शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महाशक्ति रुसका ‘दोस्रो शक्तिशाली’ व्यक्ति मिखाइल मिशुस्तिन को हुन् ?

आइतबार, ०५ माघ २०७६, १५ : ५०
आइतबार, ०५ माघ २०७६

एजेन्सी । रुसले भर्खरै नयाँ प्रधानमन्त्रीको रुपमा मिखाइल मिशुस्तिनलाई चुन्यो । प्रधानमन्त्री चयन हुनु एक दिनअघिसम्म पनि मिशुस्तिनले यो पद पाउँदैछन् भन्ने कमैलाई थाहा थियो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका ‘छाया’ मानिने दिमित्री मेद्भेदेव लामो समय प्रधानमन्त्री पद सम्हालेर बाहिरिएपछि उनको स्थानमा मिशुस्तिन ल्याइएका छन् । 

संसदमा हुने राष्ट्रपतिको वार्षिक सम्बोधनमा पुटिनले रुसको संविधानमा उलेख्य परिवर्तन गर्ने संकेत गरे लगतै मेदभेदेव र उनको क्याबिनेटले राजीनामा दिएको थियो । पुटिनले अघि सारेको यो योजनाबारे विस्तृत विवरण अझै बाहिर आइसकेको छैन ।

रुसका लागि बीबीसी संवाददाता सारा रेन्सफोर्ड यस घटनाक्रमबारे भन्छिन्, ‘मेद्भेदेवलाई पहिलेदखि पुटिनको विश्वसनीय व्यक्ति मानिन्थ्यो । तर अहिले आएर रुसले सामना गरिरहेको आर्थिक समस्याका लागि कतै न कतै मेद्भेदेवलाई दोष दिइँदैछ ।’ 

यो वर्ष देशको नाममा सम्बोधन गर्ने क्रममा पुटिनले अमेरिका र अन्य पश्चिमी देशलाई आफ्नो सामर्थ देखाउन चाहेको र रुसको समाजिक कल्याणमाथि ध्यान केन्द्रीत गर्न चाहेको बताएका थिए ।

यसैले एक नयाँ अनुहारलाई अगाडि ल्याइएको विश्वास गरिन्छ । अहिले रुसी सरकारी मिडियाले मिसुस्तिनबारे सन्देश प्रसारित गरिरहेका छन् । तिनले मिखाइल मिशुस्तिनलाई एक योग्य र अर्थतन्त्रसम्बन्धित समस्यासँग जुध्न सक्षम व्यक्तिका रुपमा प्रस्तुत गरिरहेका छन् । 

केन्द्रीय कर सेवाको कर्मचारीका रुपमा नाम कमाएका

५३ वर्षिया मिखाइल मिशुस्तिनलाई पुटिनले प्रधानमन्त्रीका रुपमा छान्नुअघि कमै परिचित भए पनि उनी कर्मचारीका रुपमा भने सफल मानिसकेका थिए ।  

आइतबार साँझ उनको नाम रुसी संसदको तल्लो सदनमा पेस गरिदाँ एक जना सदस्यले पनि उनीविरुद्ध मतदान गरेनन् । 

सन् १९६६ मा रुसको मक्सोको सहरमा जन्मिएका मिखाइल एक प्रभावशाली कर्मचारीका रुपमा गरिन्छन् । 

सन् १९९८ पछि मिशुस्तिन रुसका कर विभागका साथै कैयौं महत्वपूर्ण पदमा रहेर काम गरिसकेका छन् । तर सन् २०१०मा रुसको केन्द्रीय कर सेवाका प्रमुख बनाइएपछि उनले रुसी सत्तारुढहरुको ध्यान तान्न सफल भएका थिए ।

रुसको कर प्रणालीमा सुधार गर्ने कामको लागि उनको प्रशंसा गरिन्छ । उनी बारेमा दिइएको जानकारी अनुसार उनले अर्थशास्त्रमा पीएचडी गरिसकेका छन् । 

रुसको समाचार एजेन्सी तासका अनुसार मिखाइलले ९० को दशकमा इन्टरनेशनल कम्प्युटर क्लब नामको एक कम्पनीको लागि आईटी विज्ञको रुपमा पनि काम गरिसकेका छन् । 

त्यस संस्थामा रहदाँ उनले ‘महत्वपूर्ण पश्चिमी आईटी प्रविधि’लाई रुसमा भित्राएका थिए । 

मिखाइल मिशुस्तिन आर्टिफिशियल इन्टिलिजेन्स र डिजिटल प्रविधिलाई बढावा दिनुपर्ने विश्वास गर्छन् । 

समाचार एजेन्सी रोयर्टसका अनुसार मिशुस्तिनले पुटिनलाई लामो समयदेखि आइस–हकी खेलमा साथ दिदैं आएका छन् । मिशुस्तिनले केही दिनभित्र क्याबिनेटका बाँकी सदस्यको नामको टुङ्गो लगाउनेछन् । 

मिखाइल मिशुस्तिन आफैले ‘अहिलेको व्यवस्था र सरकारी ढाँचामा कैयौ परिवर्तन गर्ने’ बताइसकेका छन् ।

तर, रुसी राजनीतिक विश्लेषकमाझ मिखाइल मिशुस्तिन एक अस्थायी अनुहार मात्र हुन् या साच्चै पुटिनका राजनीतिक उत्तराधिकार हुन् भन्ने विषयमा पनि चर्चा भइरहेको छ । 
रुसको सरकारी टेलिभिजनका अनुसार मिखाइल मिशुस्तिन रुसको व्यापारिक समुदायमा पनि लोकप्रिय छन् । मिखाइल रुसको ‘आइस हकी फेडरेशन’मा वरिष्ठ सदस्य हुन् र उनले पुटिनको ‘नाइट हकी लिग’मा पनि खेलिरहेका छन् । 

रुसको आर्थिक पत्रिका ‘वेदोमोस्ती’ अनुसार मिखाइल एक गितकार पनि हुन् । उनले रुसका कैयौं चर्चित गायकको लागि गीत पनि लेखेका छन् । 

तर विपक्षका नेता गेनेडी गुडकोभले भने पुटिनले कम परिचित र कुनै राजनीतिक महत्वकाक्षा नभएका व्यक्तिलाई प्रधानमन्त्री बनाएर आफ्नो व्यक्तिगत स्वार्थ हेरेको बताए । 

उता पुटिनका पूर्व सल्लाहकार ग्लेबपावलोव्स्कीले भने मिशुस्तिन ‘वर्तमान विश्व परिपेक्षमा रुसको लागि एक योग्य नोकरशाह’ भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप