शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सांसदको मूल्याङ्कन कानून निर्माणमा सहभागिताका आधारमा  : तिमिल्सिना

मङ्गलबार, ०७ माघ २०७६, २१ : ५८
मङ्गलबार, ०७ माघ २०७६

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसदको मूल्याङ्कन कानून निर्माणमा हुने सहभागिता र योगदानका आधारमा हुनुपर्ने बताएका छन् ।

काठमाडौँ स्कुल अफ ल र इन्टरनेशनल रिसर्च इस्न्टिच्यूट नेपाल (आईआरआई) को संयुक्त आयोजनामा आज भएको ‘सङ्घीय र प्रदेश सरकार तथा व्यवस्थापिकाका लागि नीति अनुसन्धान संरचना निर्माण’ सम्बन्धी छलफल कार्यक्रममा उनले सङ्घीय संसद्का सांसदहरु विधि निर्माणभन्दा योजना माग गर्न मन्त्रालय धाउने र निर्वाचन क्षेत्रका कार्यक्रममा बढी हिँड्नु गलत भएको बताए । 

‘‘आम मतदाता, सम्बन्धित दल र सिङ्गो समाजले के आधारमा विधि निर्माण गर्न आएका सांसदहरूको मूल्याङ्कन गर्छ ?’ उनले प्रश्न गर्दै भने, ‘‘सांसदको कार्यकाल सकिँदासम्म कतिपटक निर्वाचन क्षेत्रमा आयो, कति बजेट ल्यायो वा घर–घरमा पुग्यो–पुगेन भनेर मूल्याङ्कन गर्छ । यो गलत भइरहेको छ ।’’

अध्यक्ष तिमिल्सिनाले राजनीतिक दलहरूले नै आफ्ना विधायकलाई संसद् तथा समितिको बैठकमा हुने सहभागिता र कानून निर्माणमा खेल्ने भूमिकाका आधारमा मूल्याङ्कन गर्नुपर्ने धारणा राखे । 

‘‘अहिले सांसदहरू जहाँ मूल्याङ्कन हुन्छ वा जे गर्दा भोट बढ्छ र फेरि चुनाव जितिन्छ, त्यसका पछाडि लाग्नुभएको हो । यो उहाँहरूको बाध्यता हो,’’ उनले भने, ‘‘यसले गर्दा विधि निर्माणमा सांसदको सहभागिता कमजोर भयो ।’’ 

विकास निर्माणको काम मन्त्रालय, योजना आयोगमार्फत आवश्यकताका आधारमा हुनुपर्ने बताउँदै उहाँले सांसद आफ्नो क्षेत्रको योजना बोकेर मन्त्रालयको कोठा–कोठा धाउने अवस्थाको अन्त्य हुनुपर्ने बताए। नयाँ संविधानअनुसार थुप्रै नयाँ कानून निर्माण गर्नुपर्ने भएकाले सांसदहरू अध्ययन र कानून निर्माणमा सहभागी हुन उनले आग्रह गरे । 

कार्यक्रममा प्रा डा युवराज सङ्ग्रौलाले कानून निर्माणको प्रक्रियामा सरकार, सांसद र संसद् सचिवालयसँगै बाहिर रहेको आम बौद्धिक जगत्को सहभागिता जरुरी रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप