बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

दामनमा भारतीयको मृत्यु : दुबईबाट विवाहको वर्षगाँठ र जन्मदिन मनाउन आएका थिए नेपाल

बुधबार, ०८ माघ २०७६, ११ : ०५
बुधबार, ०८ माघ २०७६

भारतको केरलाबाट मकवानपुरको दामन घुम्न आइपुगेका ३९ वर्षे प्रभिन कृष्णन नायर र उनकी ३४ वर्षीया श्रीमती सरन्या र उनीहरुका तीन सन्तान ९ वर्षे श्रीभद्र, ८ वर्षे आर्च र ७ वर्षे अभी नायरको मृत्यु भएको छ ।

दामनको पानोरामा होटलमा बास बसेका ८ जना भारतीय नागरिकलाई अचेत अवस्थामा भेटिएपछि मंगलबार बिहान हेलिकोप्टरमा उद्धार गरी काठमाडौंस्थित ह्याम्स अस्पतालमा ल्याइएको थियो । उनीहरुको उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रभिनका साथीहरु र पारिवारिक स्रोतका अनुसार प्रभिन नायर र उनकी श्रीमती सारान्या बालबच्चाको जन्मदिन र डिसेम्बरमा परेको विवाहको १० औं वर्षगाँठ मनाउन नेपाल आएका थिए ।

परिवारकै मृत्यु भएको खबरले दुबई स्थित उनका आफन्त र साथीभाइ शोकमग्न भएका छन् । प्रभिन मूल रुपमा केरलाका थिभुरानान्थानपुरमका हुन् र उनी विगत ११ वर्षदेखि दुबईको कालान्दुर ग्रुप अफ कम्पनिज नामको कन्ट्र्याक्टिङ कम्पनीमा कार्यरत थिए । उनकी श्रीमतीले कोचीस्थित एर्नाकुलमबाट स्नातकोत्तर तह उत्तिर्ण गरेको पारिवारिक श्रोतले बताएको छ ।

‘उनका तीनै सन्तानको जन्म जनवरीमा भएको हो । बच्चाहरुको जन्मदिनमा केही दिनको मात्रै फरक छ,’ प्रभिनलाई नियुक्त गर्ने कालान्दुरले जानकारी दिए । ‘उनी बिहिबार दुबईबाट एर्नाकुलम पुगेका थिए र शुक्रबार परिवारसहित नेपाल गएका थिए । उनी शनिबार काममा फर्कने योजनामा थिए,’ उनले भने ।


‘उनी निकै दयालु व्यक्ति थिए, हाम्रो लागि परिवारको सदस्य समान थिए । उनी हाम्रो कम्पनीमा प्रोजेक्ट म्यानेजरको रुपमा आबद्ध भएका थिए र अहिले उनी अपरेशन म्यानेजर र सेकेन्ड इन–चार्ज हुन्,’ कालान्दुरले भने ।

प्रभिनको परिवारसँगै नेपाल भ्रमणमा आएका अर्को परिवारका तीनजना सदस्यको पनि मृत्यु भएको छ ।

दामनको एभरेष्ट पानोरामा होटलमा राती ९ः३० बजे बास बस्न आइपुगेका १५ भारतीय पर्यटकले ४ वटा कोठा बुक गरेका थिए । उनीहरु ४ परिवारका सदस्यहरु रहेको एभरेष्ट पानोरामा होटलका म्यानेजर शिव केसीले रातोपाटीलाई बताए ।

जाडो बढेपछि भारतीय पर्यटकहरुले राति रेष्टुरेण्टमा प्रयोग हुने मसरुम ग्याँस हिटर आफ्नो कोठामा लगेका थिए । रेष्टुरेण्टका कामदारले लैजान नदिएपनि उनीहरुले बच्चालाई चिसो लाग्यो भनेर जबरजस्ती उक्त हिटर लिएर गएको, म्यानेजर केसीले बताए ।

त्यसपछि उनीहरु २ परिवारका सदस्यहरु एउटै कोठामा सुतेको पाइएको म्यानेजर केसीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप