बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

धादिङ ट्रक दुर्घटना : चालकले रक्सीको नशामा सवारी चलाएको खुलासा

मङ्गलबार, ०७ माघ २०७६, २१ : ४७
मङ्गलबार, ०७ माघ २०७६

धादिङको ढोलामण्डली पुलाको प्रसाद खाएर घर फर्कंदै गरेका यात्रु बोकेको ट्रक आज नीलकण्ठ नगरपालिका–८ ससाह ज्यामिरेमा सडकमा पल्टिएर भएको दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । 
 
ज्वालामुखी गाउँपालिका–४ ढोला मण्डलीको दर्शन गरेर फर्कंदै गरेको ग१ख ८०१२ नंको आइचर ट्रक सडकमा पल्टेर दुर्घटना भएको हो । दुर्घटनापछि तीनजनाको घटनास्थलमा नै मृत्यु भएको हो भने चारजनाको जिल्ला अस्पतालमा ल्याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानाकारी दिए । 

मृत्यु हुनेमा नीलकण्ठ नगरपालिका–२ भुलभुलेका तिलकबहादुर गुरुङ, पूर्णमान श्रेष्ठ, प्रेमबहादुर गुरुङ, विदुर गुरुङ, बलबहादुर गुरुङ, सेते गुरुङ र ध्वजबहादुर गुरुङ रहेका छन् । दुर्घटनामा ३२ भन्दा बढी घाइते भएका छन् । अत्यधिक गतिमा गाडी कुदिरहेको थियो । सबै मानिस हल्ला गरेर कराइरहेको बेला पिच सडकमा गाडी पल्टेको गाडीमा सवार घाइते कमल गुरुङले जानकारी दिए । मण्डलीमा पाठी काटेर भोग दिने चलनअनुसार भोग चढाएपछि गाउँवासी मिलेर पाठीको मासु र रक्सी खाएका थिए । रक्सीको सुरमा गाडी चलाएर दुर्घटनामा परेको घाइतेहरुको भनाइ छ ।  

घाइतेहरुलाई स्थानीय बासिन्दा, नेपाल प्रहरी र स्वयंसेवकहरुले उद्धार गरेका थिए । घाइतेको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ । गम्भीर १० जना घाइतेलाई हेलिकोप्टरबाट थप उपचारका लागि काठमाडौँ ट्रमा अस्पताल काठमाडौँमा पठाइएको छ भने एम्बुलेन्सबाट ६ जना लगिएको धादिङ अस्पतालका अध्यक्ष महेन्द्र धमलाले जानकारी दिए । अन्य घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । 

धादिङ अस्पतालमा बिरामी घाइतेहरुको उपचार भइरहँदा आफन्त र बजारवासीको भीड लागेको थियो भने लापर्वाहीपूर्ण तरिकाले सवारी चलाउनेलाई कारवाहीको माग गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप