शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुडानी विद्रोहीहरु डार्फरमा शान्तिका लागि आशावादी : राष्ट्रसंघ

मङ्गलबार, ०७ माघ २०७६, १९ : ००
मङ्गलबार, ०७ माघ २०७६

संयुक्त राष्ट्रसंघ । राष्ट्रसंघका विज्ञहरूको विचारमा सुडानका धेरैजसो विद्रोही समूहहरू र लिबिया बाहेक सुडानका सबै छिमेकी मुलुकहरू डार्फरको शान्ति प्रक्रियालाई समर्थन गरिरहेका छन् तर यस समस्याग्रस्त पश्चिमी क्षेत्रमा सुरक्षा खतराका घटनाहरूमा बृद्धि भएका छन् । यहाँ स्थानीय किसानहरू र गाईवस्तु चराउने गोठालाहरूबीच बलात्कारदेखि झडपका घटनाहरुमा वृद्धि भएको छ । 

विज्ञहरुले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्लाई सोमबार बुझाएको प्रतिवेदनमा विद्रोही लडाकूहरुले नागरिकमाथि आक्रमण गरेका, हिंसात्मक प्रदर्शन हुने गरेको तथा वर्षौंदेखि विस्थापित भएर डार्फरबासीले आश्रय लिइरहेका ठूला शिविरहरूमा तनाव बढेको उल्लेख छ । प्रतिवेदनमा अब्दुल वाहिद एलनूरको नेतृत्वमा रहेको सुडान लिबरेशन आर्मीको समूह र सरकारी फौजबीच भिडन्त पनि भइरहेको उल्लेख छ ।

सुडानको अरब–समर्थित सरकारले जातीय विभेद गरेको आरोप लगाउँदै डार्फरमा सन् २००३ मा द्वन्द्व शुरु भएको थियो । द्वन्द्वको शान्तिपूर्ण समाधान गर्नुको साटो सुडान सरकारले स्थानीय घुमन्ते अरबी जनजातिलाई शस्त्र दिएर मुलुकलाई युद्धतर्फ धकेलेको आरोप लाग्ने गरेको छ, तर सुडान सरकारले यसलाई निरन्तर अस्वीकार गरिरहेको छ । गत अप्रिलमा एउटा जनविद्रोहले राष्ट्रपति ओमर अल–बसिरलाई झन्डै तीन दशकपछि सत्ताच्यूत गरेको थियो । 

बसिरको पतनसँगै अहिले सैन्य–नागरिक सरकारले सुडानलाई प्रजातन्त्रको नाजुक मार्गबाट अघि बढाउँदै लगेको छ । तर एन्नूरको विद्रोही समूह र त्यसका समर्थकहरूले संक्रमणकालीन सरकारले क्रान्तिलाई अपहरण गरेको आरोप लगाएका छन् । 

संक्रमणकालीन सरकारको एउटा प्रमुख प्राथमिकतामा सुडानको सुदूरपश्चिमका डार्फर समेतका प्रान्तहरुमा फैलिएका विद्रोहहरुको अन्त्य गर्नु रहेको छ र गत अक्टोबरदेखि विद्रोही समूहहरूसँग सरकारले शान्ति वार्ता गरिरहेको छ । 

मानवअधिकार सम्बन्धी एउटा महत्वपूर्ण मुद्दाका सम्बन्धमा विशेषज्ञहरूको प्यानलले दिएको प्रतिवेदनमा भनिएको छ, ‘सन् २०१९ को मार्चदेखि डिसेम्बरको अवधिमा आन्तरिक विस्थापित व्यक्तिहरूका लागि बनाइएका शिविर नजिकै महिला र बालबालिकामाथि बलात्कार र शारीरिक हिंसाका घटनाहरू नियमित रुपमा हुने गरेको विश्वासिला स्रोतहरुले बताएका छन् ।’

पीडितहरूले यी अपराधीहरूमा सशस्त्र विद्रोही समूहमा आबद्ध व्यक्ति र सुडानी सुरक्षाफौजका केही सदस्यहरू रहेको आरोप लगाएका छन् । प्रतिवेदनमा अपराधमा संलग्न धेरैजसो व्यक्तिको पहिचान गरिएको भएपनि उनीहरु पक्राउ नपरेको उल्लेख छ । 

उदाहरणका रुपमा, एउटा घटना जुन २८ मा उत्तर डार्फरको तबिट गाउँमा भएको थियो । ऊँटमा सवार तीन व्यक्तिले एक जना पुरुष, एक महिला र दुई किशोरीमाथि आक्रमण गरे । प्रतिवेदनमा भनिएको छ,करिब ४० वर्षको हाराहारीका पुरुष र महिला दुबैलाई कुटपिट गरियो र लखेटियो, र त्यसपछि दुबै बालिकालाई कुटपिट गरी बलात्कार गरियो । 

एक अर्को घटनामा रेपिड सपोर्ट फोर्सेजमा आबद्ध बर्दीधारी व्यक्तिले ११ र १३ वर्षीया दुई बालिकालाई बलात्कार गरेको दुबै बालिकाले आरोप लगाउँदै भिडियो नै सार्वजनिक गरेका छन् । यो घटना सेन्ट्रल डार्फरको नेर्टिटीमा भएको हो । 

यी व्यक्तिहरूको आबद्धता सुडानको जञ्जाविद मिलिसियासँग रहेको खुलेको छ । डार्फर विद्रोहका शुरुआती दिनहरुमा यो समूह गाउँहरूमा आगो लगाउने, निर्दोशहरुको हत्या गर्ने तथा बलात्कार गर्ने कार्यमा संलग्न रहेको थियो । 

समितिले भनेको छ कि गोप्य सरकारी स्रोतबाट प्राप्त तथ्याङ्कमा सन् २०१९ को अप्रिलदेखि सेप्टेम्बरबीच बलात्कार र यौन हिंसाका १२० वटा मुद्दा दर्ता भएका छन् । यद्यपि सामाजिक अवरोधका कारण बलात्कारका घटना रिपोर्ट नगर्ने प्रवृत्ति यहाँ व्याप्त छ । 

विज्ञहरूले भनेका छन् ‘घटनाहरूको अध्ययनले के सङ्केत गरेको भने डार्फरका हरेक झगडामा शक्ति हात पार्न बलात्कारलाई एक साधनका रुपमा प्रयोग भइरहेको छ ।’  विज्ञहरुको बुझाईमा लिबिया बाहेक सुडानका अन्य छिमेकी मुलुकहरू डार्फर समेतमा शान्ति प्रक्रियालाई गतिदिन अहिले निकै सकारात्मक र अनुकूल अवस्था सिर्जना भएको छ । 

विज्ञहरूको भनाईमा लिबियामा सुडानी विद्रोही समूह रेपिड सपोर्ट फोर्सको उपस्थितिको कुनै विश्वसनीय प्रमाण छैन । लिबिया र अन्य मिडियाले सुडानी रेपिड फोर्स लिबियामा सक्रिय रहेको दाबी गर्दै आएका छन् । –एपी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप