शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लगातार सातौँ खेलमा रोनाल्डोको गोल, अर्को किर्तिमान

सोमबार, ०६ माघ २०७६, ०८ : ०१
सोमबार, ०६ माघ २०७६

स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले लगातार सातौँ लिग खेलमा गोल गरेपछि साबिक विजेता युभेन्टसले पार्मालाई २–१ गोलले हराउन सफल भएको छ ।

आइतबार राति भएको खेलमा रोनाल्डोले पहिलो हाफको अन्त्यतिर गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए ।

योसँगै रोनाल्डो डेभिड ट्रेजेगुएटपछि युभेन्टसका लागि लिगमा लगातार सात खेलमा गोल गर्ने पहिलो खेलाडी खेलाडी बनेका छन् । सन् २००५ मा ट्रेजेगुएटले लगातार नौ खेलमा गोल गरेका थिए ।

तर, दोस्रो हाफको ५५ औँ मिनेटमा आन्द्रेयास कोर्नेलियसले हेडमार्फत गोल गर्दै खेल बराबरी गरे ।

यद्यपि, बराबरी लामो समय टिक्न सकेन । तीन मिनेटपछि नै रोनाल्डोले पाउलो डिबालाको पासमा गोल गर्दै युभेन्टसलाई पुनः अग्रता दिलाए ।

त्यसपछि भने कुनै गोल हुन सकेन र युभन्टसले खेल आफ्नो पक्षमा पार्न सफल रह्यो ।

जीतसँगै २० खेलपछि ५१ अंक बटुल्दै युभेन्टसले इटालियन लिगको शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ ।

रोनाल्डोले यो सिजन लिगमा १६ गोल गर्न सफल भएका छन् । योसँगै उनी युरोपका शीर्ष पाँच लिगमा पछिल्ला १४ लिग सिजनमा लगातार कम्तिमा १५ गोल गर्ने पहिलो खेलाडी पनि बनेका छन् ।

गत सिजन उनले २१ गोल गरेका थिए । गोलसङ्ख्यामा यस सिजन उनी सिरो इमोबाइलभन्दा मात्र पछि रहेका छन् । लाजियोका खेलाडीले २३ गोल गरेका छन् ।

आइतबार नै भएको अन्य खेलमा दोस्रो स्थानमा रहेको इन्टर मिलान लिससँग १–१ को बराबरीमा रोकियो । रोमाले भने जेनोआलाई ३–१ गोलअन्तरले हराउँदै लिगको चौथो स्थानमा उक्लिएको छ ।

एसी मिलानले पनि उडिनेजेमाथि ३–२ को जीत हासिल गर्दै लिगको आठौँ स्थानमा उक्लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप