शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गाउँपालिका कार्यालयमा आगजनी र बम फेला

बुधबार, ०८ माघ २०७६, १४ : ५५
बुधबार, ०८ माघ २०७६

बैतडी । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बैतडी जिल्ला अध्यक्ष सुरेन्द्र पालको घरको मूलद्वारमा राखिएको प्रेसरकुकर बम नेपाली सेनाले निष्क्रिय पारेको छ । डिलाशैनी गाउँपालिका–३ पंसेरामा रहेको अध्यक्ष पालको घरको  मूलद्वारमा भेटिएको उक्त बम बैतडीस्थित नेपाली सेनाको हनुमानध्वज गुल्मको टोलीले निष्क्रिय पारेको प्रहरीले जनाएको छ ।  

आज बिहान ३ बजे भेटिएको बम सेनाको टोलीले मध्याह्न पौने १२ बजे निष्क्रिय पारेको हो । यस्तै डिलौशैनी गाउँपालिकाको म १ च ४८८ नम्बरको स्कारपियोमा पनि आगजनी गरिएको छ । नेकपाका अध्यक्ष पालको उक्त स्कारपियो गाउँपालिकाले भाडामा लिएको थियो । पालकै से १ च ४५९ नम्बरको जेसिबीमा पनि  आगजनी गरिएको छ ।  

डिलाशैनी गाउँपालिकाको सम्पर्क कार्यालय पंसेरामा पनि आगजनी गरिएको छ । गाउँपालिका–३ पंसेरामा रहेको सम्पर्क कार्यालयको प्रशासन कक्षमा आगजनी गरिएको हो । प्रशासन कक्षको ताल्चा फुटालेर गरेको आगजनीबाट कम्प्युटर, दराज र अन्य महत्वपूर्ण कागजपत्र जलेर नष्ट भएको गाउँपालिका अध्यक्ष उकेन्द्र बोहराले जानकारी दिए ।

आगजनी र बम कसले र किन राखिएको भन्नेबारे केही खुल्न नसकेको प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए । डिलाशैनी गाउँपालिका केन्द्रको विषयमा लामो समयदेखि विवाद हुँदै आएको थियो ।  

राज्य पुनःस्थापना हुँदा डिलाशैनी गाउँपालिका–७ मा केन्द्र तोकिएको भए पनि हाल सम्पूर्ण कामकाज वडा नं ३ बाट हुँदै आएको छ । नेकपा अध्यक्ष पालकै घर रहेको पंसेरामा केन्द्र सार्ने चलखेल भएको स्थानीयको आरोप रहेको छ । डिलाशैनीमा नेकपाकै अध्यक्षका साथै गाउँ कार्यपालिकामा पनि नेकपाकै बहुमत रहेको छ ।   घटनाको थप अनुसन्धान भइरहेको बैतडी प्रहरीले जनाएको छ ।

गाउँपालिका अध्यक्ष बोहराले भने केन्द्रका विषयमा असन्तुष्ट पक्षले आगजनी गरेको हुनसक्ने आशङ्का गरेका छन् । सम्पर्क कार्यालय रहेको ठाउँ गाउँपालिकाको केन्द्रका लागि उपयुक्त भनेर प्रतिवेदन सार्वजनिक भएपछि त्यसको विरोध भइरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप