शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

जलीसको गिरफ्तारीपछि नेपालतर्फ निगरानी बढाउँदै भारतीय सुरक्षाकर्मी

खुर्शिदपछि शमसुल होदाको नेतृत्व : भारतीय मिडिया
बुधबार, ०८ माघ २०७६, १५ : २६
बुधबार, ०८ माघ २०७६

काठमाडौँ । आतङ्कवादी गतिविधिमा संलग्न भएको आरोपमा भारतको कानपुरमा गिरफ्तार गरिएका डा. जलीस अन्सारीको बयानका आधारमा भारतीय प्रहरीले नेपालतर्फ निगरानी बढाउन थालेको छ ।

गिरफ्तार गरिएका जलीसको सम्बन्ध नेपालमा रहेको र उनी नेपालमा पाकिस्तानी गुप्तचर संगठन ‘आईएसआई’लाई मजबुत बनाउने भूमिकामा सक्रिय रहेको भारतीय प्रहरीको निष्कर्ष छ ।

शृङ्खलाबद्ध विस्फोटमा दोषी ठहर भई अजमेर जेलमा आजीवन कारावासको सजाय भोग्दै आएका उनी जेलबाट दैनिक हाजिरीको शर्तमा केही दिनका लागि रिहा भएका थिए । कैदीले पाउने ‘पेरोल’ सुविधा प्रयोग गर्दै रिहा भएका उनी रिहाइको शर्त उल्लंघन गर्दै फरार भएपछि भारतीय प्रहरीले खोजी सुरु गरेको थियो ।

उत्तर प्रदेश प्रहरीले उनलाई कानपुरबाट नियन्त्रणमा लिएको बताइन्छ । भारतीय संचारमाध्यमअनुसार जलीसले उत्तर प्रदेशमै ठूलो आतङ्कवादी घटनाको लक्ष्य बनाएको भारतीय प्रहरीको अनुमान छ । उनी नेपाल जाने र नेपालमै स्थायी बसोबास गर्ने योजनामा रहेको तथ्यहरु खुलासा भएको पनि भारतीय संचारमाध्यमले जनाएका छन् ।

यद्यपि जलीस कानपुरसम्म आउँदा क–कसलाई भेटे, उनी कुन उद्देश्यका लागि कानपुर पुगे र उनको सम्पर्कमा को–को थिए भन्नेबारे प्रहरीले पत्ता लगाउन नसकेको जनाइएको छ । हाल उनीसँग सोधपुछ भइरहे पनि महत्त्वपूर्ण उपलब्धि हासिल हुन नसकेको बताइन्छ ।


जलीसको गिरफ्तारी र नेपालको चर्चा

नेपालका पूर्व सांसद मिर्जा दिलसाद बेगको हत्यापछि भारतले नेपालमा ‘आईएसआई’को सक्रियताबारे खुलेरै टिप्पणी गर्न थालेको हो । भारतीय अधिकारीहरु मिर्जा दिलसाद बेगलाई ‘आईएसआई’को एजेन्टका रुपमा व्याख्या गर्दै आएका छन् । उनको हत्यामा ‘अन्डरवल्र्ड’ कै एक समूह सक्रिय रहेको भारतीय अधिकारीहरुको भनाइ छ ।

जलीस भारतबाट भागेर नेपालतर्फ जान लागेको भारतीय अधिकारीहरुको भनाइ छ । उनी जेलमै रहँदा आईएसआईसँग सम्पर्कमा रहेको र भारतमा उनको ठूलो नेटवर्क अझै पनि रहेको भन्दै अधिकारीहरु उनी भाग्न खोज्नुको उद्देश्य र उनले बनाएको योजना खोतल्ने क्रममा नेपालतिर पनि चनाखो हुन थालेका हुन् ।

गिरफ्तार गरिएका जलीस बम बनाउन माहिर छन् । उनले कयौंलाई बम बनाउन तालिम दिएको बताइन्छ । उनी पाकिस्तानमा गएरसमेत आतंकवादी गतिविधिसम्बन्धी तालिम लिएको, विभिन्न मुलुकमा पुगेर आफ्नो नेटवर्क विस्तार गरेको भन्दै भारतीय अधिकारीहरु उनका सम्भावित सम्पर्क स्रोत, उनको सम्पर्कमा रहेका व्यक्तिहरुको बारेमा सुक्ष्म अनुसन्धान गरिरहेका छन् । प्रहरी नियन्त्रणमै रहेका उनले खुलेर बयान नदिएको बताइन्छ ।

खुर्सिद आलम पनि त्यसैगरी मारिए

दुई दशकअघि काठमाडौँमा पूर्व सांसद मिर्जा दिलसाद बेगको गोली हानी हत्या भएको थियो । उनको हत्या कसले र किन ग-यो भन्नेबारे नेपाली जनता लामो समयसम्म बेखबर रहे पनि उनको हत्याको विषयले भारतमा ठूलो प्राथमिकता पायो । किनकि भारतीय अधिकारीहरु उनलाई ‘आईएसआई’ को एजेन्टका रुपमा हेर्दै आएका थिए ।

गत वर्ष सुनसरीको हरिनगर क्षेत्रमा खुर्शिद आलमको हत्या भयो । उनको हत्या पनि मिर्जा दिलसाद बेगकै शैलीमा भएको थियो । भारतीय नम्बर प्लेटको मोटरसाइलकमा आएका दुई जनाले गोली हानी उनको हत्या गरे । हत्यामा संलग्न दुवै व्यक्ति को थिए भन्नेबारे अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।

भारतीय अधिकारीहरु खुर्शिद आलमलाई पनि ‘आईएसआई’ को एजेन्टकै रुपमा व्याख्या गर्दैछन् । आलमलाई ‘मुम्बई विस्फोट’ सँगसमेत जोडेर भारतीय अधिकारीहरुले लिने गरेका छन् ।

भारतीय सुरक्षा निकायका अधिकारीलाई उद्धृत गर्दै भारतकै सञ्चारमाध्यमले जनाएअनुसार मिर्जा दिलसाद बेगपछि खुर्शिद आलम नै नेपालमा आईएसआईका ठूला एजेन्टका रुपमा थिए ।

खुर्शिदपछि शमसुल होदाको नेतृत्व

खुर्शिद आलमको हत्यापछि नेपालमा शमसुल होदाको नेतृत्वमा आईएसआईका गतिविधि सञ्चालन भइरहेको भारतीय अधिकारीहरु बताउँछन् । शमसुल सन् २०१६ मा बिहारस्थित पुखराया रेल दुर्घटनामा संलग्न रहेको बताइन्छ । भारतीय अधिकारीहरुले रेल दुर्घटना नभएर नियोजित रुपमा घटना गराइएको भन्दै छानविन अघि बढाएका थिए ।

शमसुल र जलीसबीचसमेत निकट सम्बन्ध रहेको अधिकारीहरुको भनाइ छ । शमसुललाई जलीसले नै बम बनाउने तालिम दिएको बताइन्छ । उक्त घटनामा समेत नेपाली नागरिकको संलग्नता रहेको भारतीय अधिकारीहरु बताउँछन् । विभिन्न कालखण्डमा भएका यस्ता कयौं घटनाहरुलाई जोडेर भारतीय अधिकारीहरु पछिल्लो समय नेपालमा आईएसआई एजेन्टका रुपमा रहेका संदिग्धहरुको पहिचान र खोजीमा जुटेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

जलीसका दुई साथीको खोजी

भारतको स्पेशल टास्क फोर्स (एसटिएफ) का अधिकारीहरु जलीसका दुई साथीको बारेमा पत्ता लगाउने कोसिस गरिरहेका छन् । अब्दुल रहमान र अब्दुल कयुम नाम गरेका दुई जना अहिले कहाँ र कुन अवस्थामा छन् भन्ने प्रष्ट हुन सकेको छैन ।

उनीहरुसँग जलीसको लामो समय गहिरो सम्बन्ध रहेको सूचना प्राप्त भए पनि उनीहरु अहिले कहाँ छन् र कस्तो भूमिकामा छन् भन्नेबारे पत्ता लाग्न नसकेको जनाइएको छ । भारतीय अधिकारीहरु ती दुवैजना नेपाल या अन्य मुलुकमा रहेको हुन सक्ने आशंका गर्दैछन् ।

स्रोत : https://www.livehindustan.com/uttar-pradesh/story-terrorist-doctor-jalees-ansari-used-to-make-bombs-in-a-clinic-in-mumbai-2969954.html

https://www.abplive.com/news/india/1993-mumbai-bomb-blast-accused-jalees-ansari-arrested-by-up-stf-in-kanpur-1282753

https://www.jagran.com/uttar-pradesh/kanpur-city-terrorist-zalis-ansari-was-want-live-in-nepal-for-isi-activities-19959602.html

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप