मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

मिल मालिकबाट फेरि ठगिए उखु किसान : एक अर्ब बक्यौतामा १५ करोडमात्रै भुक्तानी

समयसीमा सकियो, अब के गर्छ सरकार ?
मङ्गलबार, ०७ माघ २०७६, १५ : ४४
मङ्गलबार, ०७ माघ २०७६

काठमाडौँ । झण्डै एक महिनासम्म काठमाडौं केन्द्रीत आन्दोलन गरेका उखु किसानले सरकारद्वारा गरिएको प्रतिवद्धता अनुसार उखुको बक्यौता रकम भुक्तानी पाएका छैनन् । 

उखु किसानले झण्डै एक अर्ब भन्दा बढी बक्यौता रकम चिनी उद्योगीहरुबाट लिनुपर्ने छ ।  तर हालसम्म १५ करोड रुपैयाँ मात्र प्राप्त गरेको बताइन्छ । सर्लाहीका उखु किसानले काठमाडौं केन्द्रीत आन्दोलन गर्दा सरकारले माघ ७ गतेभित्र सम्पूर्ण बक्यौता रकम भुक्तानी गराउने भनि सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो ।

उखु किसान र सरकारबीच पुस १८ गते पाँच बुँदे सम्झौता भएको थियो । सम्झौताको पहिलो बुँदामा ‘नेपाल सरकारबाट निर्धारण भएको उखुको मूल्य बमोजिमको उखु किसानहरुको सम्पूर्ण बक्यौता रकम चिनी उद्योगीहरुले २०७६ माघ ७ गतेभित्र भुक्तानी गरिसक्ने व्यवस्था मिलाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आवश्यक समन्वय र सहजीकरण गर्ने भनि उल्लेख छ । सो सहमतिपछि किसानहरु आन्दोलन स्थगित गरेर मधेस फर्किएको भएपनि किसानले भने प्रतिवद्धताअनुसार भुक्तानी पाउन नसकेका हुन् । 

आन्दोलनमा संलग्न रहेका राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सहमहामन्त्री राकेश मिश्रले सरकारले प्रतिवद्धता गरे अनुसार किसानले भुक्तानी नपाएको बताए । आफूले सरकारबाट पाएको तथ्यांक अनुसार चिनी उद्योगीहरुले हिजोसम्म १५ करोड रुपियाँ भक्तानी गरेको देखिएको छ ।  तर किसानले त्यति पनि नपाएको दावी उनले गरे । 


महालक्ष्मी सुगर मिलले १० करोड र अन्नपूर्ण सुगर मिलले ५ करोड दिएको भनि बुझ्नमा आएको तर किसानहरुसँग बुझ्दा त्यति रकम नपाएको जानकारी दिएको उनले बताए । उनले भने, ‘उखु किसानले झण्डै एक अर्ब भन्दा बढी रकम पाउनुपर्ने हो तर सरकारी तथ्यांकमा १५ करोड दिएको देखिन्छ । १५ करोड पनि दिएको भए किसानहरुको बीचमा चर्चा हुन्थ्यो, त्यो पनि कम रकम होइन ।  तर उद्योगीका साथै सरकारले पनि किसानलाई ढाँटेका छन् ।’


किसानहरुले आज साँझसम्म प्रतिक्षा गरेर बसेको बताएका छन् । संघर्ष समितिका सचिव हरिश्याम रायले साँझसम्म भुक्तानीका लागी कुरेर बसेका र त्यतिबेलासम्म सम्पूर्ण रकम भुक्तानी नभए भोलिदेखि आन्दोलनमा जाने बताए ।


उनले आज दिनभरिको समय कुरिएको र  सरकारले सहमति गरे अनुसार किसानलाई रकम दिलाउन नसके बुधबार पत्रकार सम्मेलन गरेर फेरि आन्दोलन थाल्ने चेतावनी दिए ।

उखु किसान संघर्ष समिति सर्लाहीका सचिव हरिश्याम रायले पनि सरकारको आग्रहमा आफूहरुले आन्दोलन स्थगित मात्र गरेको भन्दै भुक्तानी नभए आन्दोलन जुनसुकै बेला सुरु गर्न सकिने चेतावनी दिए । ‘सरकारले उद्योगीको जग्गा जमिन लिलामी गरेर भएपनि बक्यौता रकम भुक्तानी गराउने प्रतिवद्धता जनाएको थियो । तर आज आन्तिम दिनसम्म निकै थोरै रकम किसानले पाएका छन्’, उनले भने । किसानहरुले उद्योगीले भुक्तानी नदिएर चरम अन्याय गरी फेरि ठगिन पुगेको बताएका छन् । 


‘अन्नपूर्ण सुगर मिलले १० र महलक्ष्मी मिलले ५ करोड रकम भुक्तानी गरेको भनि सुनेको छु तर किसानले त्यति रकम पाएका छैनन्’, किशान हरिश्याम रायले भने, ‘हामी किसानले हिसाव गर्दा सातदेखि आठ करोड रुपैयामात्रै भुक्तानी भएको देखिएको छ । अन्नपूर्णले ३ र महालक्ष्मीले ५ करोड रुपैयाँ मात्र भुक्तानी दिएको छ ।’

अन्नपूर्णले मात्र ४० करोड र महालक्ष्मीले २१ करोडभन्दा बढी बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको छ । अन्नपूर्ण मिलका मालिक राकेश अग्रवाल हुन् भने महालक्ष्मीका मिलका मालिक विरेन्द्र कनौडिया हुन् ।    

तर चिनी उद्योगीले रकम दिएको–नदिएको अनुगमन गरिरहेको उद्योग विभागका प्रवक्ता विनोद खड्काले १४ वटा उद्योगमध्ये ६ वटा उद्योगले सम्पूर्ण रकम भुक्तानी गरिसकेको दावी गरे । उनले भने, ‘हामीले उद्योगीहरुसँग फोन सम्पर्क गर्दा ६ जना उद्योगीले सम्पूर्ण रकम भुक्तानी गरेको दावी गर्नुभएको छ, कति रकम भुक्तानी गरेको हो त्यो भने उहाँहरुले बताउनु भएन । तर सबै गरेको भन्नुभएको थियो ।’

बाँकी रहेका उद्योगहरुले पनि आँशिक भुक्तानी दिएका छन् । त्यसमध्ये तीन–चारवटा उद्योगले साँझसम्म भुक्तानी गरिदिने प्रतिवद्धता जनाएको प्रवक्ता खड्काले बताए । तर सरकारले दावी गरे अनुसार किसानको हातमा रकम नपुगेको उखु किसानहरु बताउँछन् । 


किसानहरुले आज साँझसम्म प्रतिक्षा गरेर बसेको बताएका छन् । संघर्ष समितिका सचिव हरिश्याम रायले साँझसम्म भुक्तानीका लागी कुरेर बसेका र त्यतिबेलासम्म सम्पूर्ण रकम भुक्तानी नभए भोलिदेखि आन्दोलनमा जाने बताए ।

कृषि तथ पशुपक्षी विकास मन्त्रालयका अनुसार वाग्मती सुगर मिलले ८ करोड ४१ लाख ४१ हजार ५८६, लुम्बनी चिनी उद्योग प्रालीले १० करोड ७४ लाख ८८ हजार ४७२, इन्दिरा सुगर एण्ड एग्रो इन्डस्ट्रिज प्रा.लिले ११ करोड २२ लाख, महाकाली सुगर प्रालिले ६२ हजार १०७, श्रीराम सुगर मिल्सले २६ करोड ७७ लाख ७८ हजार ६२३, रिलाइन्स सुगर एण्ड के.ई.लिले ६१ लाख ४९ हजार ७१४, हिमाल सुगर मिल्स लिले २० लाख ६४ हजार ३८, एभरेष्ट सुगर एण्ड के. ई. प्रालिले ७ करोड ३९ लाख आठ हजार ६२७, बाबा बैजनाथ चिनी उद्योगले २५ लाख ५६ हजार ५१४, अन्नपूर्ण सुगर एण्ड जनरल इन्डस्ट्रीज प्रा.ली.ले ३० करोड, महालक्ष्मी सगर इण्डस्ट्रीज प्रालिले २१ करोड ४० लाख ५८ हजार २२६ रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । यो रकम भुक्तानी गराइ दिनका लागि कृषि मन्त्रालयले पुसको दोस्रो हप्ता गृह मन्त्रालयलाई पत्र पठाएको थियो ।  


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप