ । त्यति मात्र होइन नेपालमा हुलाकी सडकलगायत अनेक विकास निर्माण पूरा गर्ने  बारेमा भारतले गरेका सन्धि सम्झौतालगायतका सबालमा गरेका सारा बाचा  र बोलकबोल गरेर बसौँ अल्झाएर नेपालको विकास निर्माणमा अवरोध सिर्जना गर्ने भारत नै नेपालमा भारत विरोधी भावना भड्काउने काम गरिरहेको देखिन्छ । अझ यसमा नेपालका तथाकथित केही प्रबुद्ध लेखक भनाउँदाहरू  भरतीय सरकारको अतिभक्ति गरेर भारत विरोधी भावनालाई  भुइँतहदेखि नै भट्काइरहेका छन् । भारतले गरेको नेपाल नाकाबन्दी भारतविरोधी अत्यन्त गहिरो विस्तारित अवस्था हो । अहिले आएर थाहा हुन गयो हिजो नेपालको झण्डा फेर्नेहरू, नेपालको नाम फेर्न खोज्नेहरू, नेपाल एकीकरण र यसका प्रमुख अभियन्ता पृथ्वीनारायण शाहलाई अझै पनि सराप्नेहरू र नेपाल नेपाली हुन पाएकामा लाज, घीन र सरम मान्नेहरूको  नियतलाई प्रदीप गिरीजीले खुलस्त गरिदिनु भएको छ । 

नेपालमा ठाडो हस्तक्षेप गर्न भारतीय शासकलाई खुल्ला आग्रह गर्ने प्रदीप गिरीलाई सामान्य नागरिकता, प्रदेश सीमा परिमार्जन जस्ता ससाना विषयका बारेमा केको चिन्ता ? जसलाई नेपाल र नेपाली हुनुमा नै कत्ति पनि गर्व छैन भने केको सीमा र खेमा ? नेपाल जस्तो अत्यन्त गौरवशाली देशको नागरिक हुनुमा गर्व नगर्ने पठित, विज्ञ र विद्वान्भन्दा नङ जत्रो नेपालको जमिन खनीखोस्री गर्नु महान् देशभक्ति हो भन्नु भएको छ बालकृष्ण समले । प्रसिद्ध लेखक सौरभले आफ्नो पुस्तकाकार कृति असङ्गतिमा अरूप्रति गौरवान्वित हुने हो भने त्यो आफ्नो सन्तान कसरी भयो भन्नुभएको छ । अनि आफ्नै देशको गौरवशाली इतिहासको जानकारी नभएकाहरू समाज र कालखण्डका मुर्कट्टा हुन् भन्नु भएको छ सौरभले । उहाँले यसै प्रसङ्गमा विगतको ज्ञान नभएको साइबर कीरा बडो खतरनाक हुन्छ भन्नु भएको छ । तर झन् खतरनाक कुरा चाहिँ जानेर बुझेर पनि बुझ पचाउनेहरू कुनै पनि स्वाधीन, स्वतन्त्र, अविभाज्य र सार्वभौम मुलुकका सुपुत्र हनसक्छन्  ? यही सङ्गीन सवाल माननीय प्रदीप गिरीजीसित छ ।   


   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. बद्रीविशाल पोखरेल
डा. बद्रीविशाल पोखरेल
लेखकबाट थप