शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

फुटबलमा झेली गरेको भन्दै धादिङमा एकको हत्या, अर्का गम्भीर घाइते

बुधबार, ०८ माघ २०७६, ११ : ५२
बुधबार, ०८ माघ २०७६

फुटबल खेलमा भएको सामान्य वादविवादलाई लिएर धादिङको दार्खामा एक जनाको हत्या भएको छ ।

खनियाँबास गाउँपालिकाको दार्खामा जारी अन्तर वडा फुटबल प्रतियोगिता भएको सामान्य विवादको विषयले उग्र रुप लिँदा खनियाँबास गाउँपालिका ६ घाम्साका सन्त बहादुर तामाङको हत्या भएको छ । घटनामा सोही स्थानमा रविन तामाङ गम्भीर घाइते भएका छन् ।

धादिङ प्रहरीका अनुसार दार्खामा जारी अन्तर वडा फुटबल प्रतियोगितामा सामान्य विवाद भएको थियो । प्रतियोगितामा रेफ्रीको भूमिका निभाएका रोशन तामाङले खेलमा जालझेल गरेको भन्दै विवाद बढेको थियो । विवाद बढ्दै गएपछि माघ ८ गते राति अन्दाजी १ बजेको समयमा नेत्रावती गाउँपालिका १ का रोशन तामाङ र निजका भाइ राम तामाङले सन्त र रविनमाथि आक्रमण गरेका थिए ।

स्थानीय धन बहादुर तामाङको घरमा खानपिन गरिरहेको अवस्थामा गएराती १ बजेको समयमा रोशन र रामले आगो फुक्ने फलामको ढुङ्ग्रोले टाउकोमा आक्रमण गरेका थिए । दुबै जनालाई आक्रमण गरी गम्भीर घाइते बनाएकामा सन्त र रविनलाई उपचारका लागि जिल्ला अस्पताल धादिङ ल्याइएको थियो । सन्तलाई उपचारका लागि अस्पतला ल्याइएकामा आज बिहान ३ बजेर २५ मिनेटमा मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ । घटनामा घाइते भएका रविनलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

घटनामा संलग्न रहेका रोशन तामाङ र राम तामाङलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । घटनामा संलग्न रहेको भन्दै स्थाीय अशोक तामाङलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । घटनामा संलग्न रोशन र राम दाजुभाइ हुन् ।

घटनामा संलग्न रहेका भनिएका रोशन तामाङ यसअघि पनि विभिन्न आपराधिक घटनामा मुछिएको धादिङ प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धादिङबाट एसपी सहितको टोली घटनास्थलतर्फ जाँदै छन् । घटनाको कारण फुटबल प्रतियोगिता मात्रै हो कि अन्य केही कारण छन्, अनुसन्धानपछि मात्रै खुल्ने धादिङ प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप