शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भ्रमण वर्ष सफल पार्न पर्यटन महोत्सव र दौड

सोमबार, ०६ माघ २०७६, १९ : ३०
सोमबार, ०६ माघ २०७६

पाल्पामा आन्तरिक एवं बाह्य पर्यटक भित्र्याउने उद्देश्यले पर्यटन महोत्सव हुने भएको छ । नेपाल पर्यटन भ्रमण वर्ष २०२० लाई सफल बनाउनका लागि एक सातासम्म कार्यक्रम आयोजना गरी यही आउँदो फागुनको तेस्रो साता महोत्सव आयोजना गरिने रामपुर नगरपालिकाका प्रमुख तथा पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष रमणबहादुर थापाले जानकारी दिए ।

आउँदो फागुनको २४ गतेदेखि आयोजना हुने महोत्सवका अवसरमा कालीगण्डकी नदीमा जलयात्रा (¥याफ्टिङ), रामपुर बाहुनडाँडाबाट प्याराग्लाइडिङको व्यवस्था तथा यस क्षेत्रका जातजाति तथा रहनसहनमा आधारित विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गर्ने योजना रहेको समितिले जनाएको छ ।

दुई साताअघि गठन भएको समितिले पाल्पासँगै कालीगण्डकी नदी बेंसी क्षेत्रका स्याङ्जा, तनहुँ, नवलपुर जिल्लामा भएका धार्मिक ऐतिहासिक, पुरातात्विकको पहिचान, कला संस्कृतिको संरक्षण सम्बद्र्धन तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना भएको हो ।

पाल्पाको राम्दीदेखि भुजातसम्म जलयात्राको व्यवस्था, रामपुर–७ बाहुनडाँडादेखि भुजातसम्म प्याराग्लाइडिङ, भुजातमा स्थानीय झाँकी प्रदर्शन, तथा कालीनदीको नवलपुर डेढगाउँसम्म नै जलयात्राको व्यवस्था गर्ने योजना रहेको अध्यक्ष थापाको भनाइ छ ।

पाल्पा जिल्लामा थुप्रै पर्यटकीय स्थल, धार्मिक ऐतिहासिक तथा पुरातात्विक वस्तु, यस क्षेत्रका रहनसहन, कला र संस्कृतिमा धनी भए पनि प्रचारप्रसारको कमीका कारण ओझेलमा परेकाले पाल्पाली समाज कास्की तथा यस क्षेत्रका विभिन्न गाउँपालिकासँग समन्वय गरेर प्रचारप्रसारको काम तीव्र पारिने प्रचारप्रसार समिति संयोजक बुद्धिप्रकाश रेग्मीले जानकारी दिए ।

पाल्पाली समाजको सहयोगमा कास्कीको पोखरा, पाल्पा रामपुरको बेझाड, काठमाडौँ देशका विभिन्न स्थानमा यस क्षेत्रको प्रचारप्रसारका लागि धार्मिक पर्यटकीय क्षेत्र, सांस्कृतिक प्रस्तुति, खानपानलाई झल्काउने भिडियो प्रदर्शनमा राखिएको छ ।

पाल्पाको पूर्वी भेग विशेषगरी रामपुर क्षेत्रका नेपालको १०० पर्यटकीय केन्द्रको सूचिमा रहेको तालपोखरा क्षेत्र, भुजात सिद्धबाबाधाम, सीताकुण्ड, लक्ष्मीनारायण मन्दिर, केलादीधामलगायतका थुप्रै धार्मिकस्थल, पाल्पाको बालन संस्कृति, सालैजो, झ्याउरे, रोइला, ख्याली, भजनकीर्तन, सोरठी, मारुनी, कृष्णचरित्रलगायतका कला संस्कृति एवं वेषभूषालगायतका उनीहरुको जीवनशैलीलाई समेटेर तयार पारिएको भिडियो प्रदर्शन गरिएको छ ।

ठाउँठाउँमा राखिएका भिडियो प्रदर्शन, पप्लेट वितरण तथा जलयात्राका लागि केही युवालाई स्वरोजगार बनाउन तालिमको समेत व्यवस्था गरिने र कास्की पोखराका केही होटल व्यवसायीसँग समन्वय गरी पोखरा आएका आन्तरिक तथा बाह्य पर्यटकलाई पाल्पाको रामपुरसम्म ल्याउने प्रबन्ध मिलाइने समितिले जानकारी दिएको छ ।

जिल्लामा आउने पर्यटकको सङ्ख्यामा वृद्धि गर्न जिल्लामा दौड प्रतियोगितासमेत हुने भएको छ । जिल्लाको १० वटै स्थानीय तह र नेपाली सेना गोरख दल गणको संयुक्त आयोजनामा नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी विजय दौड पाल्पा २०७६ हुने भएको हो ।

गोरख दल गणका गणपति सुरज थापाले दिएको जानकारीअनुसार जिल्लामा २१ किलोमिटरको खुला हाफ म्याराथन, कक्षा १२ सम्मका विद्यार्थीलाई लक्षित गरी पाँच किलोमिटर छात्रा र वाकाथुन र तीन किलोमिटर दौड प्रतियोगिता आयोजना गरिएको छ ।

तानसेनको पर्यटकीय एवं धार्मिक क्षेत्रमा पुग्ने गरी दौडको आयोजना गरिएको छ । तानसेन बजार, टुँडिखेल, श्रीनगरडाँडा, भैरवस्थान मन्दिर क्षेत्रका बाटोलाई दौडको रुटका रुपमा तय गरिएको छ ।

स्थानीय, राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडीको प्रवद्र्धन र हौसलाका लागि यही माघ ११ गते प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

जिल्लाका विभिन्न विकास निर्माण, जिल्लामा थुप्रै घुम्ने, हेर्ने रमाउने ठाउँ र यहाँ भुल्न सकिने सांस्कृतिक पक्ष रहे पनि प्रचारप्रसारको अभावमा जिल्ला भित्रिने पर्यटकको सङ्ख्यामा कमी भएकाले विभिन्न मेला तथा महोत्सव पनि भइरहेका छन् ।

नेवार, मगर, ब्राह्मण क्षेत्री, बोटे, कुमाल, मुस्लिम समुदायलगायतका विविध जनजातिको थलो रहेको पाल्पा जातजातिअनुसारका रहनसहन, संस्कृति, खानपान, चाडपर्व तथा कला संस्कृति र पेशा व्यवसायको समेत प्रचारप्रसार गर्नु जरुरी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप