शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सेटिङमै बिना भन्सार काठमाडौँ ल्याइन्छ सुर्तीजन्य पदार्थ

आफन्तबाट लिएर आफन्तलाई नै बेच्छन् तस्कर
सोमबार, ०६ माघ २०७६, १५ : २९
सोमबार, ०६ माघ २०७६

काठमाडौँ । पछिल्लो समय सुरक्षाकर्मी र कर्मचारीसँग सेटिङ मिलाएर तस्कर गर्ने व्यापारीले नेपाल–भारत नाकामार्फत विना भन्सार सामान ल्याउने क्रम बढेको छ । कानुन पालना गर्न भन्सारमा खटिएका कर्मचारी र सुरक्षाकर्मीले नदेखेको जस्तो गर्छन् ।

कुनै बेला अँध्यारोको आड लिएर तस्करले भारतबाट नेपालमा विना भन्सार सामान भित्र्याउँथे । समयसँगै अहिले तस्करीको तरिका पनि फेरिएको छ । तस्करहरु दिउँसै भन्सार नतिरी सामान सहरमा भित्र्याउँछन् र पसल–पसलमा पुर्याउँछन् । 

सुर्तिजन्य तथा पान मसलालगायतका वस्तुहरु अवैध रुपमा भन्सार छली गरेर नेपाल ल्याउने क्रम झनै बढेको प्रहरी कर्मचारीहरु नै बताउँछन् । प्रहरीको पछिल्लो एक अपरेसनले पनि पुष्टि गर्छ । 

प्रहरीले भारतबाट भन्सार छली गरी नेपाल भित्र्याई लुकाई छिपाई काठमाडौँलगायत देशका विभिन्न ठाउँमा अवैध कारोबार गर्ने तीन जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । 

नेपाल प्रहरी महानगरीय अपराध महाशाखा टेकुले पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो । काठमाडौँको सुन्धारा, ललितपुरको धापाखेल तथा काठमाडौँको गौरिघाटस्थित गोदामबाट सामानसहित उनीहरुलाई पक्राउ गरिएको महाशाखाका एसपी मुकेश कुमार सिंहले बताए । 

प्रहरी उपरीक्षक सिंहले पक्राउ पर्नेमा काठमाडौंको सुन्धारा बस्ने भारत मोतिहारी घर भएका २७ वर्षीय मोहमद आदिल हुसेन, ललितपुरको खुमलटार बस्ने नुवाकोट घर भएका ३० वर्षीय नारायण बोगटी, र काठमाडौँको गौरिघाट बस्ने भारत छपराका ४५ वर्षीय उदय भनिने शरण कुमार सिंह पक्राउ परेको बताए । 

प्रहरी उपरीक्षक सिंहले उनीहरुले सुर्तिजन्य तथा पान मसला, कपडा, मोटर पार्टसलगायतका सामाग्रीहरु भन्सार छलेर चोरी पैठारी गरी भारतबाट ल्याई सिमावर्ती क्षेत्रमा जम्मा गर्ने र काठमाडौँलगायत देशका विभिन्न ठाउँमा विक्री वितरण गर्ने गरेको पाइएको बताए । 

प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा पक्राउ परेका उनीहरुले सुर्तीजन्य पदार्थ तथा पान मसलालगायतका सामानहरु काठमाडौँमा आफ्नै आफन्तहरुलाई बेच्दै आएका छन् । भारतबाट पनि उनीहरुले आफन्तबाटै सामान मगाउने गरेको पाइएको प्रहरीको भनाइ छ । 

‘देख्दा सानो तर, मूल्यवान हुन्छ सुर्तीजन्य तथा पान मसलाका प्याकेट,’ महाशाखाका एसएसपी सहकुल बहादुर थापाले भने, ‘त्यसैले पनि सजिलै विना भन्सार भारतबाट नेपाल सामानहरु ल्याउन सकिन्छ ।’ 

महाशाखामा कार्यरत एक प्रहरीका अनुसार उनीहरुले पनि सेटिङमै नेपाल भित्र्याएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । 

उनीहरुलाई कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरमा पठाउने तयारी भइरहेको समेत उनले बताए । 

उनीहरुको साथबाट रजनीगन्ध सिल्भर पेरिस लेखिएको प्याकेट २१५३ थान, रजनीगन्ध तुल्सी प्याकेट ३१६० थान, बबलु गोल्ड भुनी सुपारी लेखिएको सुपारीको प्याकेट ४२ थान, राज निवास पान मसला लेखिएको गुट्खाको पोका १८० थान, केशरयुक्त विमल पान मसला लेखिएको प्याकेट ६० थान, गलु दन्त मन्जनको प्याकेट २७५ थान, वि–१ तम्बाकु लेखिएको पोका ९० थान बरामद भएको छ । 

यस्तै, राजमा शर्मिला लेखिएको मिठा पान मसला ८१९ थान, स्नोपिक नथिना लेखिएको मिठा पान मसलको बट्टा ६०० थान, बाबा १२० लेखिएको जर्दा मान मसलाको बट्टा ४२९ थान बरामद गरिएको प्रहरी उपरीक्षक सिंहले बताए । 

त्यस्तै उनीहरुबाट चुरोटको बट्टा ६७ थान, कथ्थाको प्याकेट ५५ थान, गुलाब स्प्रे पान मसलाको बोटल ४४ थान, पान हनिको बट्टा ३१० थान, पास पास माउथ फ्रेस पोका २८ थान, मधु स्विट सुपारी प्याकेट ४००० थान, सरैया तमाखु प्याकेट ७१ थान, चैनी खैनी प्याकेट १० थान, नेपाली विडी २४ थान, कोल ट्याब्लेटको पोका थान १०, गुलको डिब्बा थान ८१२ डिब्बा, कालो सुर्नीको प्याकेट ४५५० थान समेत बरामद भएको छ । 

बरामद सामानहरुको बजार मूल्य ५० लाखभन्दा बढी रहेको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप