शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बाह्रबिसेमा निषेधाज्ञा तोडेर नाराजुलुस, वार्तामार्फत निकास खोज्ने तयारी

आइतबार, ०५ माघ २०७६, १४ : १६
आइतबार, ०५ माघ २०७६

काठमाडौँ । सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाको बजार क्षेत्रमा निषेधाज्ञाका बाबजुद स्थानीयबासीहरु नाराजुलुस गरिरहेका छन् । आइतबार नगरपालिका कार्यालय नजिकै पुगेर स्थानीयबासीले नाराजुलुस गरेका हुन् ।

सडक अतिक्रमण गरी बनाइएका अस्थायी टहरा, पसलेहरुले सडक अतिक्रमण गरी राखेका सामान हटाउन नगरपालिकाले दिएको अल्टिमेटम सकिए पनि सडकको अतिक्रमित जग्गा खाली नगरिएपछि अतिक्रमण गरी बनाइएका संरचना स्थानीय प्रशासनको सहयोगमा खाली गराउन थालिएको हो ।
 

नगरपालिकाको तर्क
बाह्रविसे नगरपालिकाले बजार क्षेत्रको सडक तथा सहायक सडकहरुका आवागमन सूचारु तथा सडक, नालीमाथि राखिएका पसलहरु, छत, टप लगायत अस्थायी संरचना हटाउने सम्बन्धमा बारम्बार सूचना जारी गर्दै आएको थियो ।

२०७४ असोज ८ गतेको नगरकार्यपालिका बैठकको निर्णय अनुसार नगरपालिकाले सडक अतिक्रमण खाली गर्न सूचना जारी गर्दै आएको मेयर निमफुञ्जो शेर्माको भनाइ छ ।

यसका लागि २०७४ माघ १० गते र १७ गते स्थानीय बजारबासी व्यापारीलगायतसँग अन्तरक्रियासमेत गरिएको उनले जानकारी दिए । २०७५ भदौ ७ गते कार्यपालिका बैठकबाट निर्णय भइ सूचना जारी भएको र सोही सूचनाको आधारमा गत वर्ष भदौ २७ गते स्थानीयबासीहरुबाट निवेदन प्राप्त भएको नगरपालिकाले जनाएको छ ।

सोही अनुसार २०७५ असोज ५ गते नगरकार्यपालिका बैठकले पुनः निर्णय गरेको र विभिन्न समयमा भएको छलफलपछि नगरपालिकाले गत पुस २२ र २३ गते एक साताको समय दिएर अवैध संरचना हटाउन माइकिङ्ग गरेको जनाइएको छ ।

मेयर शेर्पाका अनुसार गत पुस २७ गते गृहमन्त्रालयले समेत सडक अतिक्रमण हटाउने सम्बन्धमा मातहतका निकायहरुलाई पत्राचार गरिसकेको छ ।

यस अतिरिक्त नगरपालिकाले माघ १ गते अन्तिमपटक सूचना जारी गर्दै माघ ३ गतेभित्र सडक अतिक्रमण गरि बनाइएका सबै अस्थायी संरचना हटाउन चेतावनी दिएको थियो ।
उक्त चेतावनीलाई समेत बेवास्ता गरेपछि जिल्ला प्रशासन कार्यालय, सडक डिभिजन कार्यालय र नगरपालिकाको सक्रियतामा अस्थायी संरचना हटाउने काम सुरु भएको मेयर शेर्पा बताउँछन् ।
नगर प्रमुख भन्छन्– प्रशासनले सहयोग गरेन
बाह्रविसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पा स्थानीय प्रशासनले सहयोग नगरेको बताउँछन् । स्थानीयवासीको विरोध प्रदर्शनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले बाह्रविसे बजारको केही क्षेत्रमा आइतबार निषेधाज्ञा जारी गरेको भए पनि नगरपालिका कार्यालय नजिकै करिब एक सयको संख्यामा भेला भएका प्रदर्शनकारीहरुले नाराजुलुस गरिरहेको उनले बताए ।

‘निषेधाज्ञा जारी छ, पाँच जनाभन्दा मानिस भेला हुन र हिँड्न रोक लगाइएको छ,’ उनले भने, ‘तर नगरपालिका कार्यालय नजिकै निषेधित क्षेत्रमै भेला भएर नाराजुलुस हुँदा पनि प्रहरी प्रशासनले खासै चासो देखाएको छैन ।’

आफूले बजारलाई सुन्दर बनाउने, नियमअनुसार सडकको जग्गा खाली गराउने पहल गरिरहेको उनले बताए । ‘अरनिको राजमार्गको दायाँ–बायाँ सडकबाट २५ मिटरसम्म कुनै प्रकारको संरचना बनाउन नपाउने नियम पुरानै हो,’ उनले भने, ‘बजारमा यो नियम पालना भएको छैन, जताततै सडक अतिक्रण भएको छ, यात्रुलाई असुविधा भयो, सवारी साधनका लागि बाटो पुगेन भनेर हामीले अतिक्रमण हटाउन खोजेका हौँ ।’
सडक किनारमा बनाइएका नालीमाथि समेत पसलका सामान राखिएको जिकिर गर्दै उनले भने, ‘नालीसमेत सफा गर्न पाइएको छैन ।’

वार्तामार्फत सहमतिको पहल
जिल्ला प्रशासन कार्यालयले भने दुवै पक्षलाई राखेर वार्ताको तयारी गरिरहेको छ । प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले नगरपालिका र बजारवासीबीच छलफलको तयारी भइरहेको बताइन् ।

स्थिति नियन्त्रणभन्दा बाहिर नजाओस् भनेर प्रशासनले संयमता अपनाइरहेको जिकिर गर्दै उनले भनिन्, ‘सकेसम्म वार्तामार्फत नै सहमति होस् भन्ने हाम्रो चाहना हो ।’

बाह्रविसेको अवस्था अहिले सामान्य रहेको जानकारी दिँदै उनले भनिन्, ‘अहिले त्यति जटिल अवस्था छैन, प्रहरी प्रशासनले स्थितिलाई नियन्त्रणमा राखेको छ ।’

निषेधित क्षेत्र तोडेर भएको प्रदर्शनबारे अनुगमन भइरहेको र दोषीहरुलाई कानुनअनुसार कारवाही हुने उनले बताइन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप