शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राज्यको नीतिगत त्रुटिका कारण शिक्षा–स्वास्थ्य सेवाको अवस्था  कमजोर : प्रभु साह

सोमबार, ०६ माघ २०७६, ११ : ५१
सोमबार, ०६ माघ २०७६

रौतहट । संघीय सांसद तथा नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहले जनताको मौलिक अधिकारभित्र पर्ने शिक्षा र स्वास्थ्य सेवालाई ब्यवस्थित गर्ने दायित्व राज्यको रहेको बताउँदै राज्यको नीतिगत त्रुटिका कारण जिल्लाको शिक्षा र स्वास्थको अवस्था खस्किदैँ गएको दावी गरेका छन् ।

राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन मूल्यांकन समितिद्वारा रौतहटको मावि भसेढवामा आयोजित शिक्षाको अवस्थाबारे अन्तरकृया कार्यक्रमलाई सम्बोधन गर्दै सांसद साहले उक्त दाबी गरेका हुन् ।

समितिका सदस्य समेत रहेका उनले शिक्षक दरबन्दी वितरणमा धेरै ठूलो बेइमानी भएको आरोप लगाउँदै सरकारले विनियोजित बजेटको आधा पनि दिन नसकेकाले रौतहटको शिक्षा तथा स्वास्थ्य सेवा कमजोर हुँदै गएको बताए ।

भौतिक पूर्वाधार तथा शिक्षक दरबन्दी वितरणमा राज्यको नीतिगत त्रुटिका कारण कतै दरबन्दी र पूर्वाधार फालाफाल हुने तर रौतहटमा सिंगो माध्यामिक विद्यालय प्रावि शिक्षकको भरमा सञ्चालन गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको साहको आरोप छ ।

जिल्लाको अधिकांश स्थानमा झोले विद्यालय र विभिन्न दरबन्दीमा पहुँचका आधारमा आफ्ना नातागोताका मानिसलाई भर्ना गरेको कारण पनि रौतहटको शिक्षाको स्तर खस्केको उनले बताए ।

पढाइमा राम्रो हुने छोराछोरीलाई डाक्टर, ईन्जिनियर बनाउने र कमजोर रहेकालाई दुईकठ्ठा जग्गा दिएर विद्यालय खोलेर शिक्षक बनाउने परम्पराका कारण शिक्षाको यस्तो अवस्था आएको उनको भनाइ छ ।
समितिका सभापति  निरादेवी जैरुले शिक्षा र स्वास्थ्यको देशभरीको अवस्था बुझ्न स्थलगत अनुगमनमा आएको बताइन् ।

नेपालमा पहलो पटक गठन यो समितिले यहाँबाट आएको सुझाव तथा सूचना जस्ताको त्यस्तै लग्ने र सरकारलाई बुझाउने, सरकारले ल्याउने वार्षिक रिपोर्टमा थप सुझावसहितको प्रतिवेदन सदनमा पेस गर्ने बताइन् ।

कार्यक्रममा कटहरिया नगरप्रमुख सियाराम कुश्वाहाले नगरक्षेत्र भित्र ३ मावि, ७ निमावि, १५ प्रावि रहेकोमा ती विद्यालयहरुमा भौतिक पूर्वाधारको अभावसँगै शिक्षक दरबन्दी पनि न्यून रहेको बताए । 

तीनवटा माविमा कुल ४७ जना शिक्षक दरबन्दी हुनुपर्नेमा सातजना शिक्षकमात्र रहेको, निमावितर्फ ४७ दरबन्दी हुनपर्नेमा सातजना शिक्षक र प्रावितर्फ एकसय १४ वटा दरबन्दी हुनुपर्नेमा ७५ जना शिक्षकमात्र रहेकाले स्तरीय शिक्षा दिन नसकेको मेयर कुश्वाहाले बताए ।

संघीय सांसद राधेश्याम अधिकारीको नेतृत्वमा आएको विषेश टोलीले आईतबार मावि भसेढवा, प्राथमिक स्वास्थ्य केन्द्र कटहरिया, मावि सोनरनिया र जिल्ला अस्पताल गौरको स्थलगत अनुगमन गरेको थियो ।
टोलीमा समिति सभापती निरादेवी जैरुका साथै सांसद प्रभु साह, सांसद लक्ष्मी परियार, प्रदेश सांसदद्वय कुन्दन कुश्वाहा, नागेन्द्र यादव सहभागी थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप