शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

काष्ठमाण्डप पुर्ननिर्माणका लागि महानगरको थप पाँच करोड सहयोग

बिहीबार, ०९ माघ २०७६, १८ : ०७
बिहीबार, ०९ माघ २०७६

काठमाडौँ । काष्ठमाण्डप पुर्ननिर्माणका लागि काठमाडौँ महानगरपालिकाले थप रु पाँच करोड अनुदान दिएको छ । यस अघि नै दुई चरणमा रु पाँच करोड पचास लाख अनुदान दिएको महानगरपालिकाले यो पटक थप पाँच करोड दिएको हो ।  

प्रदेश नम्बर तीनका सांसद राजेश शाक्यको नेतृत्वको काष्ठमाण्डप पुर्ननिर्माण समितिलाई काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आज रु पाँच करोडको चेक हस्तान्तरण गर्दै अस्त–व्यस्त, ध्वस्त र जीर्ण बनेका सम्पदा पुर्ननिर्माण अभियानमा महानगरपालिका जुटेको बताए । उनले काष्ठमाण्डप पुर्ननिर्माणका लागि आर्थिक अभाव नहुने गरी महानगरपालिका सहयोग गर्न तयार रहेको पनि बताए ।  

२०७५ साल वैशाख १ गते काष्ठमाण्डप पुर्ननिर्माण कमिटी गठन गरेर पुर्ननिर्माणको कामलाई अघि बढाएको सो समितिलाई महानगरपालिकाले सुरुमा पचास लाख दिएको थियो । सो पचास लाखले कार्यालय व्यवस्थापन गर्नेलगायतबाट काम सुरु गरेको समितिलाई महानगरपालिकाले दोस्रो चरणमा रु पाँच करोड अनुदान दिएको थियो ।

मेयर शाक्यले काठमाडौँ महाहानगरपालिका मूर्त–अमूर्त सम्पदा निर्माण–पुर्ननिर्माणको अभियानमा जुटेको भन्दै आफ्नो कार्यकाल भित्रै महानगर भित्रका सबै सम्पदा निर्माण–पुर्ननिर्माणको कामलाई सम्पन्न गरेरै छाड्ने प्रतिवद्धता पनि व्यक्त गरे । 

कार्यक्रमलाई सम्वोधन गर्दै पुर्ननिर्माण समितिका अध्यक्ष राजेश शाक्यले ५५ प्रतिशत काम सम्पन्न भएको भन्दै तोकिएको तीन वर्षको अवधीमा काम सम्पन्न गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरे । 

 कार्यक्रममा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले सबै मिलेर अघि बढ्ने हो भने विकास सम्भव भएको बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप