मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा निर्वाचनः कहाँ कति मत खस्यो ?

बिहीबार, ०९ माघ २०७६, १४ : ५४
बिहीबार, ०९ माघ २०७६

कास्की । राष्ट्रियसभा सदस्य निर्वाचन २०७६ अन्तर्गत गण्डकी प्रदेशमा मतदान जारी रहेको छ । आज बिहान १०ः०० बजेदेखि साँझ ४ः०० बजेसम्म जिल्ला निर्वाचन कार्यालय कास्कीको परिसरमा मतदाता मतदान गरिरहेका छन् । मतदानका लागि गण्डकी प्रदेशअन्तर्गतका ११ वटै जिल्लाबाट अधिकांश मतदाता बुधबार नै आइसकेका थिए । 

राजनीतिक दललेसमेत आफू निकट मतदातालाई अनिवार्यरुपमा निर्वाचनमा सहभागी बन्न निर्देशन दिइसकेका छन् । गण्डकीमा ‘अन्य समूह’ र ‘महिला समूह’तर्फ गरी दुई पदका लागि हुने निर्वाचनमा प्रदेशसभा सदस्य ६० र ८५ स्थानीय तहका प्रमुख÷उपप्रमुख १७० गरी २३० मतदाताले भाग लिनेछन् । निर्वाचनका लागि दुई मतदान केन्द्र तोकिएका जिल्ला निर्वाचन कार्यालयका प्रमुख महेन्द्र सुवेदीले जानकारी दिए ।

प्रदेशसभा सदस्यको एक मत बराबर ४८ मतभार रहेको छ भने स्थानीय तहका प्रमुख÷उपप्रमुखको एक मत बराबर १८ मतभार रहेको छ । प्रदेशसभाको दुई हजार ८८० र स्थानीय तहको तीन हजार ६० गरी कूल ५९४० मतभार गण्डकीमा छ ।  

निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँगे्रसले ‘अन्य समूह’ र ‘महिला समूह’दुवै पदमा उम्मेदवारी दिएका छन् भने राष्ट्रिय जनमोर्चाले ‘अन्य समूह’ तर्फमात्र उम्मेदवारी दिएको छ । नेकपाबाट पार्टीका केन्द्रीय सचिवलाय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘अन्य समूह’बाट र महिलातर्फ भगवती न्यौपाने उम्मेदवार हुनुहुन्छ । काँग्रेसले सूर्यप्रसाद रेग्मी र विमला गौचनलाई उम्मेदवार बनाएको छ । जनमोर्चाबाट ‘अन्य समूहमा’ शङ्कर बराल उम्मेदवार रहेका छन् ।

जनकपुरधाम  ः प्रदेश नं २ मा निर्धारित समयदेखि मतदान शुरु भएको छ । महेन्द्रनारायण संस्कृति केन्द्र जनकपुरको परिसरस्थित मतदान केन्द्रमा मुख्यमन्त्री लालबाबु राउतले मतदान गरे । मतदान गर्न प्रदेशका मन्त्री, प्रदेशसभा सदस्य र स्थानीय तहका नगरपालिकाका प्रमुख उपप्रमुखका साथै गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष उपस्थित रहेका छन् । मतदानका लागि दुई वटा मतदान केन्द्र निर्धारण गरिएको छ । 

उक्त प्रदेशमा प्रदेशसभा सदस्यको मतभार पाँच हजार १३६ र स्थानीय तहका मतदाता २७२ को मतभार चार हजार ८९६ हुन्छ । यस प्रदेशमा कूल मतभार १० हजार ३२ हुन्छ । चार राष्ट्रियसभा सदस्यका लागि हुन गइरहेको सो निर्वाचनमा आठ जना चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । 

घोराही : राष्ट्रियसभाको निर्वाचनअन्तर्गत प्रदेश ५ को मतदान अहिले दाङमा चलिरहेको छ । राष्ट्रियसभा सदस्यलाई मतदान गर्नका लागि अहिले प्रदेशका १२ जिल्लाका प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्ष मतदान प्रक्रियामा भाग लिइरहेका छन् । 

दाङ देउखुरी जिल्ला अदालतका प्रमुख एवं मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार मतदानका लागि दुई वटा मतदान केन्द्र तोकिएको छ । थापाका अनुसार ‘क’ मतदान केन्द्रमा प्रदेशसभा सदस्य र ‘ख’ मतदान केन्द्रमा स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गरिरहेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेसबाट तीन÷तीन जनाले प्रतिस्पर्धा गर्नेछन् भने समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबाट एक जनाले प्रतिस्पर्धा गर्नेछन् । 

प्रदेश नं ५ मा नेकपाले अपाङ्गबाट जगप्रसाद शर्मा,  महिला सदस्य विमला घिमिरे र अन्यबाट गोपाल भट्टराई चुनावी मैदानमा उतारेको छ ।  काँग्रेसले महिला सदस्यमा गिरीजादेवी न्यौपाने, अल्पसङ्ख्यक सदस्यमा मेहराज अहमद हलुवाई र अन्यबाट बालकृष्ण पाण्डेलाई उम्मेदवार बनाएको छ । समाजवादी पार्टीबाट अल्पसङ्ख्यक सदस्यमा सुनिल सिंघल र अन्यबाट कृष्णप्रसाद यादव रहेका छन् । यस्तै राष्ट्रिय जनमोर्चाबाट शिवप्रसाद पौडेल उम्मेदवार रहेका छन् । उनका अनुसार निर्वाचनमा प्रदेशसभाका ८७ सदस्यको ४१७६ मतभार रहेको छ भने स्थानीय तहका प्रमुख र उपप्रमुख २१८ को ३९२४ रहेको छ । 

डोटी: राष्ट्रियसभा सदस्यको निर्वाचनअन्तर्गतको मतदान कार्यक्रम बिहान १०ः०० बजेदेखि यहाँ शुरु भएको छ । मतदान कार्यक्रममा सुदूरपश्चिमका प्रदेशसभा सदस्य ५३ र स्थानीय तहका प्रमुख÷उपप्रमुख तथा अध्यक्ष÷उपाध्यक्ष १७६ गरी कूल २२९ मतदानमा सहभागी रहेका मुख्य निर्वाचन अधिकृत विदुर काफ्लेले जानकारी दिए ।

राष्ट्रियसभामा सुदूरपश्चिम प्रदेशबाट रिक्त रहेको दुई पदमध्ये एक महिला तथा एक पुरुषको उम्मेदवारी रहेको मुख्य निर्वाचन आयोगको कार्यालयले जनाएको छ । दुई मतदान केन्द्र रहेको निर्वाचनमा सोही स्थानमा ‘क’ र ‘ख’ मतदान केन्द्र निर्धारण गरिएको जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए ।

सत्तारुढदल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट अछामका तारामान स्वाँर, कैलालीकी शारदा भट्ट र नेपाली काँग्रेसबाट कैलालीकै तुलसी देवकोटा तथा बैतडीका प्रताव ठगुन्नाले उम्मेदवारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृत काफ्लेले जानकारी दिए ।

विराटनगर: राष्ट्रियसभाको तीन पदका लागि आज शुरु भएको निर्वाचनमा प्रदेश नं १ मा अहिलेसम्ममा कूल ३४९ मत खसिसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । स्थानीय तहबाट १३० महिलासहित २६५ र प्रदेशसभाका सदस्यतर्फ २९ महिलासहित ८४ ले मतदान गरिसकेका जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी तीर्थ अधिकारीले जानकारी दिए ।
    
मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, सभामुख प्रदीप भण्डारी, उपसभामुख सरस्वती पोखरेल, प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका संसदीय दलका नेता राजीव कोइरालाले मतदान गरिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप