शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नयाँ बसपार्क शुद्धीकरण अभियान : चार महिनामा ७२१ पक्राउ

मङ्गलबार, ०७ माघ २०७६, ११ : २२
मङ्गलबार, ०७ माघ २०७६

मुलुकको राष्ट्रिय बसपार्कका रूपमा रहेको गोङ्गबुँस्थित नयाँ बसपार्कमा शुद्धीकरण अभियान सञ्चालन गरिएको छ । देशका अधिकांश जिल्लाका मानिस राजधानी भित्रिएपछि पहिलोपटक पुग्ने स्थानका रूपमा रहेको नयाँ बसपार्क क्षेत्रमा हुने विकृति, विसङ्गति र लुटपाटको अन्त्यका लागि शुद्धीकरण अभियान सञ्चालन गरिएको हो ।
 
होटल मिलाइदिने भन्दै यात्रुलाई जबर्जस्ती तानेर दुःख दिने बिचौलिया, क्याबिन रेष्टुरेन्टमा बढी रकम लिएर ठगी गर्ने, दोहोरी साँझ सञ्चालनको नाममा सुतेका व्यक्तिलाई ‘डिस्टर्व’ गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएर कारवाही गरेको छ । प्रहरीले सोमबार मात्र होटल तथा रेष्टुरेन्ट सञ्चालक र बिचौलियालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा मित्रनगर देउराली खाजाघरका सञ्चालक जितेन्द्रप्रसाद कँडेल, रिलेशन रेष्टुरेन्टका सञ्चालक प्रेमबहादुर अछामी, मनोज खाजाघरका सञ्चालक नवीन तामाङ, सृष्टि सुब्बा खाजाघरका सञ्चालक धनबहादुर लिम्बू र बागलुङ कालिका खाजाघरका सञ्चालक कुमारी थापा छन् । पक्राउ पर्ने बिचौलियामा राजेश सुनार, मिलन तामाङ, सुवास तामाङ, प्रेम तामाङ, करन सापकोटा, नरेन्द्र किसान र सुरेश तामाङ रहेका छन् । 

महानगरीय प्रहरी वृत्त महाराजगञ्जले सामुदायिक सेवा केन्द्र गोङ्गबुँ, काठमाडौँ महानगरपालिका–२६, टोखा नगरपालिका–९ र नयाँ बसपार्क क्षेत्रमा क्रियाशील सङ्घसंस्थाको सहकार्यमा गोङ्गबुँ नयाँ बसपार्क क्षेत्रमा हुने विकृति अन्त्यका लागि सामूहिक जाँच तथा प्रचारप्रसारलाई तीव्र पारेको छ । वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले चार महिनाको अवधिमा नयाँ बसपार्क क्षेत्रबाट अनैतिक क्रियाकलापमा लाग्ने ७२१ जनालाई नियन्त्रणमा लिएर कारवाही गरेको बताए ।
 
“नियन्त्रणमा लिइएका ७२१ मध्ये २६१ लाई अभद्र व्यवहार, चोरी, मानव बेचबिखन र लागुऔषध कारोवारमा मुद्दा चलाएका छौँ”, उनले भने । मुद्दा चलाइएकामध्ये २०६ पुरुष, ३४ महिला र २१ तेस्रोलिङ्गी छन् । 

नयाँ बसपार्क सञ्चालनको जिम्मा लिएको ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष इञ्जिनीयर दीपक कुँवरले नयाँ बसपार्कलाई राष्ट्रिय गौरवको बसपार्क बनाउन नयाँ बसपार्कभित्रको विकृति, विसङ्गति अन्त्य गर्नुपर्ने बताए । “नयाँ बसपार्क विस्तारै सुध्रिँदै गएको छ, बसपार्क क्षेत्रमा हुने अनैतिक क्रियाकलाप र बिचौलिया रोक्नु जरुरी छ”, उनको भनाइ थियो ।
 
नयाँ बसपार्क क्षेत्र रहेको काठमाडौँ महानगरपालिका–२६ का अध्यक्ष ख्यामराज तिवारीले ठमेल आउने पर्यटकलाई बसपार्कमा आउने वातावरण निर्माण गर्नेगरी नयाँ बसपार्कलाई सुधार गर्नुपर्ने बताए । “नयाँ बसपार्क क्षेत्र सुधार भएर पर्यटक आएमा यस क्षेत्रका बासिन्दाको आम्दानीसमेत वृद्धि हुन्छ”, उनले भने ।
 
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले गोङ्गबुँ क्षेत्रमा हुने विकृति, विसङ्गति अन्त्यका लागि थप प्रहरी परिचालन गरिएको बताए । “नयाँ बसपार्कलाई व्यवस्थित बनाउनु हामी सबैको दायित्व हो, बसपार्क व्यवस्थित भए मात्र राजधानी व्यवस्थित हुन्छ”, उहाँले भन्नुभयो । कूल १६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कमा देशका विभिन्न भागबाट दैनिक एक हजारभन्दा बढी बस आवतजावत गर्दै आएका छन् । नयाँ बसपार्क क्षेत्रमा हाल ५०० भन्दा बढी होटल, ५० भन्दा बढी दोहोरी साँझ रेस्टुरेन्ट र एक हजारभन्दा बढी खाजाघर सञ्चालनमा छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप