संगीतकार पनि थिइन् तारादेवी
काठमाडौँ । नेपाली गायन क्षेत्रमा ४ दशकसम्म सक्रिय तारादेवी एक प्रसिद्ध गायिका थिइन् । उनले आफ्नो जीवनकालमा ४ हजारभन्दा बढी नेपाली गीत गाएकी छन् । विसं २००२ माघ २ गते काठमाडौँको इन्द्रचोकमा जन्मिएकी उनको बाल्यकालको नाम भने डोलकुमारी कार्की थियो । उनले रेडियो नेपालमा जागिरसमेत गरिन् ।
२०२२ सालमा शिवबहादुर श्रेष्ठसँग प्रेम विवाह गरेकी उनका एउटी छोरी चारु र दुईवटा छोरा शशि र रवि जन्मिए । छोरा शशिको २०५१ साल वैशाखमा क्यान्सर रोगका कारण मृत्यु भयो । उनका पति शिवबहादुरको पनि २०५५ सालमा हवाई दुर्घटनामा निधन भयो । छोरा र पतिको निधन उनको जीवनको अत्यन्तै मर्माहत क्षण बन्न पुग्यो । उनले विसं. २०५६ फागुन १३ गते एउटा सांस्कृतिक मञ्चमा उभिएर अन्तिम पटक गीत गाएकी थिइन् । २०६२ साल माघ १२ गते उनी यो संसारबाट सदाका लागि बिदा भइन् ।
तारादेवीले थुप्रै पुरस्कार र सम्मानसमेत प्राप्त गरेकी थिइन् । तीमध्ये जगदम्बाश्री पुरस्कार, इन्द्रराज्यलक्ष्मी प्रज्ञा पुरस्कार, छिन्नलता पुरस्कार, मैना पुरस्कार र नई सुर सम्मान, सुप्रसिद्ध प्रबल गोरखा दक्षिणबाहु प्रथम, महेन्द्ररत्न आभूषण, गद्दी आरोहण रजतपदक, वीरेन्द्र ऐश्वर्या सेवापदक प्रमुख हुन् ।
यीबाहेक स्वदेश तथा विदेशबाट अन्य थुप्रै पदक, पुरस्कार, सम्मानसमेत उनले पाएकी थिइन् । तारादेवीका अधिकांश गीत चर्चित छन् । तीमध्ये ‘शुभकामना भरी’, ‘उकाली ओरालीहरूमा’, ‘आऊ नआऊ तिम्रै खुसी’, ‘हिमालको काखमा छ सानो मेरो गाउँ’, ‘साँघुरी बारी नि हो त्यो धारा पानी’, ‘कालीपारि दाइ कति राम्रो’, ‘सोचेजस्तो हुन्न जीवन’, ‘फूलको थुँगा बगेर गयो’, ‘बिदा हुने भैगयो बेला’ अहिले पनि सबैको मनमस्तिष्कमा बस्न सफल छन् ।
स्वर किन्नरी उपनामबाट समेत परिचित तारदेवीको आज (बिहीबार) १४औँ पुण्यस्मृति दिवस हो । सोही अवसर पारेर तारादेवी स्मृति फाउन्डेसनले राजधानीमा एक कार्यक्रमसमेत गर्दैछ । तारादेवीले साङ्गीतिक यात्रामा थोरै सङ्गीतकारको धेरै गीत गायकी छन् । तीमध्येका एक हुन् सङ्गीतकार शुभबहादुर सुनाम । सुनामको नेपाली सङ्गीतमा ठूलो योगदान छ । सुनामले आफ्नो सङ्गीतको पहिलो गीत तारादेवीका कारणले तारादेवीकै स्वरमा रेडियो नेपालमा रेकर्ड गराउने अवसरसमेत पाएका थिए । सङ्गीतकार सुनामले तारादेवीको १४औँ स्मृतिदिवस उनको सम्झना यसरी गरे ।
सङ्गीतकार शुभबहादुर सुनाम
तारादेवीलाई रेडियो नेपालमा भेटेँ
मिति अहिले ठ्याक्कै याद भएन । भर्खरभर्खर म भारतबाट सङ्गीत सिकेर नेपाल आएको थिएँ । सो समय गीत रेकर्डिङका लागि रेडियो नेपालबाहेक अन्य विकल्प थिएन । म पनि आफ्नो सङ्गीतमा गीत रेकर्ड गराउने अवसरको खोजीमा रेडियो नेपाल गएको थिएँ । तारादेवीसँग मेरो पहिलो भेट रेडियो नेपालमै भएको थियो । उहाँ त्यतिबेलाकी राम्रो गायिका हुनुहुन्थ्यो । त्यतिबेला नातिकाजी श्रेष्ठ, प्रेमध्वज प्रधान लगायत जति पनि अग्रज गायक गायिका, सङ्गीतकार थिए, उहाँको सङ्गत त्यस्ता व्यक्तिहरुसँग थियो ।
पहिलो गीतको गायिका तारदेवी
म त्यतिबेला गीतसङ्गीतका लागि नयाँ थिएँ । उहाँसँग जब चिनजान भयो, म नयाँ भए पनि उहाँले राम्रो दृष्टिले हेर्नुभयो । मेरो सङ्गीतमा रेकर्ड भएको पहिलो गीत ‘फुलैफुलको मौसम..’ उहाँले गाउनुभयो । त्यो समय नयाँलाई कसैले पत्याउने थिएनन् । तर मलाई उहाँले पत्याउनु भयो । अगाडि आउन सहयोग गर्नुभयो । उहाँकै सहयोगबाट सुरु भएको मेरो साङ्गीतिक यात्रो अहिले पनि जारी छ ।
तारादेवीसँग आधुनिक, राष्ट्रियदेखि भजनसम्म गरेर १५, १६ वटा गीतमा काम गरेको छु । उहाँले नातिकाजीको सङ्गीतमा धेरै गीत गाउनुभएको छ । त्यसपछि धेरै गीत मेरो सङ्गीतमा गाउनु भएको होलाजस्तो लाग्छ । मैले उहाँसँग एउटा राष्ट्रिय गीतमा समेत स्वर भरेको छु ।
नयाँको विश्वास
म सङ्गीतमा लाग्दाको समय नयाँ भन्ने बित्तिकै हेला गर्ने, कसैले वास्ता नगर्ने चलन थियो । तर उहाँको स्वभाव यसको विपरीत पाएँ । उहाँ सधैँ नयाँलाई प्रथामिकता दिनुहुन्थ्यो । विश्वास गर्नुहुन्थ्यो । नयाँ व्यक्तिसँग प्रतिभा हुन्छ, उसलाई माया गरेर अगाडि ल्याउनुपर्छ भनेर भन्नुहुन्थ्यो । पुराना र नयाँ सङ्गीतकारको गीतमा उहाँको प्राथमिकतामा नयाँ सङ्गीतकार नै पर्थे । मेरो सङ्गीतमा उहाँले गाउनु भएको ‘फूलैफूलको मौसम’ पछि अर्काे गीत पनि हिट छ । त्यो हो ‘निर्दाेष पछ्यौरी मेरो’ ।
उहाँजस्तो गायिका भेटेको छैन
त्यतिबेला धेरै गायिका थिएनन् । उहाँ मात्र एक राम्रो गायिका हुनुहुन्थ्यो । गीतका शब्दमा भिजेर प्रष्टसँग गाउने क्षमता उहाँमा थियो । त्यो समयदेखि अहिलेसम्म मैले उहाँको बराबरीमा कोही गायिका भेटेको र देखेको पनि छैन ।
सबैभन्दा बढी लोक र आधुनिक गीतमा उहाँको स्वर सुहाउँथ्यो । उहाँले सङ्गीतको शास्त्रीय विधाहरु पनि सिक्नु भएको थियो । उहाँले लोकगायक कुमार बस्नेतसँग ‘कर्कलो गाभा कठै मेरो बाबा’ भन्ने गीत गाउनु भएको छ । गायनमा राम्रो र भ्याइनभ्याइ हुँदाहुँदै पनि उहाँ सङ्गीत पनि सिक्ने गर्नुहुन्थ्यो । सङ्गीतमा पनि केही नयाँ गर्न सकिन्छ कि भनेर दिनरात मिहिनेत गर्नुहुन्थ्यो ।
घमन्ड थिएन
नयाँ पुराना सबै व्यक्तिसँग सिक्न भनेपछि अघि सर्नुहुन्थ्यो । गायनमा लाग्नेलाई सङ्गीतको पनि राम्रो ज्ञान हुनुपर्छ भन्ने सोच उहाँमा थियो । त्यसैले पनि उहाँले सङ्गीत सिकाइदेउ भनेर घरमा बोलाउनु हुन्थ्यो । मैले उहाँको घरमा गएर पनि केही समय सङ्गीत सिकाएँ ।
सिक्न मात्र होइन, नयाँलाई आफूले जानेका कुरा सिकाउन उहाँ सधैँ तम्तयार हुनुहुन्थ्यो । सुरुको समय मेरो सङ्गीत र शब्दमा तालमेल मिल्दैन थियो । उहाँले नै मलाई बाटो देखाउनुहुन्थ्यो । यो यसरी गर्दा राम्रो हुन्छ भनेर मिलाई दिनुहुन्थ्यो । यो यहाँनेरि यसरी मिलायो भने राम्रो सुनिन्छ भनेर सुझाउनु हुन्थ्यो । आफू चलेको गायिका भए पनि उहाँसँग घमण्ड भन्ने पटक्कै थिएन ।
उहाँ सङ्गीतकार पनि
उहाँले गीत लेखेको थाहा भएन । तर सङ्गीत पनि राम्रो गर्नुहुन्थ्यो । उहाँले आफ्नो एउटा एल्बममा आफैले सङ्गीत गर्नुभएको छ । जुन सङ्गीत दर्शक, श्रोताले मात्र होइन अग्रज सङ्गीतकारले पनि मन पराएका थिए ।
उहाँले उत्ताउला खालका शब्द भएको गीत कहिल्यै गाउनुभएन । यस्ता शब्द उहाँलाई मन पर्दैन थियो । शब्द चयनमा पनि उहाँको विशेष दख्खल थियो । उहाँले ‘ओके’ गरेका गीतका शब्द सबैले मन पराउने खालका हुन्थे । गीत गाउँदा सङ्गीतकारले भन्दा पनि शब्द अझ शुद्ध र मिठासपूर्वक उच्चारण गर्न सक्नुहुन्थ्यो ।
अहिले तारादेवी हामी माझ हुनुहुन्न । उहाँको अभाव जहिल्यै पनि खड्किरहन्छ । उहाँले दिएको योगदान जस्तो सायदै अरू कसैले गर्न सक्छन् । त्यसैले उहाँ भएको भए अहिले झन् राम्राराम्रा गीत बनाउँथे होला भन्ने मलाई लाग्छ । गीतसङ्गीतको उचाइ अझै राम्रो हुन्थ्यो कि जस्तो लाग्छ ।
आज उहाँको सम्झना गर्ने एक कार्यक्रम पनि राखिएको छ । त्यो कार्यक्रममा मेरो तीनवटा गीतको प्रस्तुति छ । गीतमार्फत उहाँको सम्झना समेत गर्नेछु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण
-
बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन
-
आन्तरिक राजस्वमा ४० प्रतिशत वृद्धि, सशर्त, समपूरक र विशेष अनुदानमा २२.१ प्रतिशतले कमी
-
भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
यी दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना