मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

क्यान–११ को लगातार दोस्रो जित

मङ्गलबार, ०७ माघ २०७६, १९ : ५७
मङ्गलबार, ०७ माघ २०७६

काठमाडौं । मलेसिया–११ विरुद्धको दोस्रो मैत्रीपूर्ण एकदिवसीय क्रिकेटमा खेलमा नेपालको क्यान–११ ले फराकिलो जित निकालेको छ । पोखरा रंगशालामा मंगलबार भएको दोस्रो खेलमा क्यान–११ ले मलेसियालाई एकसय ७२ रनले हरायो । क्यानको यो लगातार दोस्रो जित हो । सोमबार भएको पहिलो खेलमा पनि क्यान–११ एक सय ३४ रनले विजयी भएको थियो ।

क्यानले दिएको दुई सय ९१ रनको विजयी लक्ष्य पछ्याएको मलेसिया २८.४ ओभरमा सवै विकेट गुमाएर एक सय १८ रनमा समेटियो । मलेसियाका लागि शेद अजिजले सर्वााधक २८ रन बनाए । भुसन सेभले २४, भिरन्दीप सिंहले २३, अहमद अरिफले १९ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो रन बटुल्न सकेनन् । मलेसियालाई सस्तैमा समेट्न क्यानका किशोर महतो र ललित राजवंशीले समान तीन–तीन विकेट लिए । सुशन भारीले दुई तथा कमल सिंह ऐरी र पवन सर्राफले समान एक–एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको क्यान–११ ले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा दुई सय ९० रन बनाएको थियो । क्यानका लागि कप्तान रोहितकुमार पौडेलले ५७ रन बनाए । ज्ञानेन्द्र मल्लले ५४, सुवास खकुरेल ४८, लोकेश बमले ३४, विनोद भण्डारीले २१ र सुनिल धमलाले २४ रन बनाए । मलेसियाका लागि नाजरिल रहमान र अनवार रहमानले दुई–दुई तथा मोहमद आरिफ र सर्भिन मुनियान्डीले एक–एक विकेट लिए । क्यानका किशोर महतो प्लेयर अफ दी म्याच भए ।

नेपालले अमेरिका र ओमनसँग आगामी माघ २२ देखि २९ गतेसम्म कीर्तिपुर क्रिकेट मैदानमा हुने विश्व क्रिकेट लिग–२ सिरिजको तयारीका लागि मलेसियासँग मैत्रीपूर्ण खेल खेलेको हो । त्रिकोणात्मक सिरिजको लागि अमेरिकाले सौरभ नेत्रवलकरको कप्तानीमा १४ सस्दय टोली घोषणा गरिसकेको छ । नेपाल आउनुअघि अमेरिकाले भारतमा तयारी गर्ने भएको छ । अमेरिकी टोली शुक्रबार भारत प्रस्थान गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप