शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेकपाको पार्टी नियमावली संशोधनदेखि सदस्यता नवीकरणमा यस्तो छ व्यवस्था

सोमबार, ०६ माघ २०७६, ११ : ०१
सोमबार, ०६ माघ २०७६

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विशेष परिपत्र जारी गरेको छ । सो पार्टीको सङ्गठन विभागले तयार पारेको कार्ययोजनालाई नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले संशोधन गर्दै माघ ५ गते उक्त परिपत्र जारी गरेका हुन् ।

नेता वामदेव गौतमको संयोजकत्वमा गठिन ५ सदस्यीय संगठन विभागको गत असोज ३० मा सम्पन्न पहिलो बैठकले पार्टी नियमावलीमा संशोधन, संगठित सदस्यता नवीकरण, संगठनात्मक कामलाई गतिदिन तत्काल गर्नुपर्ने काम र पार्टीका नेता, कार्यकर्ता तथा सदस्यले पालना गर्नुपर्ने आचारसंहिता समेटेर  कार्ययोजना तयार गरेको थियो ।

उक्त कार्ययोजना पुस १३ मा सम्पन्न केन्द्रीय सचिवालयको बैठकले परिमाजनसहित पारित गरेको हो । ‘तत्सम्बन्धमा आवश्यक जानकारी एवं कार्यान्वयनका लागि यो विशेष परिपत्र – ७ जारी गरिएको छ’ अध्यक्ष ओली र प्रचण्डले जारी गरेको विशेष परिपत्र–७ मा भनिएको छ ।

विशेष परिपत्रमा पार्टी नियामावली संशोधनका लागि सुझाव दिदै त्यसका लागि केन्द्रीय कमिटीमा प्रस्तुत गर्ने उल्लेख छ ।

नियमावली संशोधन गर्दा ‘पार्टीका सबै तहका कमिटी तथा’ भन्ने वाक्यांश थप्ने सुझाव दिइएको छ ।

त्यस्तै ‘स्थानीय’ भन्ने वाक्यांशको सट्टा ‘पार्टीका सबै तहका’ भन्ने वाक्याँश उल्लेख गर्ने,  त्यही वाक्यको ‘नियमावली’ भन्ने वाक्यांश पछि ‘तथा राजनीतिक दल सम्बन्धी कानून’ भन्ने वाक्यांश थप्ने  उल्लेख छ ।

केन्द्रीय कमिटी मातहतका पार्टी कमिटीहरूमा समस्या उत्पन्न भई समाधान हुन नसकेको अवस्थामा सोको समाधान गर्न, पार्टीको विधान, नियमावली र संगठनात्मक सिद्धान्त बमोजिम कमिटीहरू संचालित भए/नभएको जाँचबुझ गर्न, पार्टी सदस्य तथा कमिटीहरूको चेतना, क्षमता र कामका बारेमा जानकारी लिन र सम्बन्धित कमिटी एवम् पदाधिकारीहरूलाई आवश्यक सुझाव दिन कुनै पनि कमिटीको बैठकमा भाग लिन सक्ने व्यवस्था गरिएको छ । आवश्यकता अनुसार पार्टीद्वारा प्रत्यक्ष संचालित जनवर्गीय, सामुदायिक र अन्य संगठनहरूको अनुगमन, निरीक्षण र मूल्यांकन गरी सम्बन्धित संगठन तथा तिनका पदाधिकारीहरूलाई सुझाव दिन सक्ने व्यवस्था पनि नियमावलीमा गरिएको छ ।

केन्द्रीय कमिटी मातहतका कमिटी सदस्यहरूले पार्टी स्कूलद्वारा सञ्चालित कक्षाहरूमा नियमित रुपमा भाग लिए वा नलिएको बारे जाँचबुझ गरी सम्बन्धित कमिटीका पदाधिकारीहरूलाई आवश्यक सुझाव दिन सक्ने व्यवस्था नियमावलीमा गरिएको छ । त्यस्तै संगठित सदस्यता नविकरणका लागि समय र कार्यविधि परिपत्रमा उल्लेख छ । जसमा २०७५ जेठ २ सम्म कायम रहेका पार्टी सदस्यहरूलाई संगठित सदस्य मानेर २०७६ चैत मसान्तभित्र संगठित सदस्यता नवीकरण सम्पन्न गर्ने उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप