मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

आयल निगमको स्वर्ण जयन्तीको अवसरमा पेट्रोलियम पदार्थमा सहुलियत

शुक्रबार, ०३ माघ २०७६, २२ : ३०
शुक्रबार, ०३ माघ २०७६

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा बढोत्तरी आए पनि नेपाल आयल निगमले तत्कालका लागि पेट्रोलियम पदार्थको बिक्री मूल्य यथावत् राखेको छ । पछिल्लो पटक इन्डियन आयल कर्पोरेशन (आइओसी)ले पठाएको नयाँ मूल्यसूचीअनुसार डिजेल र पेट्रोलमा केही मूल्य वृद्धि भएर आएको भए पनि सर्वसाधारणको हितलाई मध्यनजर राख्दै मूल्य यथावत् राखिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।
निगमले ‘पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१’ बमोजिम प्रत्येक १५/१५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको थियो । निगमको स्वर्ण जयन्तीका अवसरमा सर्वसाधारणलाई पेट्रोलियम पदार्थमा केही सहुलियत दिने उद्देश्यले इन्धनको मूल्य समायोजन नगरिएको उनले बताए । निगमले गत पुस २६ गते स्वर्ण जयन्ती मनाएको थियो । 
 
आइओसीले हरेक महिनाको १ र १५ तारिखका दिन निगमलाई नयाँ बिक्री मूल्यसूची पठाउँदै आएको छ । सोही मूल्यलाई आधार मानेर निगमले नेपालमा पेट्रोलियम पदार्थको मूल्यसूची निर्धारण गर्दै आएको छ । निगमले पेट्रोल प्रतिलिटर रु ११०, डिजेल र मट्टीतेल प्रतिलिटर रु १००, अन्तर्राष्ट्रियतर्फको हवाई इन्धन प्रतिकिलोलिटर एक हजार अमेरिकी डलर र आन्तरिकतर्फको हवाई इन्धन प्रतिलिटर रु ९४।५० तथा एलपी ग्यास प्रतिसिलिन्डर रु एक हजार ३५० बिक्री मूल्य तोकेको छ । 
 
अहिलेको बिक्री मूल्यमा निगमलाई पेट्रोलमा प्रतिलिटर रु तीन, डिजेलमा रु चार, हवाई इन्धनमा रु १० नाफा छ भने एलपी ग्यासमा प्रतिसिलिन्डर रु १६२ घाटामा रहेको छ । कुनै समय निकै घाटा व्यहोरेर डुब्ने अवस्थामा पुगेको नेपाल आयल निगमले पछिल्ला वर्ष ‘आर्थिक स्वास्थ्य’ मा सुधार ल्याएको छ । केही वर्षदेखि निगमको नाफा बिस्तारै उकालो लाग्न थालेको छ । निगमले आर्थिक वर्ष २०७५/७६ मा करीब रु आठ अर्ब ७५ करोड ९करपछिको० मुनाफा आर्जन गरेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप