मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

उपसभामुख कसलाई ? : राजपा भन्छ – हामीलाई !

काँग्रेस पनि रेसमा
मङ्गलबार, ०७ माघ २०७६, १५ : ३९
मङ्गलबार, ०७ माघ २०७६

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुख पदमा आफ्नो दाबेदारी पेस गरेपछि विपक्षी दलको रुपमा उपसभामुख राष्ट्रिय जनता पार्टी नेपालले लिने सम्भावना बढेको छ । यद्यपि, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पनि यस रेसमा आफूलाई कायम राखेको छ ।

सभामुखको उम्मेदवार बनेका नेकपा स्थायी कमिटी सदस्य अग्नी सापकोटाका लागी राजपा नेपालबाट सो पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्ण समर्थक बनेका छन् । उम्मेदवार बनेका सापकोटाको प्रस्तावक सुवास नेम्वाङ र समर्थक कर्णसहित देव गुरुङ र ओन्सारी घर्तीमगर बनेका छन् ।

फरक दलबाट राजपा नेपाल सभामुखका लागी समर्थक बनेपछि उपसभामुख राजपाले पाउने कुराको चर्चा शुरु भएको छ । पुस २ गते राजपा र नेकपाबीच भएको दुई बुँदे सहमतिले नै उपसभामुख राजपा नेपाललाई दिने चर्चा राजनीतिवृतमा शुरु भएको थियो । आज सभामुखको उम्मेदवारका लागी समर्थक बनेपछि लगभग उपसभामुख दिने पक्का भएको राजपा नेपालका एक नेताले रातो बताए ।

रातोपाटीसँगको कुराकानी गर्दै राजपा नेपालका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले भने उपसभामुखका बारेमा नेकपासँग छलफल भइनसकेको बताए । यद्यपि, उनले उपसभासुख राजपाले पाउने सम्भावनालाई भने नकार्न नसक्ने बताए ।


‘राजनीतिमा हरेक कुराको सम्भावना हुन्छ । राजपा नेपालले उपसभामुख लिनु हुँदैन भन्ने कही उल्लेख छैन, लिनै पर्छ भन्ने पनि कही उल्लेख छैन,’ बताउँदै उनले समय आएपछि जे पनि हुनसक्ने प्रतिकृया दिए । राजपा नेपालले सभामुख उम्मेदवारको समर्थक बनेपछि यसलाई अगामी दिनमा दुई दलबीच हुने सहकार्य सकारात्मक रुपमा अगाडि बढ्ने कुराको सुरुवातको रुपमा लिनुपर्ने उनले बताए ।


‘राजनीतिमा हरेक कुराको सम्भावना हुन्छ । राजपा नेपालले उपसभामुख लिनु हुँदैन भन्ने कही उल्लेख छैन, लिनै पर्छ भन्ने पनि कही उल्लेख छैन,’ बताउँदै उनले समय आएपछि जे पनि हुनसक्ने प्रतिकृया दिए । राजपा नेपालले सभामुख उम्मेदवारको समर्थक बनेपछि यसलाई अगामी दिनमा दुई दलबीच हुने सहकार्य सकारात्मक रुपमा अगाडि बढ्ने कुराको सुरुवातको रुपमा लिनुपर्ने उनले बताए ।

नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले पनि उपसभामुखमा कसलाई समर्थन गर्ने भन्ने बारेमा छलफल भइनसकेको बताए । सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने व्यवस्थाका कारण सभामुखको निर्वाचन सम्पन्न भएपछि मात्रै उपसभामुखको निर्वाचनको प्रक्रिया अघि बढ्ने बताउँदै उनले यो विषय छलफलको क्रममा रहेको जिकिर गरे ।

राजपा नेपाललाई उपसभामुख दिने चर्चा चलेसँगै दावेदारहरुको पनि चहल पहल शुरु भएको छ । उपसभामुखमा महिला जाने भएपछि चन्दा चौधरी र अमृता अग्रहरीको चर्चा पार्टीभित्र शुरु भएको छ ।

यदि उपसभामुख पद राजपाले पाए, पहुँचका आधारमा चन्दा चौधरीले उपसभामुख हात पर्न सक्ने राजपा एक नेताले बताए । चौधरी महन्थ ठाकुर निकट नेतृ हुन् । पार्टीभित्र राम्रो पकड बनाएकी चौधरीको नेपालस्थित भारतीय दूतावाससँग पनि राम्रो सम्बन्ध रहेको ती नेताको भनाइ छ । केही समयअघि मात्र दूतावासबाट दिइने छात्रवृति चौधरीले आफ्नो चुनावी क्षेत्रमा कार्यकर्तामार्फत वितरण गराएको कुरा बाहिर आएको थियो ।

‘चन्दा चौधरी अमृता अग्रहरीभन्दा धेरैपछि मात्र राजनीतिमा आएकी हुन् । अग्रहरी गजेन्द्रनारायण सिंहसँगै राजनीतिमा आएकी हुन् । त्यसैले राजनीतिक योगदानको आधारमा दिने हो भने उनलाई नै दिनुपर्ने हो,’ पार्टीका एक महासचिवले रातोपाटीसँगको कुराकानीमा भने, ‘अब अध्यक्षमण्डलले के का आधारमा निर्णय गर्छ त्यो हेर्न बाँकी छ ।’

माघ ९ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश २ मा नेकपा र राजपाबीच चुनावी तालमेल भइसकेको छ । मधेस केन्द्रीत दल समाजवादी पार्टी सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अर्को मधेसकेन्द्रीत दल राजपा नेकपा सरकारसँग नजिकिइएको छ । अघिल्लो पटक आफू प्रधानमन्त्री रहेका बेला सबैभन्दा धेरै चिढिएको राजपासँग प्रधानमन्त्री ओलीले यो पटक सुमधुर सम्बन्ध बनाइरहेका छन् ।

सभामुख र उपसभामुख फरक दल र फरक लिङ्गका आधारमा हुनुपर्ने संवैधानिक व्यवस्था अनुसार अब उपसभामुख नेकपाबाहेकको दलबाट महिला हुनुपर्नेछ । सभामुखको सपथपछि बस्ने संसद बैठकले उपसभामुखको निर्वाचन प्रक्रिया अघि बढाउनेछ ।       

काँग्रेसको आफ्नै दाऊ

यता, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पनि उपसभामुख पद आफूले लिनका लागि कसरत सुरु गरेको छ । उपसभामुख पदमा दाबेदारी प्रस्तुत गर्ने रणनीतिका साथ काँग्रेसले सभामुख पदमा उम्मेदवार खडा गरेन । रातोपाटीसँग कुराकानी गर्दै काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले भनेका थिए, ‘सभामुख र उपसभामुख दुईवटा फरक दलको र फरक लिङ्गको हुनुपर्छ । सत्तारुढ नेकपाले सभामुखमा उम्मेदवारी दियो भने उपसभामुखमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले उम्मेदवारी दिँदा सहज हुन्छ ।’ सभामुख र उपसभामुखमा एउटै पार्टीबाट उम्मेदवारी दिन नमिल्ने संवैधानिक प्रावधान अनुसार काँग्रेसले उपसभामुखमा उम्मेदवारी दिने उनले बताए । यद्यपि संसदीय दलले ठोस निर्णय भने लिई नसकेको उनको भनाइ थियो ।

यसैबीच, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । प्रचण्ड निवास खुमलटारमा मंगलबार प्रचण्ड र पौडेलबीच भेटवार्ता भएको हो । भेटमा नेता पौडेलले उपसभामुख काँग्रेसलाई प्रस्ताव गर्न आग्रह गरेका थिए । ‘सहकार्य गरेर जाउँ, सभामुखमा नेकपाको उम्मेदवारी परेकाले अब उपसभामुख काँग्रेसलाई प्रस्ताव गर्दा राम्रो हुन्छ,’ पौडेलले प्रचण्डसँग कुराकानीका क्रममा भनेका थिए । पौडेलको यस्तो प्रस्ताव सुनेका प्रचण्डले पार्टीमा छलफल गरेर अघि बढ्न आफु तयार रहेको जवाफ दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप