शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

नेकपाको अनुशासन आचारसंहिता कागजमा निर्मम, व्यवहारमा अराजक !

अनुशासनको आचारसंहिता ‘सौ चुहा खाके चला बिल्ली हज को’ नबनोस् !
मङ्गलबार, ०७ माघ २०७६, १५ : ०९
मङ्गलबार, ०७ माघ २०७६

नेकपाले अन्ततः आफ्ना नेता कार्यकर्ताहरुका लागि ११ बुँदे आचारसंहिता जारी गरेको छ । पार्टीमा हावी अनुशासनहीनताको बनमारा झारलाई उखेल्न ल्याइएकोे त्यस आचारसंहितामा प्रयुक्त भाषा, शब्दावलीहरु रोचक, रमाइलो र कर्णप्रिय छन्, त्यसलाई सरसर्ती पढ्दा–सुन्दा एक किसिमको भिन्दै आदर्शवादी रोमाञ्च मनमा पैदा हुन्छ । 

उदाहरणका लागि अरुसँग बोलिने भाषा मर्यादित, सरल र मिठासपूर्ण हुनुपर्ने, कसैलाई पनि हेलाहोचो, एकारान्त तथा तँ भन्न पूर्णरुपले बन्द गर्नुपर्ने उल्लेख छ ।  छोरी, छोराको विवाहलाई सरल मितव्ययी बनाउनुपर्ने, जन्मदिन, ब्रतबन्ध, पास्नीजस्ता परम्परागत संस्कारलाई घरपरिवारमा मात्र सीमित गर्नुपर्ने समेत आचारसंहितामा उल्लेख गरिएको छ । रोचक त के छ भने पछिल्लो समय नेकपाका नेता कार्यकर्ताको यस्ता संस्कारमा देखिने रवाफले जिब्रो टोक्नुपर्ने अवस्था छ । 

यतिमात्रै होइन नेकपाको आचारसंहितामा प्रत्येक सदस्यले आफ्नो दैनिकीमा सादा जीवन र उच्च विचारलाई प्राथमिकतामा राख्नुपर्ने प्रावधानसमेत राखिएको छ । सबैलाई समान व्यवहार गर्नुपर्ने, श्रममा विश्वास गर्नुपर्ने, त्यसमा पनि नेकपाका सदस्यले अरुले भन्दा अफ्ठ्यारो काम गर्नुपर्ने, पार्टीलाई कर तिर्नुपर्ने, राज्यलाई सूचनाहरु दिनेजस्ता विषय पनि छन् । नेकपाको ११ बुँदे आचारसंहितामा उल्लेखित कतिपय विषय त व्यवहारमा कार्यान्वयन हुनै नसक्ने खालको रहेको भन्दै सार्वजनिक टिकाटिप्पणी समेत भइरहेको अवस्था छ । 

हुन त नेकपा बनेदेखिकै त्यसका शीर्षस्थ नेताहरुले बारम्बार रोइलो गर्दै आएको कुरा नै पार्टीमा बढ्दै गइरहेको अनुशासनहीनता पनि हो । विशेषतः पार्टीमा अनुशासनहीनता बढेको र सोही कारण पार्टीले सही दिशा पक्रन नसकेको, जनतामाझ पार्टी अलोकप्रिय बन्ने खतरा पैदा भइरहेको उनीहरुको भनाइको अन्तर्य रहँदै आएको छ । 

अझ नामै तोकेर भन्दा हालका कार्यकारी अध्यक्ष प्रचण्डले त सार्वजनिक मञ्चहरुमै पटक पटक भनेका कुराको सार पनि पार्टीमा अनुशासनको स्थिति दयनीय छ, हिजो अनुशासन कडा हुँदा पार्टीले विकास गरेर अहिलेको अवस्थामा आइपुगेको तर अहिले अनुशासनहीनता बढेर पार्टी अस्तव्यस्त बन्न पुगेको भन्ने खालको नै छ । यस सन्दर्भबाट पनि अहिलेको आचारसंहितालाई हेरिनु र बुझिनुपर्छ ।

तत्कालीन एमाले र माओवादी मिलेर नेकपाको निर्माण भएपछि उसको लागि चीनको कम्युनिष्ट पार्टीको अनुशासन ठूलो आदर्शको विषय भएको छ । नेकपाका शीर्ष नेताहरु नै सार्वजनिक मञ्चहरुमा चीनको कम्युनिष्ट पार्टीको अनुशासनको प्रशंसा गर्दै आउने गरेका छन् । कतिसम्म भने गत असोजमा नेकपाले चिनियाँ कम्युनिष्ट पार्टीसँग गरेको अन्तक्र्रियामा एउटा सत्र त अनुशासनको बारेमा नै थियो, जसमा चिनियाँ कम्युनिष्ट नेताहरुले त्यसबारेमा प्रशिक्षण नै दिएका पनि थिए । 


यस अर्थमा अहिले नेकपाले जारी गरेको आचारसहिंता धेरै हदसम्म चीनको कम्युनिष्ट पार्टीको आचारसंहिता र अनुशासनले ओतप्रोत छ भन्दा फरक पर्दैन ।

निश्चितै रुपमा भन्नुपर्दा पार्टीमा अनुशासन हुनुपर्छ र पार्टीका नेता कार्यकर्ताहरु अनुशासनको फलामे डोरीमा बाँधिनै पर्छ । 

अनुशासनहीनताको किटाणुलाई बेलैमा उपचार गरिएन भने त्यसले पार्टीलाई घरको न घाटको बनाउँदै अन्ततः आर्यघाटको ब्रम्हनालमा सुताइछाड्ने कुरा पक्का हो । यस अर्थमा भन्नुपर्दा नेकपाले आफ्ना नेता कार्यकर्ताहरुका लागि अनुशासनको आचारसंहिता जारी गर्नु प्रशंसनीय काम हो र त्यसको स्वागत नै गरिनुपर्छ । 

तर, सँगसँगै भन्नैपर्ने कुरा के पनि हो भने अनुशासनको त्यो आचारसंहिता पण्डित, मुल्ला वा पास्टरहरुले जप्ने धार्मिक तोत्र जस्तै आदर्शवादी हैन, सही मानेमा लागू गर्न सकिने यथार्थ र वस्तुवादी हुनुुपर्छ । हेक्का राख्नैपर्ने कुरा के हो भने आदर्शवादी शब्दजालमा बुनिएका वाक्यहरु सुन्दा त कर्णप्रिय नै लाग्छ तर जब त्यो यथार्थमा रुपान्तरित गर्नै नसकिने खालका हुन्छ र बन्न पुग्छ, तब त्यसले नेता कार्यकर्ताहरुलाई अनुशासनमा बाँध्ने कुरा त परै जाओस्, त्यो सार्वजनिक हाँसो र ठट्टाको विषय मात्रै बन्न पुग्छ । 

नेकपाले जारी गरेको अनुशासनको आचारसंहिता धर्मशास्त्र, नीतिशास्त्रका श्लोकहरु जस्तै पढ्दा सुन्दा निक्कै आदर्शवादी, रोचक र वाहा भन्न लायकका छन् । भन्ने नै हो भने त्यसमा लेखिएका हरेक अक्षर र शब्दहरु आदर्श, नैतिकता र उच्च भावनाले ओतप्रोत छन् । तर मुख्य सवाल के हो भने आचारसंहिता लागू गर्ने सवालमा त्यही कुरा मात्रै निर्णायक हुन सक्दैन ।

 आचारसंहितामा लेखिएका कुराहरुलाई पार्टीमा लागू गराउने हो भने पार्टीको शीर्षस्थानमा बसेका नेताहरुबाटै आफूलाई नमूनाको रुपमा प्रस्तुत गर्ने गरी त्यसको शुरुवात हुनु जरुरी छ । अन्यथा, भारीभरकम आदर्शवादी शब्दजालले भरिएका आचारसंहिता तल्ला तहका नेता कार्यकर्ताहरुका लागि अन्तर्मनदेखि नै सम्मान र सद्भाव जागेर पालना गर्नुपर्ने विषयभन्दा पनि नेतृत्वको जायज÷नाजायज कदमहरुलाई समर्थन गर्न नसक्ने कार्यकर्ताहरुलाई दण्डित गर्ने नागपाशको अनुभूति हुन थाल्ने निश्चित छ  । 

तलको पानी सफा हुनको लागि मुहान सफा हुनैपर्छ । माथि मुहान चाहिँ धमिलो हुने तर तल चाहिँ संग्लो पानीको अपेक्षा गर्नु वस्तुवादी हुनै सक्दैन । यस्तो स्थितिमा परिवर्तन नआउने हो भने भन्न करै लाग्छ, त्यो अनुशासनको आचारसंहिता लागू हुन सम्भव छैन । त्यसको नियति पनि अन्ततः टुकुचाको गन्देनालामा बगेर जाने नै बन्नपुग्छ । 

मूलतः अनुशासन र आचारसंहिता भनेको कानूनी प्रावधान र संगठनको डण्डाले मात्रै लागू हुने चीज हैन । अनुशासन भनेको त संस्कृति, आचार, व्यवहारबाट निसृत हुने त्यो अविरल धारा हो, जसलाई सिंगो पार्टीपंक्तिले अन्तरमनदेखि नै स्वीकारेर त्यसमा हाँसीहाँसी डुबुल्की लगाउन निरन्तर तयार हुन्छन् । 

जब अनुशासनलाई सही संस्कार, संस्कृति र आचार व्यवहारको भट्टीमा खारिँदैन, आचार संहिताको पालना गराउनको लागि उदाहरण बनेर प्रस्तुत हुनुपर्नेहरु आफैं चाहिँ आचारसंहिताले निर्दिष्ट गरेको भन्दा चरम विपरीतखालका जीवनशैली, संस्कारहरुले ओतप्रोत भइरहन्छन् भने त्यो बकवास बन्न पुग्छ ।

 कम्युनिष्ट संस्कृतिको कुरा गर्ने, सामूहिकताको पक्षपोषण गर्ने तर आफू स्वयं चाहिँ चरम व्यक्तिवादको अन्धदौडमा कुद्ने, राज्यसत्ताको सुख सुविधा भोगका लागि अपहत्ते गर्ने र निजी सम्पत्ति थुपार्ने मोहको दलदलमा भासिएरै बस्नेमा रमाउने अहिलेको विडम्बनापूर्ण स्थितिलाई तोड्ने, अझ कार्यकारी अध्यक्ष प्रचण्डको भाषामा भन्दा ‘क्रमभंग’ नगर्ने हो भने त्यो विरोधाभाषपूर्ण बन्न पुग्छ । 

साँच्चै नै आचारसंहितालाई लागू गराउने हो भने नेपालका शासनसत्तामा पुग्ने अवसर पाएका वर्गले हालसम्म अपनाइरहेको विलासी जीवन शैली, शीरदेखि पाउसम्मै चुर्लुम्म डुब्ने गरी ओढेको सामन्ती चरित्र यतिखेर जनतालाई सबैभन्दा बढी बिज्याउने विषयवस्तु बनेको छ भन्ने कुरालाई नेकपाका नेतृत्व वर्गले सबैभन्दा पहिले अनुभूत गर्न सक्नुपर्छ । 

सबैले थाहा पाएको र जानेकै कुरा हो कि हिजोको निरंकुश राजतन्त्र, पञ्चायतन्त्रले राज्यका स्रोतसाधनहरुको नाङ्गो दोहन गरेको थियो । अहिले पनि त्यो कम भएको छैन, बरु उल्टै भयानक र अपारदर्शी ढङ्गले बढेर आएको छ । 

 खासगरी, राजनीतिकै आवरणमा राज्यका स्रोतसाधनहरुको नाङ्गो दोहान हुने प्रवृत्तिलाई हालको सत्तारुढ दल नेकपाले पनि तोड्न सकेको छैन, बरु उल्टै हिजो राजतन्त्र, पञ्चायततन्त्र र २०४६ पछिको लोकतन्त्र र गणतन्त्रमा त्यस प्रवृत्तिले झनै निरन्तरता पाएको छ । त्यसलाई चिर्ने, तोड्ने र भङ्ग गर्ने दिशामा नेकपाको पार्टी संयन्त्रको जोडबल हुनुपर्नेमा त्यसको ठीक विपरीत राज्यका स्रोतसाधनहरुको दोहनमा नेकपाकै नेताकार्यकर्ताहरु भगीरथ प्रयत्नका साथ सामेल भएका छन् भन्ने जनताको आवाजलाई गलत साबित गर्ने दिशातिर नेकपाले कदम चाल्न र सिंगो पार्टी पंक्तिलाई त्यसदिशातर्फ मोड्ने इमान्दार प्रयत्न गर्न सक्छ ? यस कुराको जवाफले पनि आचारसंहिताको सार्थकतालाई सिद्ध गर्नेछ । 
त्यसैले अहिले नेकपाले अनुशासनको आचारसंहिता जारी गर्नुभनेको कुनै नौलो, ठूलो र बहादुरीको काम होइन । यो त त्यो बेला सार्थक र बहादुरीको काम ठहरिनेछ, जब आचारसंहिताले बोलेको, बकेको र लेखेको

कुराहरुलाई नेकपाका शीर्षस्थ तहका नेताहरुदेखि भुइँतहका कार्यकर्ताहरुसम्मले आफ्नो संस्कार, आचार, व्यवहार र जीवनशैलीको रुपमा व्यवहारिक रुपमा नै अपनाउँदै जानेछन् र अन्ततः त्यसमा लेखिका कुरालाई व्यवहारबाट सही साबित गरेर देखाउने छन् ।

 लिखतमा आचार संहिता जारी गरेर आदर्श एवं अनुशासनका आदर्शवादी डिंग हाक्ने तर व्यवहारमा चाहिँ उही हिजोको सामन्ती, चुसाहा, हेपाहा, चरम व्यक्तिवादी सोच र संस्कृतिको ‘लिगेसी’लाई शीरदेखि पाउसम्मै चुर्लुम्म ओडेर आपरदर्शी जीवनशैली अपनाएर बसिबस्ने हो भने यस्तो अनुशासन र आचारसंहिता पालनाका कुरा ‘सौ चूहा खाके चला बिल्ली हज को’ मात्रै साबित हुनेछ ।

त्यसैले आजको यक्ष प्रश्न भनेकै के हो भने, सुन्दा र पढ्दा कर्णप्रिय लाग्ने आचारसंहिताका बुँदाहरुलाई नेकपाका नेताहरुले आफ्नो जीवनमा लागू गर्ने इमान्दार प्रयत्न गर्न सक्ला कि नसक्ला ? के उनीहरु अहिले अपनाउँदै आएका हिजो ‘सामन्ती र राजतन्त्रवादी’ भनिएका विलासी जीवनशैली, जसले उनीहरुलाई जनतासँगै कटाउँदै लगेको छ र उनीहरुभित्र जनताबाट असुरक्षाको हिनग्रन्थी पैदा भएको छ, लाई आजकै मितिदेखि चट्क्कै त्यागेर भुइँतहका जनतासँग एकाकार हुने गरी कम्युनिष्ट जीवनशैली र संस्कार अपनाउन तयार हुन्छन् त ? यो प्रश्नको उत्तरले मात्रै आचारसंहिता जारी गर्नुको सार्थकतालाई सही अर्थमा सिद्ध गर्नेछ भन्ने हामीलाई लाग्छ । नत्र व्यवहारमा अराजकता र काजगमा निर्मम भएको पार्टीकै रुपमा सीमित हुनेमा दुई मत छैन । हैन भने ‘नेकपामा कडा छ’ भन्नेखालको हासोठट्टा हुनु बाहेक अरु केही हुनेछैन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप