मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा भएको मूल्यवृद्धिको प्रभाव नेपाली अर्थतन्त्रमा : जहाँ–जहाँ भारतीय सामान, त्यहाँ–त्यहाँ महँगी !

भारतीय उपभोग्य वस्तु नपुगेकै कारण हिमाली क्षेत्रको मूल्यवृद्धि यो वर्ष स्थिर
मङ्गलबार, ०७ माघ २०७६, १६ : ३३
मङ्गलबार, ०७ माघ २०७६

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो मंसिर मसान्तसम्म वार्षिक विन्दुगत (अघिल्लो वर्षको सोही समय) का आधारमा ६.५५ प्रतिशतको मुद्रास्फीति रहेको देखाएको थियो । 

औसत मुल्यवृद्धि साढे ६ प्रतिशत भए पनि यो अवधिमा खाद्य तथा पेय पदार्थको मुद्रास्फीति ९.७६ प्रतिशत पुगेको छ । गैरखाद्य वस्तुको ४.१० प्रतिशत मुद्रास्फीतिको कारणले मात्रै औसत मुद्रास्फीति कम देखिएको हो । 

यो वर्ष भारतको औसत मुद्रास्फीति दर विगत ३ वर्षकै बढी देखियो । यो समयमा भारतमा ७.३५ प्रतिशतको मुल्यवृद्धि देखिँदा त्यसको प्रत्यक्ष प्रभाव नेपाली अर्थतन्त्रमा परेको हो । सन् २०१९ मा भारतले ४ प्रतिशतको औसत मुद्रास्फीतिको लक्ष्य लिएको थियो । त्यसमा २ प्रतिशत विन्दुसम्म तलमाथि हुनसक्ने अनुमान थियो । त्यसो हुँदा पनि ६ प्रतिशत भन्दा बढी मूल्य बढ्नु हुँदैनथ्यो । तर यसमा भारत सरकार चुक्दा अघिल्लो वर्षभन्दा भारतको मूल्यवृद्धि साढे २ गुणा बढी छ । 

राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ट अहिलेको मुद्रास्फीतिको कारण माग पक्ष नभई आपूर्ति पक्ष भएको बताउँछन् । ‘मूल्यवृद्धिको मूलतः २ वटा कारण हुन्छन्, एउटा माग पक्ष हो भने अर्को आपूर्ति पक्ष हो । अहिलेको मूल्यवृद्धि हाम्रो अर्थतन्त्रमा वस्तु तथा सेवाको माग बढेर भएको होइन, आपूर्ति पक्ष कमजोर हुनाको कारणले भएको हो । उपभोग्य वस्तुको आयातको प्रमुख स्रोतमै मुल्यवृद्धि भएपछि त्यसको प्रत्यक्ष असर हामीकहाँ परेको हो’ भट्टले भने । 

भारतमा सन् २०१९ मा खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि मात्रै १२.१६ प्रतिशत थियो । त्यस्तै, त्यसमध्ये अनाजको ४.३६ प्रतिशत, दुधको ४.२२ प्रतिशत, तरकारीको ६०.२२ प्रतिशत, फलफूलको ४.५५ प्रतिशत तथा दालको मूल्य १४.१२ प्रतिशतले बढेको थियो । त्यसको सीधा असर मंसिरको मुल्यवृद्धिमा पर्यो । नेपालमा सो समयमा तरकारीको मूल्य ४२.२१ प्रतिशत बढ्यो । त्यस्तै, अनाजको मूल्य ३.६६ प्रतिशत, दाल र गेडागुडीको मूल्य ८.५९ प्रतिशत, फलफूलको मूल्य ८.६० प्रतिशत तथा मसलाको मूल्य १४.९८ प्रतिशत रहेको पाइएको पाइएको छ । यी दरहरुले नेपाल र भारतको मूल्यवृद्धिको दरमा समानता देखाउँछ । 

मूल्यवृद्धि दरमा समानता भए पनि सबै उपसूचकहरुमा भारतको भन्दा कम मूल्यवृद्धि हुनुको कारण भने नेपालको आन्तरिक उत्पादन र कमजोर माग पक्ष भएको प्रवक्ता भट्टले दाबी गरे । ‘हाम्रो आन्तरिक उत्पादन केही बढेको छ भने उपभोग भट्दा यो वर्ष भारतबाट आउने वस्तुहरुमा उल्लेख्य कमी पनि आएको छ, त्यसैले भारतमा जति मूल्यवृद्धि भयो, त्योभन्दा कम मूल्यवृद्धि हाम्रो अर्थतन्त्रमा भएको पाउँछौं । 

मूल्यवृद्धिमा यो वर्ष अघिल्लो वर्षको तुलनामा नतिजा उल्टियो । पहिले क्षेत्रगत रुपमा कम मुल्यवृद्धि हुने स्थानहरुमा अहिले मूल्यवृद्धि कम देखियो । पहिले कम हुने ठाउँमा अहिले बढी देखियो । यसको कारण पनि भारत नै हो । 

नेपाल राष्ट्र बैंकले देशभर ६० वटा बजार केन्द्र तोकेर मूल्यवृद्धिको सर्भेक्षण गर्छ, त्यसमध्ये १० केन्द्र काठमाडौंमै छ । मंसिरसम्मको तथ्यांक हेर्ने हो भने काठमाडौं उपत्यकामा नै सबैभन्दा बढी महँगी रहेको पाइयो ।

यसको कारण भारतीय उपभोग्य वस्तुहरुको प्रमुख गन्तव्य काठमाडौं उपत्यका रहनु भएको राष्ट्र बैंकको दाबी छ । काठमाडौंपछि तराई क्षेत्रमा भारतीय सामानको बढी आयात हुन्छ, त्यसपछि पहाडमा आयात हुन्छ भने हिमाली क्षेत्रमा निकै कममात्रै वस्तु तथा सेवा पुग्छ । 

भारतीय उपभोग्य वस्तु नपुगेकै कारण हिमाली क्षेत्रको मूल्यवृद्धि यो वर्ष स्थिर छ । यो मंसिरसम्म यो दर ४.८३ प्रतिशत थियो । अघिल्लो वर्षको सोही समयसम्म त्यो मुद्रास्फीति ४.१ प्रतिशत थियो भने त्योभन्दा अघिल्लो वर्ष ५.५ प्रतिशत थियो । भारतीय आयातको न्यून प्रभाव रहेको हिमालको मूल्यवृद्धिलाई मानक यो मुद्रास्फीतिमा नेपाली उत्पादन र मागको यसमा खासै ठूलो भूमिका नभएको देखिन्छ । अघिल्ला वर्षहरुमा नेपाली माग पक्ष बलियो भएका कारणले भारतको भन्दा बढी मूल्यवृद्धि नेपालमा हुने गथ्र्यो । 

अघिल्ला वर्षहरुको जस्तो गैरखाद्य पदार्थको माग कम हुँदा यसले मूल्यवृद्धिलाई केही नियन्त्रणमा राख्न सफल भयो । यो वर्ष निर्माण क्षेत्रमा जाने सामाग्रीहरुको मागमा निकै कम आएको छ । यसले गर्दा यस्ता वस्तुहरुको मूल्यवृद्धि दर निकै कम छ । घरयासी सामान, यातायातसँग सम्बन्धित वस्तु तथा सेवाको मूल्यवृद्धि दर यो वर्ष निकै कम भएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप