शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हेडसरदेखि सभामुखसम्मको यात्रामा सापकोटा

आइतबार, ०५ माघ २०७६, २२ : १३
आइतबार, ०५ माघ २०७६

–रमेश लम्साल

काठमाडौं । धेरैले ‘अग्नि सर’का रुपमा चिन्ने र जान्ने अग्निप्रसाद सापकोटालाई सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको नेकपा सचिवालय बैठकले लामो प्रयासपछि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । तत्कालीन सभामुख कृष्णबहादुर महरालाई यौन दुव्र्यवहारको आरोप लागेपछि विगत चार महिनादेखि रिक्त रहँदै आएको सभामुखमा लामो बहस र छलफलपछि नेकपाले उम्मेदवार टुङ्गो लगाएको हो । 

माओवादीले सञ्चालन गरेको जनयुद्धमा होस् वा राजकीय जिम्मेवारीमा रहँदा नै किन नहोस् प्राप्त भएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने सभामुखमा प्रस्तावित सापकोटा नेकपाभित्र सादगी र इमान्दार नेताका रुपमा परिचित रहेका छन् । माओवादीले शुरु गरेको जनयुद्धमा सहभागी हुँदा होस् वा शान्ति प्रक्रियामा नै रहँदा नै किन नहोस् सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोकलगायतका जिल्लावासीले उहाँलाई ‘अग्नि सर’का रुपमा चिन्छन् । 

विसं २०१४ फागुन २४, सिन्धुपाल्चोक, कुविण्डेमा तिलमाया सापकोटा र धनपति सापकोटाको सुपुत्रका रुपमा जन्मनुभएका सापकोटाले त्रिभुवन विश्वविद्यालयबाट स्नातकसम्मको अध्ययन गरेका छन् । लामो समय शिक्षकका रुपमा सेवा गरेका कारण पनि उहाँलाई धेरैले अग्नि सरकारको नाम दिएका हुन् । 

नेता सापकोटा २०३५ सालमा नेकपा (चौथो महाधिवेशन) बाट पार्टी राजनीतिमा लाग्नुभएको हो । हाल नेकपा स्थायी कमिटी सदस्य रहनुभएका सापकोटा २०६४ चैत २८ गते सम्पन्न पहिलो संविधानसभाको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं २ बाट निर्वाचित भएका थिए ।

विसं २०६८ मा सूचना तथा सञ्चारमन्त्री हुनुभएका सापकोटा २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा पनि सिन्धुपाल्चोक–२ बाट दोस्रोपटक संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । तत्कालीन नेकपा (माओवादी)ले विजयी हासिल गरेकामध्ये वाग्मती अञ्चलबाट निर्वाचित हुने एकमात्रै नेता हुन् उनी ।  सापकोटाले २०७३ मा नेपाल सरकारको वन तथा भू–संरक्षण मन्त्रीको समेत जिम्मेवारी सम्हालेका थिए ।

विसं २०७४ मा भएको प्रतिनिधिसभाको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं १ बाट निर्वाचित सापकोटा २०४८ सालदेखि सक्रियरुपमा राजनीतिमा क्रियाशील रहेका छन् । विसं २०५१ मा  तत्कालीन नेकपा (एकता केन्द्र) को केन्द्रीय सदस्य हुँदै २०५१ असोजमा नेकपा (माओवादी) केन्द्रीय सदस्य भएका उनले २०५२ माघदेखि भूमिगत राजनीतिसमेत गरेका थिए ।

विसं २०५८ मा तत्कालीन नेकपा (मोआवादी)का तर्फबाट गठन गरिएको तीन सदस्यीय वार्ता टोलीमा रही शान्ति प्रक्रियालाई अगाडि बढाउन महत्वपूर्ण योगदान गरेका थिए । तत्कालीन एकीकृत नेकपा (माओवादी) को हेटौँडा महाधिवेशनबाट पोलिटब्युरो सदस्य बनेका उनले २०६९ साउनदेखि एकीकृत नेकपा (माओवादी) को स्थायी समिति सदस्य तथा पार्टीको केन्द्रीय प्रवक्ताको भूमिका निर्वाह गरे । सानैदेखि विद्रोही स्वभावका सापकोटा कुविण्डेका सापकोटा परिवारकै पहिलो प्रधानाध्याक हुने पहिलो व्यक्तिका रुपमा समेत परिचित छन् ।

धेरैले अग्नि सर भनेर नाम दिएका सापकोटालाई नेकपाले लामो बहस र छलफलपछि सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । स्पष्ट वक्ता र राजनीतिमा कहिल्यै विचलित नहुने स्वभावका सापकोटालाई आज बिहान मात्रै सभामुखको उम्मेदवार बनाउने निर्णय भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचमा सहमति भएपछि आजै साँझ बसेको नेकपा सचिवालय बैठकले उनलाई सभामुखको उम्मेदवार बनाउन सर्वसम्मतिले निर्णय गरेको हो । पार्टी महासचिव विष्णुप्रसाद पौडेलका अनुसार प्रतिनिधिसभाको रिक्त सभामुख पदमा सचिवालयलमा सर्वसम्मतिले निर्णय भएको हो । 
प्रतिनिधिसभामा सत्तारुढ नेकपाको स्पष्ट बहुमत भएकाले सापकोटा प्रतिनिधिसभाको सभामुखमा निर्वाचित हुने पक्कापक्की नै रहेको छ । प्रतिनिधिसभाको बैठक सोमबारका लागि बोलाइएको छ । सोमबारदेखि नै सभामुख चयनको प्रक्रिया शुरु गर्ने तयारीमा सङ्घीय संसद् सचिवालय रहेको छ । 

पटकपटक सूचना टाँस गरेर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक सञ्चालनका लागि जिम्मेवार र योग्य व्यक्तित्व पाउने भएको छ । यसअघि सत्तारुढ दल नेकपा भि सभामुख कसलाई बनाउने भन्ने विषयमा सहमति हुन नसक्दा तीनपटक प्रतिनिधिसभा बैठक सूचना टासेर स्थगित भइसकेको छ । 

जनयुद्धकाल होस् वा शान्ति प्रक्रियामा समेत पार्टी, देश र जनताप्रति इमान्दार भएर लागेका सापकोटाकै पहलमा लामो समयदेखि बन्द भएको तातोपानी नाकासमेत खुलिसकेको छ । राजधानीमा भन्दा जनताको घर आँगनमा नै रमाउन चाहने सापकोटा पार्टीभित्र स्पष्ट विचार राख्ने नेतामध्ये एक हुन् । पार्टी राजनीतिमा अधिकांश समय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई साथ सहयोग दिँदै आएका सापकोटाले यसअघि तत्कालीन एकीकृत नेकपा (माओवादी)को पार्टी प्रवक्ताको भूमिकासमेत कुशलतापूर्वक निर्वाह गरेका थिए ।

नेकपाको बहुमत रहेको प्रतिनिधिसभालाई जनताप्रति उत्तरदायी बनाउने र नीति निर्माणमा विगतमा जस्तै कुशलतापूर्वक जिम्मेवारी बहन गर्ने दायित्व समयक्रमले सापकोटाको काँधमा ल्याइदिएको छ । यो जिम्मेवारीलाई उनले कुशलतापूर्वक सम्हालेर सङ्घीय संसद्लाई थप जनमुखी बनाउने विश्वास उनलाई अग्नि सरको उपमा दिने धेरैले लिएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप