शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

५ नम्बर प्रदेशसभा विपक्षी दलका नेता बलदेव शर्माको निधन

सोमबार, ०६ माघ २०७६, १५ : ०५
सोमबार, ०६ माघ २०७६

बुटवल । ५ नम्बर प्रदेश सभाका ज्येष्ठ सदस्य एवं विपक्ष दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएको छ । सोमबार दिउँसो आफ्नै निवासमा उनको निधन भएको नेपाली काँग्रेस रुपन्देहीका जिल्ला सचिव रामकृष्ण खाँणले रातोपाटीलाई बताए ।

रुपन्देहीको तिलोत्तमा घर भएका ८२ वर्षीय पोखरेलको गत वर्ष माघमा छातीमा संक्रमण देखिएको थियो । काठमाडौँस्थित नर्भिक हस्टिलमा चेकजाँच गर्दा उनको फोक्सोमा क्यान्सर देखिएको थियो ।

त्यसपछि विभिन्न अपतालमा उपचार गराए पनि शरीरका अन्य अङ्गमा संक्रमण फैलिएपछि चिकित्सकले निको हुने सम्भावना नरहेको बताएका थिए । एक सातादेखि उनलाई घरमै राखिएको थियो ।

रुपन्देहीको तिलोत्तमा–१४ खैरियाका ८२ वर्षीय पोखरेल प्रदेशसभामा काँग्रेसका समानुपातिक सांसद थिए ।

यस्तो छ पोखरेलको राजनीतिक इतिहास

१९९४ माघ १९ गते प्युठानको तुसारामा जन्मिएका पोखरेल २०२० सालमा बसाइसराईं गरी रुपन्देही झरेका थिए । उनले २०१३ सालदेखि नेपाल छात्र सङ्घबाट काँग्रेसको राजनीति शुरू गरेका  हुन् । २०१८ सालमा उनी २ वर्ष नेपालगञ्जमा जेल परेका थिए ।

रूपन्देहीमा उनी २०२६ सालदेखि १० वर्ष (२०३६ सम्म) पार्टीको जिल्ला सचिव भए । पोखरेल जिल्ला सदस्य हुँदै आमन्त्रित केन्द्रीय सदस्य, महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि हुँदै निरन्तर पार्टीमा सक्रिय रहँदै आएका थिए ।

रुपन्देहीमा काँग्रेसको जग बसाल्ने नेतामा बलदेव पोखरेल, डिल्लीरमण शर्मा, मोहनदत्त काफ्लेलगायत चिनिन्छन् । ज्येष्ठ सदस्यको हैसियतमा पोखरेलले ५ नम्बर प्रदेशसभाको पहिलो बैठक २०७४ माघ २१ गते सञ्चालन गरेका थिए ।

विपक्षी दलको नेता चयन गर्न लामै रस्साकस्सी भएपनि उनलाई सहमतिमै काँग्रेसले दलको नेता चयन गरेको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप