बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बेलारुसलाई रुसमा मिलाउन चाहन्छन् पुटिन ?

मङ्गलबार, ०७ माघ २०७६, ११ : ४०
मङ्गलबार, ०७ माघ २०७६

मस्को । बेलारुसको राजधानी मिंस्कमा २० डिसेम्बरका दिन करिब दुई हजार मानिस भेला भएर ‘साम्राज्यवादी रुस’ को विरोधमा नारा लगाइरहेका थिए । 

उनीहरु रुस र बेलारुसबीच सम्भावित गठजोडको विरोधमा प्रदर्शन गर्दै थिए । त्यतिबेला दुई देशबीच आर्थिक सम्बन्धलाई लिएर छलफल भइरहेको थियो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोबीच सेन्ट पीटसबर्गमा भेटवार्ता भएको थियो । दुवै राष्ट्रपतिबीच १५ दिनको अन्तरालमा दोस्रो पटक भेटवार्ता भएको थियो ।

रुसी राष्ट्रपति पुटिनले भेटवार्तापछि ‘सहमति नजिक’ पुगेको प्रतिक्रिया दिएका थिए । यद्यपि रुसी वित्तमन्त्री मेक्सिम ओरेश्किनले भने दुई पक्षबीच तेल र ग्यासका विषयमा सहमति जुट्न नसकेको प्रतिक्रिया दिएका थिए ।

प्रदर्शनकारीहरु सोभियत संघ विघटनपछि प्राप्त स्वतन्त्रतालाई दुवै देशबीच बढ्दो आर्थिक सम्बन्धले खोस्ने हो कि भन्नेमा चिन्तित थिए । प्रदर्शनकारीहरुको हातमा प्लेकार्ड थियो । तिनमा लेखिएको थियो, ‘पहिला क्राइमिया र अब बेलारुस, कब्जा बन्द गर ।’ दुवै देशबीच सम्भावित गठजोडलाई लिएर बेलारुसमा विरोध प्रदर्शन जारी छ ।

पुटिनको योजना के छ ?
२०१४ मा क्राइमिया प्रायद्वीपलाई रुसमा मिलाउने र पूर्वी युक्रेनमा पृथकतावादीहरुको समर्थनका कारण बेलारुसमा पुटिनका बारेमा सन्देह बढ्दै गएको छ । पुटिन पछिल्लो दुई दशकदेखि रुसको सत्तामा छन् ।

उनको यो कार्यकाल सन् २०२४ सम्म रहने छ । त्यसपछि पनि सायद उनी सत्तामै रहनेछन् । किनकि संविधान संशोधनका लागि प्रधानमन्त्रीसमेत पुरै मन्त्रिपरिषदको राजीनामा लिइएको छ ।

८ डिसेम्बरमा रुस र बेलारुसका दुई शीर्ष नेताको उपस्थितिमा ‘युनियन स्टेट अफ रुस र बेलारुस’ को २० औँ वार्षिकोत्सव मनाएका थिए । दुवै देशबीच ८ डिसेम्बर १९९९ मा यो सन्धि भएको थियो ।

‘युनियन स्टेट अफ रुस र बेलारुस’ को अर्थ बेलारुसलाई रुसमा मिलाउने नै हो जो काजगमै सीमित रहँदै आएको छ । दुई नेताबीच एक पटक फेरि छलफल सुरु भएपछि बेलारुसका जनतामा डर बढेको हो । ‘युनियन स्टेट अफ रुस र बेलारुस’लाई दुई देशबीच राजनीतिक, आर्थिक र सामाजिक मेलमिलापका रुपमा पनि हेरिएको छ ।

बेलारुसका पत्रकार फ्रानक विकोर्का २० डिसेम्बरमा भएको प्रदर्शनमा उपस्थित थिए । उनले भने, ‘प्रदर्शन अप्रत्यासित थियो, मैले वर्षौँदेखि यस्तो प्रदर्शन देखेको थिइनँ ।’ उनले उक्त प्रदर्शनलाई सन् २०११ को प्रदर्शनसँग जोडेर हेर्न सकिने बताए ।

२०११ को प्रदर्शन
२०११ मा हजारौँ प्रदर्शनकारी बेलारुसको सडकमा उत्रिए । उनीहरु राष्ट्रपति अलेक्जेन्डरको राजीनामा माग गर्दै दुई महिनासम्म प्रदर्शन गरिरहे । अलेक्जेन्डर १९९४ देखि बेलारुसको सत्तामा छन् । युरोपमा बेलारुसलाई नै अन्तिम तानाशाही शासनका रुपमा लिइन्छ ।

अमेरिकी रक्षा मन्त्रालयमा काम गर्ने बेलारुसका एक पत्रकार भन्छन्, ‘सबैभन्दा रोचक पक्ष यो छ कि डिसेम्बरमा भएको प्रदर्शनमा कुनै दमनकारी कारवाही भएन । यदि त्यो प्रदर्शनमा राष्ट्रपति अलेक्जेन्डरको समर्थन थियो भने सायद उनले राष्ट्रपति पुटिनलाई सन्देश दिन कोसिस गरिरहेका थिए कि बेलारुस कहिल्यै पनि रुसको अधिकार क्षेत्रमा आउन चाहँदैन ।’

केही यस्ता कारणहरु देखिएका छन् जसका आधारमा पुटिन बेलारुसलाई रुसमा मिलाउन चाहन्छन् । अघिल्लो साता सन् २०१५ मा साहित्यतर्फ नोवेल पुरस्कार विजेता स्वेतलाना अलेक्सिभिचले बेलारुसलाई रुसमा मिलाउने सम्भावित योजनाको निन्दा गरेकी थिइन् ।

बेलारुसको राजधानी मिंस्कमा बेलारुसलाई रुसमा मिलाउने विषयमा खुब चर्चा हुने गरेको बताइन्छ । सार्वजनिक स्थलमा हुने चर्चाअनुसार पुटिनले बेलारुसलाई रुसमा मिलाउन सकेमा सन् २०२४ पछि पनि सत्तामा रहिरहन उनलाई ठूलो मद्दत पुग्नेछ ।

रुसको संविधानमा एक व्यक्ति दुई कार्यकालभन्दा बढी राष्ट्रपति हुन पाउँदैन ।

क्राइमियालाई यस्तै गरेका थिए पुटिनले
बेलारुसका पत्रकार फ्रानक विकोर्काका भन्छन्, ‘पुटिन बेलारुसलाई दोस्रो क्राइमिया बनाउन चाहन्छन् । उनी कुनै युद्ध चाहन्छन् ताकि उनको लोकप्रियता बढोस् । चेचेन्या, युक्रेनमा पनि पनि पहिला यस्तै भएको थियो । रुसी राष्ट्रपतिलाई बेलारुस रुसभित्रै हुनुपर्छ भन्ने लाग्छ । रुस बेलारुसबाट धेरै भिन्न छैन तर दुई दशकअघि जस्तो थियो, त्यस्तो पनि अहिले छैन । विरोध प्रदर्शनले पनि त्यो प्रमाणित गर्दछ ।’

तर सर्वेक्षणले धेरैकुरा प्रष्ट पारेको छ । एनालिटिकल वर्कशप अफ बेलारुसले हालै एक सर्वेक्षण गराएको थियो । यसको नतिजा गत अगस्टमा प्रकाशित भएको थियो । सर्वेको नतिजाअनुसार ७५ प्रतिशतभन्दा बढी मानिसले रुससँगको मित्रतापूर्ण सम्बन्ध, खुला सीमाको समर्थन गरेका थिए । उनीहरु दुई देशबीच न प्रवेशाज्ञा, न आयात–निर्यात कर चाहन्छन् । यद्यपि उनीहरु बेलारुसलाई स्वतन्त्र देशकै रुपमा चाहन्छन् । केवल १५.६ प्रतिशत मानिसले मात्र बेलारुसलाई सम्प्रभु र स्वतन्त्र देशका रुपमा समर्थन गरे, जसले रुसको कुनै प्रकारको हस्तक्षेप नचाहेको देखिन्छ ।

मस्कोमा १९ डिसेम्बरमा आयोजित पत्रकार सम्मेलनमा रुसी राष्ट्रपति पुटिनले भनेका थिए, ‘बेलारुस र युक्रेनमा मानिस रुसीजस्तै छन्, भाषा, नश्ल, इतिहास र धर्मका मामिलामा कुनै भिन्नता छैन । त्यसैले म बेलारुस रुसको निकट आएकोमा खुशी छु ।’ उनको यो भनाइलाई रणनीतिक रुपमा हेरिएको छ ।

रुसस्थित बीबीसी टिमकी विताली शेभचेन्को भन्छिन्, ‘पुटिन आफूलाई सोभियत युनियनको उत्तराधिकारी ठान्छन् । उनी सोभियत युनियन पतन हुनु निकै नराम्रो थियो भन्ने ठान्छन् । उनी फेरि त्यसलाई बहाल गर्ने लक्ष्यमा छन् ।’

रुसी जनताको भावना बुझेका एक पत्रकार भन्छन्, ‘रुसको एउटा सम्मानजनक स्थिति छ, पुटिन बोल्दा मानिसहरु सुन्छन्, पुरानो चमक हासिल भएको हेर्न चाहन्छन् । पुटिनले युक्रेन, जर्जिया, बेलारुस या अमेरिकालाई लिएर कुनै हस्तक्षेप गर्दा रुसी जनता आफ्नो देशको प्रभावका रुपमा हेर्छन् ।’

बेलारुसका राष्ट्रपतिको भूमिका
रुसका साथ युनियनलाई लिएर बेलारुसका राष्ट्रपति अलेक्जेन्डरको राय परिवर्तन हुँदै आएको छ । सोचीमा पुटिनसँग भेट हुनुअघि उनले आफूहरु कुनै पनि मुलुकको हिस्सा नबन्ने अडान लिँदै आएका थिए । तर उनी यसबारेमा पहिला अर्कै सोचमा थिए । १९९० को दशकमा उनी दुई देशबीच एकीकरणको समर्थक थिए ।

पत्रकार विकोर्काका अनुसार बेलारुसका राष्ट्रपति कुनै ‘सुपरनेशनल अर्गनाइजेसन’ माथि नियन्त्रण चाहन्छन् । उनले भने, ‘१९९० को दशकमा जब बोरिस यल्तसिन एक युनियन बनाउन सहमत भए, त्यतिबेला अलेक्जेन्डरलाई लाग्थ्यो कि नयाँ युनियनको अध्यक्ष म आफैँ हुन्छु । तर २० वर्षपछि उनलाई महसुस भयो कि यो कहिल्यै सम्भव हुनेछैन । उनको उमेर गइसक्यो, पहिलेजस्तो लोकप्रियता पनि रहेन । अब सबैकुरा गुमाउने जोखिम लिनुभन्दा बेलारुसकै राष्ट्रपति बनिरहन रुचाउँछन् ।’

स्लोभाकियास्थित एजजीओ ‘ग्लोबसेक’ मा विदेश नीतिका विश्लेषक अलिसा मुजर्गस पनि पत्रकार विकोर्काको तर्कसँग सहमत छन् । उनी भन्छन्, ‘बेलारुस कयौं कुरामा रुसमाथि निर्भर छ । खासगरी ऊर्जाको मामिलामा । केही वर्ष अघिसम्म हामी विलयको कुरा धेरै सजिलोगरी सुन्थ्यौँ । हामीले दुवै राष्ट्रपतिबीच कयौँ भेटवार्ता पनि देख्यौँ ।’

बेलारुस अर्थव्यवस्था र ऊर्जाको सम्बन्धमा पूर्ण रुपमा रुससँग निर्भर छ । बेलारुसलाई रुसले नै सबैभन्दा धेरै ऋण दिन्छ । रुस यो निर्भरतालाई हतियारका रुपमा प्रयोग गर्दछ ।

गत डिसेम्बरमा पुटिनले धम्की दिदैँ भनेका थिए, ‘युनियन स्टेटमा सामेल नभई बेलारुसलाई सहुलियत दरमा ग्यास दिनुको अर्थ छैन । हामी लामो समयसम्म बेलारुसलाई अनुदान दिएर गल्ती गर्ने पक्षमा छैनौँ । किनकि युनियनको हिस्सा बन्न बाँकी नै छ ।’

मुजर्गस भन्छन्, ‘बेलारुस रुसको हिस्सा हो भन्ने सोचलाई पुटिनले कहिल्यै त्यागेका छैनन् ।’

अर्कोतिर बेलारुसका नेताहरु रुसले यस दिशामा सफलता नपाओस् भनेर पहल गर्न थालिसकेका छन् । यसैलाई मध्यनजर गर्दै बेलारुसले चीन र पश्चिमी मुलुकसँग सम्बन्ध बढाएको छ । बेलारुसको विदेशमन्त्रालयका अनुसार १६ डिसेम्बरमा बेलारुसले चीनसँग ५० करोड डलर ऋण लिएको छ ।    

यस अतिरिक्त बेलारुसले नेटो सदस्य राष्ट्रहरुसँग सम्बन्ध सुधार्ने कोसिस गरिरहेको छ । अमेरिकी कुटनीतिज्ञमाथिको प्रतिबन्ध पनि हटाइसकेको छ । यस्ता परिदृष्यलाई धेरैले रुससँग बेलारुसको निर्भरता घटाउने कोसिसका रुपमा लिएका छन् । 
–बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप