बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीले उपसभामुखलाई भने, ‘उचित समयमा, उचित जिम्मेवारी दिन्छु’

सोमबार, ०६ माघ २०७६, ११ : २१
सोमबार, ०६ माघ २०७६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई उचित समयमा उचित जिम्मेवारी दिने आश्वासन दिएका छन् ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सभामुखका बारेमा आइतबार मोटामोटी सहमति भइसकेपछि उपसभामुख तुम्बाहाङफेलाई बालुवाटार बोलाइएको थियो । सचिवालय बैठकअघि तुम्बाहाङफेसँग दुवै अध्यक्षले संयुक्तरुपमा छलफल गरेका थिए ।

सो अवसरमा प्रधानमन्त्री ओलीले उपसभामुखको भूमिका कुशलतापूर्वक निर्वाह गरेकोमा धन्यवाद दिएका थिए । ‘यतिन्जेलसम्म उपसभामुखका रुपमा राम्रोसँग काम गर्नुभयो,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘पार्टीको आवश्यकताका आधारमा उपसभामुखमा तपाईंको भूमिका यहीँ सकिदैँछ तर उचित समयमा तपाईंलाई उचित जिम्मेवारी दिइनेछ ।’

तुम्बाहाङफेलाई सरकारमा वा पार्टीमा जहाँ भए पनि आवश्यकताका आधारमा उचित जिम्मेवारी दिन सकिने आश्वासन ओलीले दिएको बताइन्छ ।

भेटमा तुम्बाहाङफेले अध्यक्षद्वयलाई सभामुख चयन प्रक्रियामा आफूलाई ‘बाधक’जसरी प्रस्तुत गरिएकोमा गुनासो गरेकी थिइन् ।

‘पार्टीले उम्मेदवार तोक्नेबित्तिकै म राजीनामा दिइहाल्थेँ, राजीनामा दिन्छु भनेर पहिलादेखि नै भन्दै आएको पनि हुँ,’ तुम्बाहाङफेलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘पार्टीले उम्मेदवार तोक्न ढिला गर्ने, अनि मैले राजीनामा नदिएका कारण उम्मेदवार तोक्न सकिएन भनेर हल्ला गर्ने काम भएकोमा दुःख लागेको छ ।’

दुई अध्यक्षबीच लामो रस्साकस्सीपछि पूर्व माओवादी पक्षबाट अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने नेकपाले औपचारिक निर्णय गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप