शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

उपेन्द्र यादवको दाउ : एकैसाथ नेकपा, काँग्रेस र राजपासँग 'डिल’

शनिबार, ०४ माघ २०७६, ११ : ३६
शनिबार, ०४ माघ २०७६

काठमाडौँ । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सरकारबाट बाहिरिएपछि राष्ट्रियसभाका लागि निकै सक्रिय भएका छन् । अध्यक्ष यादव यतिबेला नेपाली काँग्रेस, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेताहरुसँग नियमति सम्पर्कमा रहेका छन् । 

पुस ८ गते सरकारबाट बाहिएका उपेन्द्र यादव नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई पुस १० गते उनकै निवासमा भेट्न पुगेका थिए । 

देउवासँगको भेटमा विपक्षी बेन्चलाई बलियो बनाउनुको साथै राष्ट्रियसभा चुनावका लागि रणनीति बनाउने विषयमा दुवै पक्षको बीचमा सहमति भयो । त्यसको एक हप्तापछि पुस १८ गते समाजवादी पार्टी र काँग्रेसबीच एक बुँदे सहमति भयो । 

सहमतिअनुसार माघ ९ गते हुने राष्ट्रियसभाको चुनावमा प्रदेश २ मा तालमेल गर्ने सहमति भएको थियो । राष्ट्रियसभा सदस्यका लागि प्रदेश २ मा महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय र अन्य समूह गरी चार पदमा चुनाव हुँदैछ । 

सहमतिअनुसार काँग्रेस र समाजवादी पार्टीले २/२ सिट बाँडफाँड गरेका छन् । यस्तै नेकपा र राजपाले पनि सोही अनुसारको तालमेल गरेको छ । राष्ट्रियसभा निर्वाचनको लागि प्रदेश २ मा ३७९ जना मतदाता छन् ।

अध्यक्ष यादवले प्रदेश २ का राष्ट्रियसभाको चुनाव जित्ने दावी गर्दै आएका छन् । उनले काँग्रेसलाई समेत प्रदेश २ मा राष्ट्रियसभाको चुनाव जित्ने भरोसा दिलाएको बुझिएको छ । 

स्रोतका अनुसार यादव राष्ट्रियसभा चुनावमा जित्ने रणनीति बनाइरहेका छन् । काँग्रेस र समाजवादीबीच यसकै लागि प्रदेश २ मा पटक–पटक बैठक बसिसकेको छ । यादव मतदाताको नियमित सम्पर्कमा पनि रहेको बुझिएको छ । 

त्यसको रणनीति स्वरुप उनले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग बिहीबार भेटका थिए । उनले आफ्ना राष्ट्रियसभाका उम्मेदवारलाई जिताउन प्रचण्डसँग आग्रह गरेको पाइएको छ । 

नेकपाले आफ्ना पार्टीका एक उम्मेदवारलाई सघाए, आफ्नो पार्टीले पनि नेकपाका एउटा उम्मेदवारलाई सघाउने प्रस्ताव गरेको खुमलटार स्रोतले जनाएको छ । 

नेकपा र राजपाबीच भएको चुनावी गठबन्धनलाई प्रचण्डले रुचाएका छैनन् । अध्यक्ष प्रचण्डले समाजवादी र नेकपाबीच चुनावी तालेमेल होस् भनि चाहेको स्रोतको भनाइ छ । 

तर, प्रधानमन्त्री केपी शर्मा ओलीको जोडमा राजपा नेपालसँग चुनावी गठबन्धन भएको थियो । अध्यक्ष प्रचण्डले सहयोग गर्ने संकेत देखाएपनि प्रतिबद्धता नजनाएको स्रोतको दावी छ । तर, अध्यक्ष यादवले प्रचण्डसँग कुनै भेटघाट नभएको बताए । 

अध्यक्ष प्रचण्डसँग भेट्नुभन्दा एकदिन पहिले राजपा नेपालका अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुरसँग यादवको भेट भएको थियो । ठाकुरको हात्तीवनस्थित निवासमा अध्यक्ष यादव एक्लै पुगेका थिए । यहाँसम्म कि उनले आफ्नो पिएसओलाई पनि साथमा लगेका थिएनन् ।

अध्यक्ष यादवले ठाकुरसँगको भेटमा पनि राष्ट्रियसभाको चुनावमा तालमेल गर्न आग्रह गरेका थिए । ‘राजपा, काँग्रेस र समाजवादीबीच तालमेल गरि एउटा÷एउटा सिट बाँडफाँड गरौँ’ भनि उनले आग्रह गरेको राजपा नेपालका एकजना उपाध्यक्षले रातोपाटीलाई जानकारी दिए । 

ठाकुरसँगको भेटमा उनले आफ्नो उम्मेदवारको जित सुनिश्चित रहेको दावी समेत गरेका थिए । त्यसैले चुनावी तालमेल गर्दा राम्रो हुने उनको तर्क थियो । तर, महन्थ ठाकुरले आफूहरु नेकपासँग तालमेल गरिसकेका कारण सो दललाई धोका नदिने स्पष्ट पारेका थिए । 

भेटमा अध्यक्ष यादवले पार्टी एकीकरणको कुरा पनि अगाडि बढाउन आग्रह गरेका थिए । चुनावी तालमेल गरेर तत्कालै एकीकरणको घोषणा गर्न अध्यक्ष यादवले आग्रह गरेको राजपा नेपाल स्रोतले जनाएको छ । 

महन्थ ठाकुरले चुनावअघि एकीकरण पनि हुन नसक्ने प्रष्ट पारेको बुझिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप