शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लेस्टर र टोट्टनहामले जित्दा, युनाइटेडको लज्जास्पद हार

बिहीबार, ०९ माघ २०७६, ०९ : ०४
बिहीबार, ०९ माघ २०७६

इङ्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले र टोट्टनहामले जित्दा म्यानचेस्टर युनाइटेडलाई बर्नलीको नमिठो धक्का लागेको छ । बुधबार राति भएको खेलमा लेस्टर सिटीले वेस्टहाम युनाइटेडलाई ४–१ गोलले हरायो । टोट्टनहामले नर्विच सिटीमाथि २–१ गोलको कठिन जित निकाल्यो । म्यानचेस्टर युनाइटेड घरमै बर्नलीसँग २–० गोलले पराजित भयो ।

घरेलु मैदानमा लेस्टरलाई जिताउन एवेज पेरेजले दुई तथा हार्वे बर्नेस र रिकार्डो पेरइराले एक एक गोल गरे । वेस्टहामका मार्क नोबलले एक गोल फर्काए । बर्नेसले २४औँ मिनेटमा खाता खोले । रिकार्डोले ४५औँ मिनेटमा गोल गर्दै लेस्टरको अग्रता दोब्बर बनाए । पेरेजले ८१औँ र ८८औँ मिनेटमा दुई गोल गरेका थिए । वेस्टहामका लागि मार्कले ५०औँ मिनेटमा सान्त्वना गोल फर्काएका थिए । जितसँगै २४ खेलबाट ४८ अंक बनाएको लेस्टर तेस्रो स्थानमा छ । २३ अंक बनाएको वेस्टहाम १७ औँ स्थानमा छ । वेस्हहामले रेलिगेसन मात्र छलेको छ ।

अर्को खेलमा टोट्टनहामलाई जिताउन डेल अलीले ३८औँ र सन ह्युङ मिनले ७९औँ मिनेटमा गोल गरे । यसअघि नर्विचका टिमु पुक्कीले ७०औं मिनेटमा पेनाल्टीमार्फत बराबरी गोल फर्काएका थिए । जितसँगै ३४ अंक बनाएको टोट्टनहाम छैटौँ स्थानमा छ । १७ अंक बनाएको नर्विच तालिकाको अन्तिममा छ ।

अर्को खेलमा युनाइटेडलाई घरमै हार चखाउन बर्नलीका क्रिस उडले ३९औँ र जय रोड्रिग्वीजले ५६औँ मिनेटमा गोल गरेका थिए । घरेलु मैदानमा बर्नलीको दवाव झेलेको युनाइटेडले एक गोलपनि फर्काउन सकेन । लगातार हारले युनाइटेडका प्रशिक्षक ओले गुनर सोल्सायरमाथि दबाब बढेको छ । हारसँगै २४ खेलबाट ३४ अंक बनाएको युनाइटेड पाँचौ स्थानमा छ । ३० अंक बनाएको बर्नली १३औँ स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप