को हुन् सभामुखका उम्मेदवार अग्नि सापकोटा ?
काठमाडौँ । नेकपाले प्रतिनिधिसभाको सभामुख पदको उम्मेदवार नेता अग्नि प्रसाद सापकोटालाई बनाउने निर्णय गरेको छ ।
नेकपाको निर्णयसँगै सापकोटा सभामुख बन्ने निश्चित छ । प्रतिनिधिसभामा नेकपाको बहुमत रहेकाले उनी सभामुख बन्ने निश्चित भएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको नेकपा सचिवालय बैठकले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए ।
को हुन् सापकोटा ?
२०७४ सालमा भएको संसदीय निर्वाचनमा सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ मा काँग्रेसका प्रभावशाली नेता मोहन बस्नेतलाई हराउँदै निर्वाचित भएका अग्नि सापकोटा सिन्धुपाल्चोकको चौतारा ६ कुविण्डेमा २०१४ साल फागुन २४ गते जन्मिएका हुन् ।
सापकोटा साविकको सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट संविधानसभामा दुई पटक भारी मतान्तरले विजयी भएका थिए ।
०३५ सालबाट राजनीतिमा सक्रिय सापकोटाले पटक–पटक जेल जीवन बिताएका छन् ।
०४८ सालमा संयुक्त जनमोर्चाकातर्फबाट प्रतिनिधिसभा निर्वाचनमा उमेदवार बनेका उनी पराजित भएका थिए । ०५१ सालमा तत्कालीन माओवादीको केन्द्रीय सदस्य बनेका सापकोटा माओवादी र सरकारबीच भएको दोस्रो वार्तामा वार्ता टोली सदस्य समेत थिए । सापकोटाले समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् । ०५२ सालबाट भूमिगत भएका उनी माओवादी शान्तिप्रक्रियामा नआउँदासम्म पूरै समय भूमिगत बसेका थिए ।
सापकोटाले यसअघि सूचना तथा सञ्चार र वन मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणको बार आज कसलाई कति फलदायी ? हेर्नुहोस् राशिफल
-
बंगालको खाडीबाट जलवास्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षाको सम्भावना
-
स्वास्थ्य बीमा अन्तर्गत झापा सबैभन्दा धेरै बीमित भएको जिल्ला
-
च्याम्पियन्स लिग सेमीफाइनल पहिलो लेगमा आर्सनल विजयी, रियाल मड्रिड ३-० ले स्तब्ध
-
कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड र युआन, दिराम, दिनार र रियालको मूल्य ?
-
पोखरामा सवा अर्ब लगानीमा बुटिक होटल