बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मधेश आन्दोलनको १३ वर्ष : नेताहरु भन्छन्– आन्दोलन अझै जारी छ

आइतबार, ०५ माघ २०७६, १५ : १०
आइतबार, ०५ माघ २०७६

जनकपुर । मधेश र मधेशीको पहिचान, अधिकार, संस्कृति र संघीयताका लागि गरिएको आन्दोलन आइतबार १३ वर्ष पूरा भएको छ ।

संघीयतासहितको स्वायत्त मधेश प्रदेश र पहिचानसहितको अधिकारका लागि १३ वर्ष अगाडि मधेशी जनताको नाममा तत्कालीन मधेशी जनअधिकार फोरमको अगुवाइमा आन्दोलनको शुरुवात भयो । आजकै दिन मधेश आन्दोलनका पहिलो शहीद रमेश महतोले शहादत प्राप्त गरेका थिए । उनकै शहादतको दिनलाई बलिदानी दिवसको रुपमा मधेश केन्द्रित दलहरुले मनाउँदै आइरहेका छन् ।

प्रदेश नम्बर २ मा समाजवादी पार्टी र राजपा नेपालको संयुक्त सरकारले ‘बलिदानी दिवस’ का अवसरमा बिदाको घोषणा गर्दै वीरगन्जमा औपचारिक कार्यक्रम गर्दैछन् ।

आन्दोलन जति पुरानो भयो, आन्दोलनको विरासत त्यति नै कमजोर हुँदै गइरहेको छ ।

माघ ५ गते मधेश भनिएको प्रदेश नम्बर २ का सत्ताधारी दल र मधेश आन्दोलनकारीहरुका लागि साँच्चै महत्वपूर्ण दिन हो । तर, समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालले प्रदेश नम्बर २ मा औपचारिकरुपमा विदाको घोषणा र औपचारिक कार्यक्रम गर्नुबाहेक मधेस आन्दोलनको मर्म, भावना र उद्देश्यको बेवास्ता गरिरहेको आरोप लाग्दै आईरहेको छ ।

प्रदेश र प्रतिनिधिसभाको चुनावमा मधेश आन्दोलन र शहीदले देखाएको मुक्तिको बाटो लगायतका मुद्दा खुबै उठाइए । त्यसअनुसार प्रदेश सरकारमा रहेकाहरुले भने अहिले ती मुद्दालाई खासै वास्ता नगरेको देखिन्छ ।
विगतका निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम र राजपाले राम्रो नतिजा ल्याए । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा प्रदेश २ मा दुवै दलको सफलता राम्रै रह्यो । मधेश आन्दोलनबाट मधेशले धेरैथोक पायो भने धेरैथोक गुमाएको पनि छ ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले मधेश आन्दोलनबाटै देशले संघीय लोकतान्त्रिक गणतन्त्र पाएको दावी गरे । यसकै बलमा प्रत्येक नेपाली नागरिक आफ्नो हक लिन अग्रसर भएको उनको भनाइ थियो ।

मुलुकमा संघीयता, पहिचान, धर्मनिरपेक्षता, समावेशी–समानुपातिक मुद्दा स्थापित गराउन मधेश आन्दोलनको उल्लेखनीय भूमिका रहेको राजनीतिक विश्लेषक डा. सुरेन्द्र लाभ बताउँछन् । मधेश आन्दोलनको यो नै सबैभन्दा ठूलो सफलता रहेको उनले बताए ।

‘नागरिकताको विषय राष्ट्रिय मुद्दा बनेको छ यो पनि मधेश आन्दोलनकै उपज हो,’ उनले भने । तर, मधेशवादी दलहरुले आजको दिनको महत्व भुल्दै गएको उनको आरोप छ ।

मधेश आन्दोलनकै बलमा देशमा संघीयता तथा समावेशीता स्थापित भएको जिकिर गर्दै उनले भने, ‘मधेशी जनताको पहिचान पनि स्थापित भएको छ । काठमाडौँमा बसेकाहरुको मनोविज्ञानमा परिवर्तन आएको छ, मधेशी जनता अब आफूलाई मधेशी कहलाउनमा गर्व गरिरहेका छन् ।’

मधेश मामिलाका जानकारहरु मधेशवादी दलले आन्दोलनको ‘ब्याज’ खाइरहेको आरोप समेत लगाउँछन् । राजनीतिक विश्लेषक लाभले मधेशी जनताले चाहेका मुद्दाहरु अझैसम्म पूरा हुन नसकेको बताए । ‘मधेशमा चाहेजस्तो विकासको अनुभूति हुन सकेन,’ उनले भने, ‘मधेशी जनताले काठमाडौँका शासकहरुभन्दा पृथक शासन खोजेका थिए तर केही पृथक अनुभूति हुन सकेको छैन ।’

यता राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय प्रवक्ता कृष्णा सिंहले मधेश र मधेशी जनताले आन्दोलनबाट केही नगुमाएका बरु केही मधेशी नेताहरुले विश्वास गुमाएको बताए ।

मधेशका मुद्दाहरु पूर्ण रुपमा पूरा नभईकन सत्ता समीकरणमा सामेल हुनबाट बच्न उनले मधेशवादी दलहरुलाई सुझाव दिए । उनले भने, ‘मधेशवादी दलसँग पटक पटक सम्झौता भयो, पटक पटक सरकारमा गए तर जुन उपलब्धि चाहिनु पर्ने थियो, त्यो प्राप्त गर्न सकेनन् ।’ मधेशले उपलब्धि प्राप्त गर्ने अवस्थामा मात्रै सत्ता समीकरणको खेलमा लाग्नु उचित हुने उनको भनाइ छ ।

मधेशमा बलिदानी दिवसका दिन जुन उत्साह हुनु पर्ने थियो, त्यो नहुनुमा पनि मधेशवादी दलहरु नै दोषी रहेको उनले बताए ।

राजनीतिक विश्लेषक लाभले मधेशवादी दलको तुष्टीकरणको राजनीतिकै कारण मधेशी जनतामा त्यो उत्साह नरहेको बताए ।

अधिकारका लागि पटक पटक गरी तीन पटक आन्दोलन भयो । तीन पटकसम्म भएको मधेश आन्दोलनमा गरी जम्मा १ सय ३ जनाले शहादत प्राप्त गरे । मधेशको पहिचान स्थापित गराउन ती सबै शहीदहरुको योगदानलाई बिर्सन सकिदैँन । तर अहिले आएर माघ ५ गते एक दिनका लागि शहीदलाई स्मरण गर्नु बाहेक कुनै पक्षले मधेस र मधेसी जनताका लागि केही गर्न सकेको छैन ।

राजपाबाट प्रदेशसभा सदस्य बनेकी बबिता चौधरीले आफ्नो परिवारबाट मधेश आन्दोलनका क्रममा दुई जना सदस्य गुमाएकी छिन् । उनले आफ्ना ससुरा गणेश चौधरी र छोरा रोहन चौधरीलाई मधेश आन्दोलनकै क्रममा गुमाएकी थिइन् ।

उनले मधेशले जे जति पाए पनि आन्दोलनमा शादत प्राप्त गरेका परिवारले अहिलेसम्म केही पाउन नसकेकोमा दुःख व्यक्त गरिन् । नेताहरुले एक दिनमात्रै बलिदानी दिवसको नाउँमा शहीदहरुलाई स्मरण गरी झारो टार्दै आएको उनको आरोप छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप