शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भिडियो समाचार : शान्ति प्रक्रियाको बाँकी काममा शीर्ष नेताहरुको चासो, एमसीसीमा ओलीलाई देउवाको साथ

शुक्रबार, ०३ माघ २०७६, १८ : ५५
शुक्रबार, ०३ माघ २०७६

ओली, प्रचण्ड र देउवा

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस नेताहरुबीच शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने विषयमा छलफल भएको छ ।

शुक्रबार विहान प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा र कानुन विज्ञ तथा शान्ति प्रक्रियाका जानकार नेताहरु सुवासचन्द्र नेम्वाङ, रमेश लेखक, मिनेन्द्र रिजाल र खिमलाल देवकोटाको सहभागिता थियो । 

छलफलमा सहभागी काँग्रेस नेता लेखकले सत्य निरूपण तथा मेलमिलाप आयोग बारेको विधेयकको मस्यौदामा सातवटै प्रदेशमा द्वन्द्वपीडितसँग भएको परामर्श ब्रिफिङ गरिएको बताए ।

उहाका अनुसार कानुन मन्त्रालयको नेतृत्वमा सातवटै प्रदेशमा द्वन्द्वपीडितसँग परामर्शका लागि बनेको टोलीले तीन जना नेतालाई रिपोर्ट पनि बुझाएको छ । उक्त टोलीमा नेकपा र काँग्रेस नेताहरु पनि संयुक्त रूपमा सातवटै प्रदेशमा गएका थिए । 

पीडितहरुसँग परामर्शपछि तयार पारिएको रिपोर्टबारे नेताहरुलाई व्रिफिङ गरिएको नेता खिमलाल देवकोटाले बताए । यो विधेयक संसदबाट पास गराउनुका साथै सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग गठन गर्ने तयारी भइरहेको छ ।

नेताहरुबीच टिआरसीबारे कानुन बनाउने कुरा कसरी अगाडि बढाउने भन्नेबारे छलफल भएको लेखकले बताए । लेखकका अनुसार सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमा पदाधिकारी नियुक्तिको सिफारिस गर्नेबारे पनि छलफल भएको थियो ।

सरकारले आयोगमा पदाधिकारी सिफारिस गर्न गत चैत १२ गते पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा ५ सदस्यीय सिफारिस समिति बनाएको थियो । समितिले दरखास्त आहृवान गरेका ५७ मध्ये ५४ र त्यसमा थप ७ गरी ६१ उम्मेदवारको सूची मङ्सिर पहिलो साता प्रकाशन गरेको थियो ।

सिफारिस समितिको शुक्रबार बसेको बैठकले पदाधिकारीमा पुरानाहरू नदोर्होयाउने सहमति गरेको छ । सोही अनुसार शनिबार (भोलि) सिफारिस समितिको बैठक बसेर निर्णय लिने तयारमा छ ।

नेपाली काँग्रेस

नेपाली काँग्रेसले सभामुख चयन प्रकृया चाँडो सुरु गर्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई आग्रह गरेको छ । 

शुक्रबार बसेको काँग्रेस संसदीय दलको बैठकले ६ गतेबाट सुरु हुने भनिएको प्रतिनिधिसभा बैठकबाट नै सभामुख चयन प्रकृया सुरु गर्न आग्रह गरेको हो । काँग्रेसले संविधान अनुसार सभामुख र उपसभामुखको चयन गर्न पनि नेकपालाई आग्रह गरेको छ ।

संविधानमा भएको व्यवस्था अनुसार फरक दल र फरक लिंगको आधारमा सभामुख र उपसभामुख चयन नभए कांग्रेसलाई सैह्य नहुने चेतावनी समेत दिएको छ । राष्ट्रियसभा संसदीय दलका नेता सुरेन्द्र पाण्डेले कांग्रेसले सभामुख चयनका विषयमा सत्तारुढ दलसँग छलफल पनि जारी रहेको बताए । सभामुख उपसभामुख फरक दलको हुनुपर्ने व्यवस्था अनुसार कांग्रेसले पनि दुई मध्ये एकमा रुची राख्नु स्वभाविक भएकाले उनले बताए । 

काँग्रेसले राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार नउठाएका दलहरुलाई सहयोग गर्न पनि आग्रह गरेको छ । यस्तै काँग्रेसले अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशनलाई तत्काल संसदबाट अनुमोदन गर्न माग गरेको छ । साथै यस विषयमा कतिपय सञ्चार माध्यमबाट पार्टी सभापति एवं दलका नेता शेरबहादुर देउवा र अन्य नेपाली काँग्रेसका कतिपय सांसद तथा नेताहरुबाट आएको भनिएको यसविरुद्धको अभिव्यक्ति भ्रमपूर्ण र कपोकल्पित भएको काँग्रेसले बताएको छ ।


‘यस सम्झौतालाई यथाशीघ्र सदनबाट अनुमोदन गर्ने पक्षमा नेपाली काँग्रेस रहेको पुनः स्मरण गराउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ । काँग्रेसले राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्तारुढ नेकपाका संघीयता विरोधी रवैयालाई मतदानका माध्यमबाट जवाफ दिन र  संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र संविधानको रक्षाका निम्ति काँग्रेसका उम्मेदवारका पक्षमा मदतान गर्न अन्य राजनीतिक दलहरु र मतदाताहरुलाई आग्रह गरको छ । एमसीसीबारे नेकपाम विवाद देखिएका बेला काँग्रेस भने प्रधानमन्त्री ओलीको पक्षमा उभिएको छ । प्रधानमन्त्री ओली एमसीसीको पक्षमा छन् ।


उद्योग मन्त्री 

उद्योग मन्त्री लेखराज भट्टले वैदेशिक लगानी भित्र्याउँदा स्वदेशी लगानीकर्ता डराउन नपर्ने बताएका छन् । उनले सरकारले लगानी बढाउने राष्ट्रिय अभियान अन्तर्गत वैदेशिक लगानीलाई आकर्षित गरेको तर स्वदेशी लगानीकर्ताहरु प्रतिस्प्रधा गर्न सक्दैनौं की भन्ने चिन्तामा रहेको बताए ।

उद्योग मन्त्रालयले आयोजना गरेको उद्योग वाणिज्य क्षेत्रको विकास चुनौती र भावी कार्यदिशा सम्बन्धी अन्तक्रियामा मन्त्री भट्टले बाहिरि लगानीकर्तासँग प्रतिस्प्रधा गर्न सक्दैनौ भन्ने डर उद्योगी व्यवसायीहरुले हटाउनु पर्ने बताए ।

उनले मुलुकमा आर्थिक समृद्धिका लागि औद्योगिकरण आवश्यक रहेको र त्यसका लागि उद्योगहरुको मुनाफा सुनिश्चित हुनुपर्छ भन्नेमा सरकार जानकार रहेको बताए । उनले त्यसका लागि के कस्ता नीतिगत व्यवस्था आवश्यक छ सरकार छलफल गरी अगाडी बढ्न तयार रहेको समेत बताए ।

कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले पछिल्लो समय नीतिगत व्यवस्थामा सुधार आएको तर यसको कार्यान्वयन पक्ष फितलो हुँदा उद्योगी व्यवसायीहरुले दुख पाउने गरेको बताइन् । उनले कानून निर्माण हुनु अघि छलफल हुँदा हुने कुरा र विधेयकमा आउने विषय नमिल्ने गरेको समेत बताइन् ।

औद्योगीक चुनौतिमा छलफल

उद्योगी व्यवसायीहरुले भने अन्तर मन्त्रालयको समन्वय नहुँदा उद्योग सञ्चालनमा समस्या हुने गरेको बताएका छन् । त्यस्तै राज्यका नीतिहरुको कार्यान्वयन फितलो हुँदा समेत लगानीको वातावरण बन्न नसकेको उद्योगीहरुको भनाई छ ।

यसबाहेक बैंक ब्याजदरमा कार्टेलिङ, भ्याट, राजश्व लगायतका विषयले पनि उद्योगीहरुलाई चुनौति दिएको उद्योगी व्यवसायीहरुले बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योग मन्त्रालयले त्यसमा समन्वय गरेर सहयोग गर्न आग्रह गरे । 

यस्तै नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश अग्रवाललेपनि सरकारका नीतिहरु नै गलत रहेको बताए । कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले उद्योगी व्यवसायीहरुले बैंकबाट कर्जा लिंदा देखाउने वासलात र कर तिर्दा देखाउने वासलात फरक हुने समयको अन्त्य भएकोले इमान्दार व्यवसाय गर्नुपर्ने बताए । त्यसका लागि सरकारले ब्याजदरमा दिएको छुटहरुमा राष्ट्र बैंकले कार्यान्वयन गरिरहेको बताए । 

उद्योगी व्यवसायीहरुले भने बैंकबाट महंगो दरमा पाएको कर्जाबाट उद्योग सञ्चालन गर्दा फाइदा नहुने बताएका थिए । त्यस्तै उद्योगीहरुले औद्योगिक क्षेत्रमा लगाइने कर कुल गार्हस्थ उत्पादनको २९ प्रतिशत भन्दा पनि बढी रहेकाले व्यवसायीक प्रतिस्प्रधा गर्न नसकिएको बताएका थिए । 

कृषिमन्त्री घनश्याम भूसाल

कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भूसालले विश्वविद्यालय र कलेजहरुलाई कृषिसँग जोड्नुपर्ने आवश्यकता औंल्याएका छन् । दिगो विकास समितिको बैठकमा सांसदहरुसँगको छलफलमा मन्त्री भूसालले विश्वविद्यालय तथा कलेजहरुलाई कृषिसँग जोड्नुपर्ने आवश्यकता औंल्याए ।

नेपालमा कृषिसम्बन्धि अध्ययन÷अध्यापन गराउने कलेज नै नभएको भन्ने भनाई गलत भएको बताउनुभयो । सांसद प्रमिला कुमारीले बैठकमा नेपालमा कृषि सम्बन्धि अध्ययन गराउने कलेजहरु प्रयाप्त नभएको भन्दै जिज्ञासा रखेका थिए । बजारमा कृषिको ठूलो जनशक्ति भएपनि त्यसलाई प्रयोग गर्न नसकिएको मन्त्री भूसालको भनाइ छ ।

विप्लव

प्रतिबन्धित विप्लव समूहले बुधबार साँझ नागार्जुन र बालुवाटारमा एकै समयमा बम विस्फोट गराएपछि काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ ।

गृह मन्त्रालयको ठाडो निर्देशनमा उपत्यकाका भीआईपी र भीभीआईपी बसोबास तथा आवतजावत गर्ने स्थानहरु ‘लोकेटेड’ गरेर सुरक्षा व्यवस्था मजबुत बनाइएको प्रहरीले बताएको छ । बम विस्फोट लगत्तै गृहमन्त्री राम बहादुर थापाले चारवटै सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिए । 

काठमाडौँ प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, मन्त्रीहरु तथा विभिन्न दलका नेताहरु बसोबास गर्ने स्थानहरुमा सुरक्षा व्यवस्था थप कडा पारिएको हो ।

माघ १ गते बालुवाटारस्थित ललिता निवास प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा विप्लव समूहले बम विस्फोट गराएको थियो । त्यस्तै सोही दिन ललिता निवास परिसरमै पनि कुकर बम विस्फोट भएको थियो । 

यी दुवै घटनाको जिम्मेवारी नेकपा विप्लव समूहले लिएको छ । सो समूहले राज्यको सम्पत्ति व्यक्तिले चरम रुपमा दुरुपयोग गरेको भन्दै सो प्रकरणमा जोडिएकाहरुलाई लक्षित कारबाही थालेको विप्लव निकटहरुले बताउँदै आएका छन् ।

मौसम

नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशैभर बदलीसँगै वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ । उक्त मौसमी प्रणालीका कारण देशका अधिकांश स्थानमा वर्षा तथा उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् सजिना शाक्यका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । शनिबारदेखि मौसममा क्रमिक सुधार आउने उहाको भनाइ छ । महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी युक्त विशेष बुलेटिन जारी गर्दै मध्य र पश्चिमका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा भारी हिमताको सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । 

काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा बिहीबार साँझदेखि निरन्तर वर्षा भइरहेको छ । उपत्यकामा अहिले पनि वर्षा भइरहेको छ । वर्षाका कारण जनजीवन प्रभावित भएको छ । वर्षातसँगै मौसम बदलीका कारण आज काठमाडौँमा बढी चिसो महसुस गरिएको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँमा २१ मिलिमिटर वर्षा भएको छ । भैरहवामा ३९, दाङ्मा २७, पोखरामा २३, वीरेन्द्रनगरमा २४, नेपालगञ्जमा १०, डडेल्धुरामा आठ, धनगढी र दिपायलमा समान सात मिलिमिटर वर्षा भएको छ । काठमाडौँको न्यूनतम तापक्रम आठ दशमलव आठ र अधिकतम तापक्रम १४ दशमलव नौ मिलिमिटर वर्षा भएको छ ।

यता, लगातारको वर्षाले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको छ । अन्तर्रा्ष्ट्रिय उडान भने नियमित भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले प्रतिकूल मौसमका कारण आन्तरिकतर्फ आंशिकरूपमा उडान प्रभावित भएको र अन्तर्राष्ट्रिय उडान सामान्य रहेको जानकारी दिनुभयो । आन्तरिकतर्फ बिहान केही उडान भए पनि अहिले आंशिकरूपमा मात्रै उडान भइरहेको महाप्रबन्धक केसीको भनाइ छ । 

खासगरी उच्च हिमाली भेग तथा पहाडी क्षेत्रका उडान बढी प्रभावित भएका छन् । अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकोप्टरसहित २० तथा अन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित २८ वटा वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।

आस्था राउत

प्रहरीलाई तुच्छ शब्दले गाली गरेको भिडियो सार्वजनिक भएपछि विवादमा तानिएकी गायिका आस्था राउतले आफूले बोलेको शब्दहरुप्रति आफैलाई ग्लानी महसुस भएको बतएकी छन् ।
शुक्रबार फेसबुक लाइभमार्फत गायिका राउतले महिला प्रहरीले दुर्व्यवहार गरेपछि आफ्नो मनोबल घटेको र मन दुखेको भन्दै माफि मागेको भिडियो सार्वजनिक भएको छ ।
राम्रो काम गरेर हिँडेको मान्छेले कहिले दम्भ नदेखाउने बताउँदै गायिका राउतले अत्याचार भएर बोल्दा उल्टै नराम्रो भएको र फ्यानहरुलाई आफ्नो तर्फबाट बोलिदिन आग्रह पनि गरिन् ।
कसैको पनि मनोबल गिराउने उद्देश्य नरहेको गायिका राउतकोे दावी छ । 

विमानस्थलमा प्रहरीले दुरव्यवहार गरेको आरोप राउतले लगाएपछि विमानस्थलको भिडियो पनि सार्वजनिक भएको छ । विमानस्थलको १ मिनेट ४५ सेकेण्ड लामो भिडियोमा महिला प्रहरी रमिशा श्रेष्ठले चेकजाँच गर्दा भनाभन भएको देखिन्छ ।

महिला प्रहरीले राउतलाई ज्याकेट खोलेर आउन भन्दा राउत रिसाएको देखिन्छ । विमानस्थलमा चेकजाँच सामान्य प्रक्रिया हो । कुनै कलाकार वा ठूला व्यक्तित्व हुँदैमा शरीर चेकजाँच नगर्ने भन्ने नहुने र महिला प्रहरीले आफ्नो नियमित काम गरेको प्रहरीले बताएको छ ।

प्रहरी स्रोतका अनुसार महिला प्रहरीले नभएर राउतलेचाहिँ महिला प्रहरीमाथि अभद्र व्यवहार गरेको बताएको छ । त्यसैगरी, राउतविरुद्ध विमानस्थलकी महिला प्रहरी श्रेष्ठले उजुरी दिनुभएको प्रहरीले जनाएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप