बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

विप्लवको ‘थ्रेट’पछि भीआईपी र भीभीआईपी एरियामा सुरक्षा ‘हाइअर्लट’ !

महासचिव पौडेल ‘टार्गेट’मा
शुक्रबार, ०३ माघ २०७६, १६ : ०३
शुक्रबार, ०३ माघ २०७६

काठमाडौँ । प्रतिबन्धित विप्लव समूहले बुधबार साँझ नागार्जुन र बालुवाटारमा एकै समयमा बम विस्फोट गराएपछि काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ ।

गृह मन्त्रालयको ठाडो निर्देशनमा उपत्यकाका भीआईपी र भीभीआईपी बसोबास तथा आवतजावत गर्ने स्थानहरु ‘लोकेटेड’ गरेर सुरक्षा व्यवस्था मजबुत बनाइएको प्रहरीले बताएको छ ।

बम विस्फोट लगत्तै गृहमन्त्री राम बहादुर थापा ‘बादल’ ले चारवटै सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिएका थिए । बादलले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुलाई सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिएका हुन् । 

काठमाडौँ प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, मन्त्रीहरु तथा विभिन्न दलका नेताहरु बसोबास गर्ने स्थानहरुमा सुरक्षा व्यवस्था थप कडा पारिएको हो ।

माघ १ गते बालुवाटारस्थित ललिता निवास प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा विप्लव समूहले बम विस्फोट गराएको थियो । त्यस्तै सोही दिन ललिता निवास परिसरमै पनि कुकर बम विस्फोट भएको थियो ।

यी दुवै घटनाको जिम्मेवारी नेकपा विप्लव समूहले लिएको छ । सो समूहले राज्यको सम्पत्ति व्यक्तिले चरम रुपमा दुरुपयोग गरेको भन्दै सो प्रकरणमा जोडिएकाहरुलाई लक्षित कारबाही थालेको विप्लव निकट एक नेता बताउँछन् ।

प्रधानमन्त्री, प्रधान्यायाधीश र सभामुखलगायतको निवास रहेको बालुवाटार क्षेत्रमा विप्लव समूहका कार्यकर्ताले बम राखेपछि सुरक्षा चुनौती थपिएको महसुस गर्दै प्रहरीले बम विस्फोटको घटनाको सुक्ष्म अनुसन्धान गरिरहेको जनाएको छ ।

एसएसपी सुवेदीका अनुसार मुख्य गेट छलेर तारबार गरेको ठाउँबाट उक्लिएर बालुवाटारस्थित ललिता निवास परिसरमा बम राखेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । एसएसपी सुवेदी भन्छन्, ‘ विप्लव समूहले थप आक्रमण गर्नसक्ने भन्दै बालुवाटरलगायतका स्थानहरुमा सुरक्षा सतर्कता बढाइएको छ ।’

विप्लव समूह अपराधिक सङ्गठन रहेको भन्दै सरकारले २०७५ फागुन २८ गते उसका गतिविधिमाथि प्रतिबन्ध लगाएको थियो । त्यसयता विप्लव समूहका एक हजारभन्दा बढी नेता÷कार्यकर्ता पक्राउ परिसकेका छन् ।

सरकारले विप्लव समूहलाई आतंककारी समूह रहेको घोषणा समेत गरेको छ । सूचना, सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्रवmक्ता समेत रहेका गोकुल बाँस्कोटाले माघ २ गते नियमित पत्रकार सम्मेलनको क्रममा विप्लवका गतिविधिले सो समूह आतंककारी रहेको पुष्टि भएको बताएका थिए ।

महासचिव पौडेल ‘टार्गेट’मा

यस्तै ललिता निवास प्रकरणमा मुछिएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव पौडेललाई विप्लव समूहले मुख्य ‘टार्गेट’ मा राखेको घोषणा गरेको छ । ढकालको घरमा भेटिएको विप्लव समूहको पर्चामा महासचिव पौडेललगायत केही व्यक्तिहरुको नाम टार्गेट सूचीमा राखेको पाइएको हो ।

विप्लवको कारबाहीको लिस्टमा विष्णु पौडेल, भाभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, गोयल समूह, चाचन ग्रुप, केडिया ग्रुप, सारदा ग्रुप, रामकुमार सुवेदी र गोपाल खनाल छन् । 

सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएको एक महिना नबित्दै नख्खुस्थित एनसेल टावरमा बम विस्फोट गराएको थियो । बम विस्फोट २०७५ फागुन १० गते भएको थियो ।

सो विस्फोटमा परी दुईजनाको मृत्यु भएको थियो । सोही दिन कमलपोखरीस्थित ल्होत्से चोकमा रहेको आँगन स्विट्सभित्र बम भेटिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप