बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

‘आत्महत्या’ गर्ने भनिएका विचित्रको जीव लेमिङ्ग

शनिबार, ०४ माघ २०७६, १० : ३७
शनिबार, ०४ माघ २०७६

हामीले पत्रपत्रिकाहरु पढ्दा आत्महत्या गर्ने जीव भनेर धेरै पटक लेमिङ्गको बारेमा पनि पढ्न पाइन्छ । अधिकांश पत्रपत्रिकाहरुमा लेमिङ्गलाई जनसंख्या बढेपछि आत्महत्या गर्ने जीवको रुपमा उल्लेख गरिएको पाइन्छ । विभिन्न साहित्य एवं पत्रपत्रिकाहरुको माध्यमबाट यस जीवको बारेमा आम धारणा के बनेको पाइन्छ भने, जनसंख्या बढेपछि यो जीवले समुद्रमा डुबेर आत्महत्या गर्ने गर्छ !

तर के साँच्चै लेमिङ्गले आत्महत्या गर्छ त ? यो कुरा खोतल्न आउनुहोस्, तपाईं हामी यस विचित्रको जीवको बारेमा जानकारी लिने कोशिश गरौं !

लेमिङ्ग पहेंलो खैरो वर्णको सानो जीव हो । यो अक्सर गरेर एशिया, युरोप उत्तर अमेरिकाका चिसो स्थानमा पाइन्छ । झट्ट हेर्दा मुसा जस्तो लाग्ने यो जीव आकारमा करीब १३ से.मी. अर्थात् ५ इन्च हुन्छ र यसको छोटो पुच्छर पनि हुन्छ । गोलाकार टाउको, भुत्लाले ढाकिएका स–साना कान हुने यस जीवको खुट्टा पनि छोटा हुन्छन् । यो जीवले पानी भएको क्षेत्र नजिक आफ्नो गुँड बनाउँछ । मूलतः शाकाहारी यो जीवले एक पटकमा पाँच वटासम्म र एक वर्षमा कैंयौं पटक बच्चा जन्माउँछ ।

भिन्न भिन्न क्षेत्रमा पाइने लेमिङ्गका भिन्न भिन्न विशेषताहरु हुन्छन् । तर स्कान्डिनाभिया (उत्तर पश्चिम युरोप)मा पाइने नर्वे लेमिङ्गमा भने एउटा विचित्रको विशेषता पाइन्छ । अन्य क्षेत्रमा पाइने लेमिङ्गहरु भन्दा यसमा एउटा नितान्त भिन्न चरित्र के देखिन्छ भने, यो जीव खाद्यान्नको खोजीमा बसाई सराई पनि गर्ने गर्छ । वर्षभरिमा धेरै बच्चा जन्माउने भएको कारण यस जीवको संख्यामा वर्षेनी अचाक्ली बृद्धि हुन्छ । यसरी संख्यामा धानिनसक्नुको बृद्धि भएपछि यो जीव लाखौंको संख्यामा समुद्रभएतिर ओइरिन्छ । यसरी समुद्रतिर लाग्ने क्रममा बाटामा नै हज्जारौं लेमिङ्गहरु अन्य जनावरहरुको भोजन तथा प्राकृतिक मृत्युको शिकार बन्न पुग्छन् भने समुद्रछेउसम्म पुगेका लेमिङ्गहरु समुद्रमा हाम्फाल्न पुग्छन् । त्यसरी समुद्रमा हाम्फालेका लेमिङ्गहरु पनि डुबेर मर्छन् ।

यसरी समुद्रमा डुबेर मर्ने भएको कारणले गर्दा नै मान्छेहरुले विश्वास गर्ने गर्छन्– संख्या बढेपछि लेमिङ्गले आत्महत्या गर्छ ।

तर खासमा चाहिँ लेमिङ्गले यसरी आत्महत्या गर्नकै लागि एकैचोटी समुद्रमा ओइरिएको हुँदैन । वास्तवमा, संख्या अचाक्ली बढेपछि लेमिङ्ग बसोबास भएको क्षेत्रमा खाद्यान्नको व्यापक अभाव हुन थाल्छ । फलतः उचित वासस्थान र पर्याप्त खाद्यान्न पाइने क्षेत्रको खोजीमा लाखौंको संख्यामा लेमिङ्ग बसाईसराई गर्ने गर्छ । स्वभावतः पानीको नजिक बस्न रुचाउने भएकोले यो जीव तलाउ, खोला, नाला, नदी जस्ता पानी भएका क्षेत्रहरुतिर आकर्षित हुने गर्छ । यसै दौरानमा यी जीवहरु समुद्रका छेउछाउ पनि पुग्ने गर्छन् । समुद्रछेउ पुगेका यी जीवहरु समुद्रलाई पनि नदीमा जस्तो तैरेर पार गर्न खोज्छन् । तर समुद्रको अनन्त विस्तारलाई नाँघ्न नसकेर यो जीव समुद्रमा नै डुब्छ र मर्न पुग्छ ।

प्रत्येक तीन वा चार वर्षमा नर्वे लेमिङ्गमा बसाइसराइको र समुद्रमा डुबेर हुने आम–संहारको यो प्रक्रिया दोहोरिइरहन्छ ।

रोचक त के छ भने, अन्य जातिका लेमिङ्गले भने यसरी बसाईसराई गर्दैन र उनीहरुको यस्तो दुःखान्त संहार पनि हुन पाउँदैन।

Tittle Picture: https://i.ytimg.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप