सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

कवि विश्वविमोहन श्रेष्ठको जीवन : हुलाकमार्फत प्रेमपत्र पठाउँथे, मुस्किलले जवाफ फर्किन्थ्यो

शनिबार, ०४ माघ २०७६, ११ : १४
शनिबार, ०४ माघ २०७६

कवि विश्वविमोहन श्रेष्ठ थोरै तर उत्कृष्ट कविता लेख्ने कवि हुन् । २०१३ वैशाख १६ गते तेह्रथुमको म्याङलुङमा जन्मिएका उनले २०२४ सालदेखि नै कविता लेख्न सुरु गरेका हुन् । उनको पहिलो रचना विसं ०२६ तिर ‘तीनजुरे’ साहित्यिक पत्रिकामा ‘दुई मुक्तक’ प्रकाशित भएको थियो । त्यो लेखन आजसम्म निरन्तर चलिरहेको छ । उनका प्रकाशित कृतिहरूमा ‘विश्वविमोहनका केही कविताहरू’, ‘अँगारका धमिला धर्साहरू’ ‘द हेजी लाइन अफ द कोल’ (अङ्ग्रेजी कविता सङ्ग्रह), ‘एउटा गन्तव्यको खोजीमा’ हुन् । साहित्य सिर्जनाबाट योगदान गरेबापत उनलाई २०४४ को राष्ट्रिय युवा वर्ष मोती पुरस्कार, २०४४ मा रत्नश्री स्वर्ण पदक आदिबाट विभूषित गरिएको छ ।

मानवतावादी कविका रूपमा परिचित यिनै विश्वविमोहन श्रेष्ठसँग रातोपाटीको मेरो जीवन स्तम्भमा उनको जीवनका विविध पाटा खोतल्ने प्रयास गरेका छौँ ।

मेरो खाना

साधारण नेपाली खाना दालभात तरकारी मनपर्छ । गुन्द्रुक र मस्यौरा औधी मीठो लाग्छ । फास्टफुड मनपर्दैन । रेस्टुरेन्ट जाने गरेको छु । खानै परे रेस्टुरेन्टमा फ्राइराइस मनपर्छ  । अन्य समय मम, चाउमिन खान्छु । मम र चाउमिन त सहरको खाजा नै हो ।

होटल, रेस्टुरेन्टमा सबैभन्दा धेरै चिया खान्छु । मेरा लागि सबैभन्दा गाह्रो काम भनेको पकाउनु हो । अरू सबै काममा रुचि छ तर पकाउनमा छैन । पकाउन रुचि नभएको मानिसले एक्लै हुँदा दुःख पाउँदो रहेछ । यो मेरो अनुभव हो ।

मेरो फिट्नेस

घरमा नियमित सामान्य योगा गर्छु । मर्निङवाक पनि फुर्सदमा गर्ने हो । नियमित छैन । फिट्नेसका लागि घरमा साइकलिङ पनि छ तर त्यसमा एक्सरसाइज गर्ने गरेको छैन । फिट्नेसका लागि सजग छु तर गर्न भ्याएको छैन ।

मेरो पोसाक

मनपर्ने पहिरन दौरा सुरुवाल नै हो । तर धेरै समय प्रयोग गर्ने पहिरन भनेको सर्टपाइन्ट नै हो । घरमा पूजाआजा हुँदा कुर्थासुरुवाल पनि लगाउँछु । मेरो दौरासुरुवालप्रति एक किसिमको मोह छ । यो भलाद्मी पहिरन हो भन्ने लाग्छ । तर सधैँ लगाएर हिँड्न सम्भव हँुदैन ।

मेरो मनपर्ने पहिरन कलर हरियो हो । पहिरन मैले कहिल्यै किन्दिनँ । परिवारले नै किनिदिन्छन् । धेरै पहिरन रेडिमेड नै किन्ने गरेका छन् । मेरा लागि पहिरन सधैँ परिवारले किन्ने भएकाले वार्षिक पहिरन खर्च यति भनेर भन्न सक्दिनँ ।  

मेरो अध्ययन

नियमित अध्ययन गर्ने मानिस हुँ । कवितातिर धेरै मोह छ । त्यसमा पनि पुराना कविता पटक पटक पढ्ने गरेको छु । लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौडेलका कविता दोहोर्याई दोहोर्याई पढ्छु । म छन्दमा कविता लेख्दिनँ । तर मलाई छन्दका कविता मनपर्छ । बेलुकाको समय नियमित अध्ययन गर्ने बानी छ ।

मेरो फुर्सद

दैनिक २, ३ बजेपछि प्रायः फुर्सद नै हुन्छ । फुर्सदको समय साहित्यिक कार्यक्रमहरुमा सहभागी हुन्छु । आफन्तसँग भेटघाट गर्ने, पुग्नै पर्ने र गर्नै पर्ने काम गर्छु । सामाजिक कामतिर पनि समय दिन्छु । घरमा काम सघाउँछु । पढ्छु, लेख्छु, यस्तै यस्तै हो ।

मेरो घुमफिर

घुमफिरतिर धेरै रुचि छ । घुमफिर उद्देश्यमूलक होस् भन्ने मेरो धारणा छ । परिवारसँग सामाजिक र धार्मिक घुमघाम हुन्छ । साथीभाइसँग घुमघाम भयो भने साहित्य, कलासम्बन्धी हुन्छ ।

देशकै राम्रा राम्रा ठाउँ घुम्न मनपर्छ । साहित्यको सिलसिलामा केही देश घुमेको छु । विदेशका ७ वटा देश टेकेँ होला । आफ्नै देशका ६५ भन्दा बढी जिल्ला पुगेको छु । यीमध्ये ५५ जिल्ला त २०४६ को परिवर्तन अगाडि नै घुमेको हुँला ।

मेरो खेलकुद

खेलकुद असाध्यै मनपर्छ तर म खेलाडी भने होइन । स्कुले जीवनमा भलिबल, फुटबल खेल्थँे । त्यो पेसाका लागि भन्दा पनि रमाइलोका लागि मात्र थियो । त्यो खेल स्कुल र कलेजभन्दा अगाडि बढ्न सकेन ।

अहिले खेल हेर्न मनपर्छ । देशमा आयोजना भएका गेममा फुटबल बढी हेर्छु । रङ्गशालामा गएर पनि हेर्ने गरेको छु । टेलिभिजनमा पनि हेर्छु । मेरो नाति स्कुलमा कम्फुकराँते खेल्छ । त्यसको कारणले पनि टिभीका कम्फुकराँतेको नियमित दर्शक भएको छु । 

लचित्रमा सीधै विचार नभए पनि त्यसले कालान्तरमा मानिसलाई परिवर्तन गर्नुपर्छ भन्ने मेरो धारणा हो । हामी जहाँ छौँ त्यहाँबाट माथि उठ्न चलचित्रले पनि सहयोग गरोस् भन्ने पक्षमा म छु । दुःख देखाउने, दुःखमा विश्राम लिने, सुख देखाउने त्यस्तै त्यस्तै सिकाउने फिल्म मनपर्दैन । यस्ता फिल्म किन चाहियो ।

मेरो मोबाइल

मसँग अहिले दुईवटा मोबाइल छ तर एउटा भए पुग्ने रहेछ । त्यसैले एउटा मात्र बोक्छु । अर्काे नातिले खेल्छ । मसँग भएको आइफाइभ मोबाइल हो । फेसबुक, भाइबर, म्यासेन्जर, अनलाइन र फोनका लागि यो प्रयोग हुन्छ । कहिलेकाहीँ यसमा युट्युब पनि हेर्ने गरेको छु ।

मेरो चलचित्र

आज फिल्म ‘छपाक’ हेर्ने योजना छ । फिल्म हेर्न धेरै मनपर्छ । केही समय भयो फिल्म हेर्न नपाएको । त्यसैले परिवारले ‘छपाक’ हेर्ने योजना बनाएका छन् । बेलाबेलामा परिवारसँग हलमा गएर फिल्म हेर्छु । पछिल्लो समय हेरेको फिल्मको नाम याद भएन । ‘छ माया छपक्कै’पछि एउटा हेरेको थिएँ ।

चेतना जगाउने खालका विषयवस्तुले भरिएका हिन्दी, नेपाली, अङ्गे्रजी, साउथ सबै प्रकारका चलचित्र हेर्छु । चलचित्रमा सीधै विचार नभए पनि त्यसले कालान्तरमा मानिसलाई परिवर्तन गर्नुपर्छ भन्ने मेरो धारणा हो । हामी जहाँ छौँ त्यहाँबाट माथि उठ्न चलचित्रले पनि सहयोग गरोस् भन्ने पक्षमा म छु । दुःख देखाउने, दुःखमा विश्राम लिने, सुख देखाउने त्यस्तै त्यस्तै सिकाउने फिल्म मनपर्दैन । यस्ता फिल्म किन चाहियो ।

मेरो भाषाशैली

लय होस् । त्यसमा एउटा बहाव होस् । गति होस् । त्यसले पनि मानिसको मन छुन सकोस् । बोलीचालीमा भलाद्मीपन होस्, सिष्ट होस् । गाली नै गर्नु छ भने पनि शिष्टतामा गाली गर्न सकियोस् । अहिले गायिका आस्था राउतको भाइरल भएको गाली राम्रो होइन । मलाई त्यस्तो भाषा मनपर्दैन । चित्त दुख्यो भन्दैमा जथाभावी अरूलाई गाली गर्न मिल्दैन ।

मेरो प्रेम

२०३४ तिर मैले प्रेम विवाह गरेको हो । त्यतिबेला हामी एउटै कलेजमा अध्ययन गथ्र्यौं । उनी मभन्दा केही जुनियर थिइन् । एकअर्काेसँग परिचित थियौँ । स्नातक सकेपछि विवाह गर्यौँ । अहिलेको जस्तो घुँडा टेकेर, गुलाफको फूल दिएर आइलभयु भनेर प्रेम गरिएन ।

हामी एकअर्कालाई मन पराउँथ्यौँ । मेरो घर तेह्रथुम, म त्यहीँ बस्थेँ । उनी धरान बस्थिन् । म हुलाकमार्फत चिट्ठी पठाउँथे । मुस्किलले त्यसको जवाफ आउँथ्यो । तर पनि लेख्न रुचि भएकाले बारम्बार चिट्ठी लेख्थँे । त्यो प्रेम अहिलेसम्म चल्दैछ । केही सामान्य खटपट भए होलान् । त्योबाहेक अन्य केही छैन ।  

मेरो साहित्य

स्कुलको माहोलले मेरो सानैदेखि साहित्यमा रुचि भयो । घरको माहोल पनि त्यस्तै थियो । त्यस्तै २०२४ सालतिर होला । म कक्षा ४ मा अध्ययन गर्र्दै थिए । सो समय बालदिवसमा जिल्लाव्यापी कविता प्रतियोगिता आयोजना भएको थियो । हाम्रो स्कुलबाट म छानिएको थिएँ । सो समय जिल्लाभरिका मध्ये म फस्ट भएँ । त्यो समयदेखि मेरो साहित्यिक यात्रा निरन्तर नै छ ।

विशेष गरेर म कविता लेख्छु । कथा, संस्मरण पनि लेखेको छु । छापिएका छन् । तर मेरो लेखन र रुचिको विषय कविता हो । मेरो बाहिर आएको कविता सङ्ग्रह अहिले तीनवटा छन् । एउटा फागुन, चैत र अर्काे वैशाखमा आउँछ होला । पत्रपत्रिका लगायतमा धेरैमा मेरा कविता छापिएका छन् । कविता वाचनका लागि भनेर विदेश पनि पुगेको छु । अमेरिका, बेलायत, चीन, भारत लगायतका स्थानमा सहित्यिक कार्यक्रमका लागि पटक पटक पुगेको छु ।

मेरो रोग

अहिलेसम्म त्यस्तो रोग केही छैन । गत वर्षदेखि मेरो जिब्रोमा खटिरा आएको छ । अहिले पनि यसको समस्या छ । खुर्सानी खानै हँुदैन । झुक्किएर खाएँ भनेपनि जिब्रोमा खटिरा आउँछ । अन्य रोग केही छैन । जिब्रोको खटिराको लागि औषधि खाँदै छु ।

मेरो मापसे

मापसेको कुरै नगरौँ । पहिले गर्थें, अहिले गर्दिनँ । साथीभाइको करकापको अगाडि केही सीप लागेन भने मुखमा राखेको जस्तो गर्छु । नत्र खान्नँ । एक समय मापसे गरेर मातिएँ पनि । त्यसपछि स्वास्थ्यका कारणले छोडेको हो । अहिले छोडेको पनि २०, २२ वर्ष जति भयो । घरमा केही रक्सी सजाएर राखेको छु । आफ्ना लागि होइन । साथीभाइ आउँदा काम लाग्छ भनेर ।

मेरो गीतसङ्गीत

गीतसङ्गीत एकदमै मनपर्छ । धेरै सुन्छु । धेरै मनपर्ने त गायन हो । तर मेरो स्वर छैन । त्यसको कारणले गाउन सकिन । पुराना, सेन्टिमेन्टल खालका गीत धेरै मनपर्छ । ‘रातो र चन्द्र सूर्य’, ‘ए कान्छ ठट्टैमा यो बैंस जान लाग्यो’ जस्ता गीतहरु धेरै सुन्छु । बिहान, दिउँसो, बेलुका जुनै समय फुर्सद हुँदा गीतसङ्गीत सुन्छु । सुत्ने बेलामा पनि सुन्न मनपर्छ । नेपाली र हिन्दी पुराना गीतहरु धेरै मनपर्छ । पुराना गायकका मिठासपूर्ण गीतहरु धेरै सुन्छु ।

मेरो भूल

उमेरले अहिले ६३ पुगेँ । यो समयसम्म भूल धेरै गरेँ होला । विगतलाई फर्किएर हेर्दा धेरै गल्ती गरेको छु भन्ने लाग्छ ।  पारिवारिक र राजनीतिमा मैले समयमै बोल्ड डिसिजन नगरेर गल्ती गरेको छु । यो भूलले गर्दा मेरो जीवन जति गतिमान हुनुपर्ने त्यो हुन सकेन ।
 

मेरो राशि

मेरो राशि वृश्चिक हो । बेलाबेलामा ग्रहदशा हेराउने गरेको छु । ज्योतिष, धर्म, नियती लगायत सबै कुरामा विश्वास छ । मलाई ज्योतिषले चिना हेरेर भनेको धेरै कुरो ठ्याक्कै मिल्ने गरेको छ । नियतीले मेरो हुने बेलामा धेरै काम बिगारेको छ ।

मेरो मृत्यु

मृत्यु सत्य हो । जन्मिएपछि एक दिन मर्नुपर्छ । तर पनि मृत्यु भनेपछि मनमा चिसो पस्दो रहेछ । आज भेट्दैछौँ भोलि के हो के हो । यसलाई स्वीकार्नै पर्छ । सहज मृत्यु होस्, यही कामना छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप