शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मनाङ र थ्रीस्टारको बराबरीले उपाधि होड थप रोचक

शनिबार, ०४ माघ २०७६, १९ : २७
शनिबार, ०४ माघ २०७६

काठमाडौं । शहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि दावेदार टोली मनाङ मस्र्याङ्दी क्लब र थ्रीस्टार क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् ।

दशरथ रंगशालामा शनिबार भएको लिगकै उत्कृष्ट खेलमा मनाङ र थ्रीस्टारले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । मनाङ र थ्रीस्टारको बराबरीले लिगको उपाधि होड थप रोचक बनेको छ । 
प्रतिस्पर्धात्मक खेलमा थ्रीस्टारले १९औं मिनेटमा सुरुवाती अग्रता लिएको थियो ।

भारतीय खेलाडी लाल रम्माभराले गोल गर्दै थ्रीस्टारलाई अग्रता दिलाए । लालको डिबक्स बाहिरको फ्रिकिक प्रहार सोझै गोल भएको थियो । पहिलो हाफमा १–० गोलले पछि परेको मनाङ दोस्रो हाफको सुरुवातमै बराबरी गोल फर्काएको थियो । ४९औं मिनेटमा अन्जन बिष्टले पेनाल्टीमा गोल गर्दै मनाङलाई खेलमा फर्काए ।

आफ्नो डिबक्समा अशोक खवासले अन्जनलाई फल गर्दै लडाएपछि मनाङले पेनाल्टीको अवसर पाएको थियो । ६९औं मिनेटमा अन्जनले व्यक्तिगत दोस्रो गोल गर्दै मनाङलाई अग्रता दिलाए ।

उनले कप्तान कमल श्रेष्ठले टाढाबाट उपलब्ध गराएको फ्रिकिक पासमा हेड गोल गरेका थिए । त्यसपछि आक्रामक देखिएको थ्रीस्टारले ८३औं मिनेटमा बराबरी गोल गर्यो । थ्रीस्टारका भारतीय खेलाडी लाल राम्माभराले व्यक्तिगत दोस्रो गोल गरे ।

डिबक्स भित्र पाएको बललाई उनले पोस्ट नजिकबाट गोल गर्दै टोलीलाई हारबाट जोगाएका थिए । 
मनाङका अन्जन म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । यस बराबरीसँगै मनाङले शीर्ष स्थानमा उक्लने मौका गुमायो ।

सात खेलबाट १३ अंक बनाएका मनाङ तेस्रो स्थानमा छ । ११ अंक बनाएको थ्रीस्टार चौथो स्थानमा छ । शीर्ष स्थानमा रहेको आर्मी र दोस्रो स्थानमा रहेको मच्छिन्द्रको समान १३ अंक नै छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप