बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

दहीको काइदाः खाँदा के के हुन्छ फाइदा–वेफाइदा ?

दहीको सेवनले हृदयरोगमा पनि फाइदा पुग्ने !
बुधबार, ०८ माघ २०७६, ०९ : १९
बुधबार, ०८ माघ २०७६

दहीको फाइदाबारे तपाईंलाई पक्कै पनि थाहा छ । दुधबाट बनिने दहीलाई अमृत खाद्य भने फरक पर्दैन । यसमा क्याल्सियम र भिटामीन डी पर्याप्त मात्रामा पाइने गर्छ, जसले हाम्रो हड्डीलाई बलियो बनाउने गर्छ । त्यसै गरी दूधमा मांसपेशी निर्माण गर्नको लागि अत्यावश्यक प्रोटिन पनि पर्याप्त पाइन्छ ।

दूधजन्य खानेकुराहरु क्याल्सियमको सबैभन्दा राम्रा स्रोतहरुमध्येको एक हो । सबैलाई थाहा भएकै कुरा हो, हड्डी तथा दाँतलाई स्वस्थ राख्न तथा तिनको विकास हुनको लागि क्याल्सियम अत्यावश्यक हुन्छ । त्यसबाहेक क्याल्सियमले रगत जम्न, घाउहरु निको हुन तथा रक्तचापलाई सही अवस्थामा राख्न समेत सहयोग गरिरहेको हुन्छ । अझ भिटामीन डी हुने खानेकुराहरुका साथ खाने हो भने त क्याल्यिमले झनै फाइदा गर्छ । भिटामीन डीले हाम्रो शरीरमा क्याल्सियम राम्ररी सोसिन मद्दत गर्छ ।

त्यसबाहेक दहीमा भिटामीन बी६ र बी१२, रिबोफ्लाविन, पोटासियम र म्याग्नेसियम समेत हुन्छ ।

यति भनेर मात्रै दहीको बखान पुग्दैन । विभिन्न अध्ययनहरुले के देखाएको छ भने दही हाम्रो मुटुको लागि पनि अति उपयोगी हुने गर्छ ।

स्वस्थ कोलेस्ट्रोल, स्वस्थ्य रक्तचाप

दहीको नियमित सेवनले हाम्रो रगतमा कोलेस्ट्रोलको मात्रा र रक्तचाप नियन्त्रित रहन्छ । एउटा अध्ययनका अनुसार, दही नखानेहरुको तुलनामा दही खानेहरुको पाचन प्रणाली सही हुने, बडी मास इन्डेक्स कम हुने, कम्मर पातलो हुने, ट्रिग्लिसेरिड्सको मात्रा कम हुने, ग्लुकोज र रक्तचापको मात्रा नियन्त्रित रहने तथा रगतमा राम्रो कोलेस्ट्रोलको मात्रा चाहिँ बढ्ने गरेको पाइएको थियो ।

उक्त अध्ययनमा के देखिएको थियो भने दही खाने मानिसले मासु र रिफाइन गरिएका दालहरु कम खाने गर्छन् । दही खानेहरुले बढी फलफूल, सागपात, ओखरबदाम र अरु स्वस्थकर खानेकुराहरु बढी खाने गरेका थिए । फलतः उनीहरुले उच्च मात्रामा पोटासियम, भिटामीन बी१२ र बी२, क्याल्सियम, म्याग्नेसियम, जिंक र अरु माइक्रोन्यूट्रिएन्टहरु पाएने गरेका थिए ।

अर्को एउटा अध्ययनले चाहिँ नियमित रुपमा दही सेवन गर्नाले कालान्तरमा तौल पनि घट्ने देखाएको थियो । सबैलाई थाहा भएकै कुरा हो, शरीरको तौल अनावश्यक रुपमा मोटो नहुँदा हामीलाई मुटुसम्बन्धी रोगहरु लाग्ने सम्भावना पनि कम भएर जान्छ ।

दहीको नियमित सेवनले दीर्घकालमा शरीरको तौल घटाउन सहयोग पुग्ने एउटा अध्ययनमा देखिएको छ । त्यसो त फलफूल, सागसब्जी र रिफाइन नगरिएका गेडागुडीहरुको सेवनले पनि मानिसको तौल सन्तुलित राख्न मद्दत पुग्ने विभिन्न अध्ययनहरुले देखाएको छ तर त्यो भन्दा पनि प्रभावकारी चाहिँ दहीको सेवन नै देखिएको छ ।

भनिबस्नु पर्दैन कि जब हाम्रो शरीर अनावश्यक मोटो हुँदैन, त्यसको सोझो फाइदा मुटुलाई नै पुग्छ । शरीर अनावश्यक रुपमा मोटो नभएपछि शरीरका सबै भागहरुमा रगतको माध्यमबाट पोषक तत्वहरु वितरण गर्ने मुटुले पनि अनावश्यक रुपमा बढी काम गर्नु पर्दैन । त्यसबाहेक, अनावश्यक रुपमा मोटो हुँदा देखापर्ने रक्तचाप, कोलेस्ट्रोलका समस्या लगायतका मुटुसम्बन्धी समस्याहरु सन्तुलित तौल हुँदा देखापर्ने सम्भावना कम रहन्छ ।

कुन दही राम्रो ?

बजारमा थरिथरिका दहीहरु पाइन्छन् । कुनै दही सादा हुन्छन् भने कुनै गुलियो । त्यसै गरी कुनै दहीमा चिल्लो बेसी हुन्छ भने कुनै दहीमा चाहिँ चिल्लो काढिएका हुन्छन् । यस्तो अवस्थामा स्वभाविक रुपमा प्रश्न उठ्न सक्छः स्वास्थ्यको दृष्टिकोणले चाहिँ कुन दहीको सेवन राम्रो होला त ?

वास्तवमा, स्वादको हिसाबले अरुको तुलनामा केही कमसल भए पनि सादा र चिल्लोरहित दही नै स्वास्थ्यको लागि राम्रो हुन्छ । अरु दहीमा जस्तै सादा र चिल्लोरहित दहीमा पनि पर्याप्त मात्रामा प्रोटिन, क्याल्सियम, पाचन प्रणालीलाई सही अवस्थामा राख्ने असल व्याक्टेरियाहरु प्रशस्त मात्रामा पाइन्छ । अझ तौललाई सन्तुलित राख्न चाहनेहरुको लागि त सर्वोत्तम विकल्प नै सादा र चिल्लोरहित दहीनै हुन आउँछ ।

दूधबाट बनिने सर्वोत्तम परिकारको नाम हो दही । दहीमा प्रचुर मात्रामा प्रोटिन र क्याल्सियम त पाइन्छ नै, यसमा पाइने प्रोबायोटिक्स भनेर चिनिने गुणकारी व्याक्टेरियाहरुले हाम्रो पाचनप्रणालीलाई सही र स्वस्थ राख्न मद्दत पनि गर्ने गर्छ । कतिपयले त के विश्वास गर्छन् भने ती प्रोबोयाटिक्सहरुले हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउने काम पनि गर्छ ।  दहीमा पाइने क्याल्सियमले हाम्रो हड्डीलाई बलियो बनाउनुका साथै हड्डी मक्किने, कमजोर हुने समस्याबाट पनि बचाउने गर्छ । दहीमा शरीरका लागि आवश्यक अन्य भिटामीन तथा खनिजतत्वहरु पनि पाइन्छ । तीमध्येमा भिटामीन बी६, बी१२, रिबोफ्लाबिन, पोटासियम र म्याग्नेसियम प्रमुख हुन् ।

कतिपयले के पनि तर्क दिने गर्छन् भने दहीको नियमित सेवनले हाम्रो मस्तिष्कको कार्यक्षमतामा पनि अभिबृद्धि हुन्छ । तर यो दावीलाई प्रमाणित गर्नको लागि थप अध्ययनअनुसन्धानहरु हुनु जरुरी छ ।

सन् २०१४ मा गरिएको एक अनुसन्धानमा के पत्ता लाग्यो भने नियमित रुपमा दहीको सेवनले टाइप २ किसिमको डाइबिटिजबाट पनि रक्षा गर्छ । कतिपय अध्ययनले त के पनि सुझाव दिएको छ भने दहीमा हुने प्रोबायाकिट ब्याक्टेरियाहरुले बच्चा र गर्भवती महिलाहरुलाई हानिकारक खनिजहरुको असरबाट पनि प्रतिरक्षा गर्ने गर्छ । 

रमाइलो कुरा के छ भने दुधमा प्रशस्त मात्रामा ल्याक्टोज हुने गर्छ । तर त्यही दुधबाट बन्ने दहीमा भने ल्याक्टोजको मात्रा कम हुने गर्छ । यसो हुनुको कारण चाहिँ दही बन्ने प्रक्रियामा सम्पन्न हुने फर्मेन्टेसन नै हो ।

सामान्यतः दही प्राकृतिक रुपमा केही अमिलो हुने गर्छ । त्यसैले दहीलाई मीठो बनाउनको लागि त्यसमा चिनीहरु हाल्ने गरिन्छ । तर जानकारहरुका अनुसार चिनी हालेर मीठो बनाएको दहीले भन्दा चिनी नहालेको प्राकृतिक अवस्थाको दहीले बढी फाइदा दिने गर्छ । फेरि दहीमा चिनी नहाले पनि प्राकृतिक रुपमा पनि त्यसमा केही चिनीको मात्रा अवश्य हुने गर्छ ।

दही जम्नको लागि सुक्ष्म जिवाणु (microbiotics) ले भूमिका निर्वाह गर्ने गर्छ । दही जमाउने उक्त सुक्षम जिवाणु अर्थात् व्याक्टेरिया Lactobacillus bulgaricus (L. bulgaricus)  हो । त्यस्तै अर्को ]{ Streptococcus thermophiles (S. thermophiles) जिवाणुले पनि दही जमाउने काम गर्छ । ब्याक्टेरिया भन्नेबित्तिकै हाम्रो मनमा रोग लगाउने किटाणु भन्ने छाप पर्न सक्छ । तर दही जमाउन सहयोग गर्ने यो सुक्ष्म जिवाणुहरु चाहिँ हाम्रो पाचन प्रणालीलाई फाइदा पुर्याउने स्वस्थ जिवाणु हुन् । प्रोबायोटिक्स भनिने यी जिवाणुहरुले हाम्रो पाचप्रणालीलाई स्वस्थ ढंगले काम गर्न र खाना पचाउने क्रममा त्यहाँ पैदा हुने ग्याँसहरुलाई कम गर्न, झाडापखाला लाग्न नदिन, कब्जियत हुन नदिन तथा पाचन खराब भएर पेट कराउन दिँदैन ।

कतिपय अनुसन्धानहरुले त के पनि देखाएके छ भने खाना पचाउन सहयोगी यी प्रोबायोटिक्सहरुले हाम्रो शरीरको रोगप्रतिरक्षा प्रणालीलाई बलियो बनाउन, शरीरमा अनावश्यक तौल बढ्न नदिन र क्यान्सरसमेतका खतरालाई कम गर्न भूमिका खेलिरहेको हुन्छ । नियमित रुपमा दही खाँदा र यस्ता प्रोबायोटिक्स हुने अन्य खानेकुराहरु खाँदा हाम्रो शरीरका लागि अत्यावश्यक भिटामीन तथा खनिज पदार्थहरु राम्ररी शरीरले ग्रहण गर्न सक्छ ।

युनिभर्सिटी अफ टोरान्टोले गरेको एक अध्ययनमा भिन्न प्रोबायोटिक्सहरुले भिन्न किसिमले असर गर्ने र तीमध्ये पनि दहीमा पाइने प्रोबायोटिक्सहरु चाहिँ झनै स्वस्थकर हुने देखाएको थियो ।

एउटा अध्ययनले त के पनि देखाएको छ भने दहीको नियमित सेवन गर्दा डिप्रेसनको समस्यामा पनि फाइदा पुग्छ ।

महिलाकाे याेनीमा हुने संक्रमणमा दहीले फाइदा गर्ने

त्यसैगरी, महिलाहरुमा हुने क्यान्डिडा भनिने योनीको यिस्ट संक्रमणको उपचारमा पनि दहीको प्रयोग फाइदाजनक हुने देखिएको छ । खासगरी, गुलियो र अन्य स्वाद बढाउने चिजहरु नमिसाइएको दहीमा हुने Lactobacillus  ले क्यान्डिडाको संक्रमणको उपचार हुने पाइएको छ । खासगरी, यिस्टको संक्रमण भएको महिलाले आफ्नो योनीमा रुवा, कटन वा ट्याम्पनको मद्दतले सादा दहीलाई मल्हमको रुपमा उपयोग गर्दा निक्कै आराम पुग्ने गरेको अध्ययनले देखाएको छ । अर्को एउटा अध्ययनले त दहीको उपयोग अन्य एन्टीफंगल औषधीहरुभन्दा पनि प्रभावकारी हुने पाइएको छ ।

दहीका वेफाइदा

सामान्यतः दहीको वेफाइदा खासै छैन । विशेष गरी, स्वाद बढाउनको लागि चिनी तथा अन्य पदार्थहरु प्रयोग गरिएका दही तुलनात्मक रुपमा कम स्वस्थकर मानिन्छ । त्यसबाहेक, कतिपयलाई दही खाँदा पखाला लाग्ने, पेट दुख्ने वा छालामा एलर्जी हुने जस्ता पनि हुन सक्छन् । तर यस्तो समस्या नगन्य मात्रलाई हून्छ ।
त्यसैगरी, रुघाखोकी लागेको बेलामा, पिनास भएका मानिसलाई दहीको सेवनले फाइदा गर्दैन । त्यस्तो बेलामा चाहिँ दहीको सेवन गर्नु हुँदैन ।
त्यसैगरी, कमजोर इम्युन सिस्टम भएको अवस्थामा पनि दहीको सेवनलाई राम्रो मानिँदैन । त्यसबेलामा कतिपय व्यक्तिलाई दहीको सेवन गर्दा दहीमा हुने व्याक्टेरियाले फाइदाभन्दा बढी वेफाइदा गर्न सक्ने सम्भावना रहन्छ । यस्तो अवस्थामा सकेसम्म दहीको नियमित सेवन गर्नु ठीक मानिँदैन । त्यसैगरी, औषधीहरुका साथ पनि दहीको सेवन गर्नुहुँदैन ।

स्रोतः मेडिकलन्यूज टुडे, वेवमेड लगायत इन्टरनेटका विभिन्न साइटहरु

Title Photo: https://i0.wp.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप