शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

१७ करोड भुक्तानी भइसकेको नेपालको रेल भारतमा तयार, फ्रेब्रुअरी पहिलो साता नेपाल आउने

ऐन, नियमावली नबन्दा सञ्चालनमा समस्या
शुक्रबार, ०३ माघ २०७६, १२ : १०
शुक्रबार, ०३ माघ २०७६

काठमाडौँ । आफ्नै रेल सञ्चालन गर्ने नेपालको सपना अन्ततः पूरा हुने भएको छ । ढिलामा अबको दुई तीन महिनाभित्रै नेपालले रेल पाउँदै छ । यतिखेर नेपालका लागि भनेर अर्डर गरिएको रेल भारतमा तयार भएको छ । रेल निर्माणको जिम्मेवारी पाएको कोनकान रेलवे कर्पोरेसनले नेपालको रेल तयार गरेको हो ।

नेपाल–भारत जीटुजी सम्झौतामा निर्माण भएको रेलका लागि नेपाल सरकारले गत मे १०, २०१९ मा कोनकानसँग रेल निर्माणको सम्झौता गरेको थियो । कुल ८४ करोड ६५ लाखमा  दुईवटा डेमो (डिजेल इलेक्ट्रिक युनिट) रेल निर्माण गर्ने गरी सम्झौता भएको थियो । त्यसका लागि सरकारले २० प्रतिशत मुबिलाइजेसन भुक्तानी समेत गरिसकेको छ  । बाँकी ८० प्रतिशत लागत भने, दुईवटै रेल नेपाल भित्री सकेपछि मात्र भुक्तानी गर्ने गरी सम्झौता भएको रेल विभागका महानिर्देशक बलराम मिश्रले रातोपाटीलाई बताए । त्यो पनि परीक्षणपश्चात मात्र भुक्तानी गर्नेगरी सम्झौता भएको उनको भनाइ छ ।

नेपालका लागि भनेर तयार गरिएको रेल अबको केही दिनभित्रै नेपाल भित्रिँदैछ । अडर गरिएको दुईवटा रेलमध्ये एउटा रेल फ्रेब्रुअरीको पहिलो साताभित्र नेपाल भित्री सक्ने विभागले जनाएको छ । बाँकी अर्को एउटा रेल भने, मार्चको अन्त्यसम्ममा नेपाल ल्याइने महानिर्देशक मिश्रले जानकारी दिए । तर अहिले विभिन्न मिडियामा आएजस्तो रेल भारतबाट हिडिनसकेको मिश्रको भनाइ छ ।

‘अहिले केही मिडियाबाट गलत प्रचार भइरहेको छ । मैले भन्दै नभनेको कुरा पनि मेरै कोड गरेर समाचार छापिएका छन् । तर मैले रेलका बारेमा त्यस्तो बोलेको छैन,’ महानिर्देशक मिश्रले भने, ‘रेल आउँदै छ तर आइसकेको होइन । रेल गुडाएरै नेपाल ल्याइने हुँदा प्राविधिक तथा स्थलगत व्यवस्थापनको जरुरी हुन्छ । अहिले त्यसको तयारी हुँदैछ ।’ सम्भवतः फेब्रुअरीको पहिलो सातासम्ममा रेल नेपाल आइसक्ने छ । महानिर्देशक मिश्रले भने ।

महानिर्देशक मिश्रका अनुसार रेल नेपाल आइसकेपछि पनि सञ्चालनको भने कुनै टुङ्गो भएको छैन । रेल सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि तथा ऐन नियमावली बन्न नसक्दा यस्तो भएको हो । अहिले रेल ऐनसम्बन्धीको नियमावलीको मस्यौदा संसदमा नै अड्किएको छ । संसदको किचलोकै कारण नियमावली पारित हुन सकेका मिश्रको भनाइ छ । यद्यपि यता, विभागले भने रेल सञ्चालनसम्बन्धी कार्य योजनाहरु तयार गरिरहेको छ । अहिले विभागले रेल सञ्चालन तथा व्यवस्थापनका विविध आवश्यक पूर्वाधारहरु तयार गर्दै छ । 

यस्तो छ नेपालका लागि तयारी गरिएको रेल

प्रारम्भिक रूपमा नेपालका लागि तयार गरिएको दुईवटा रेल प्यासेन्जर (यात्रुबाहक) रेल हो । आवश्यकताअनुसार पछि कार्गो रेलसमेत ल्याउन सकिने रेल विभागको भनाइ छ । हाल तयार गरिएको डमो (डिजेल इलेक्टिङक युनिट) रेलमा फाइभ कारकोच अर्थात् पाँचवटा डिब्बावाला रेल हो । पाँच डिब्बासहितको रेलको लम्बाइ एक सय मिटर र उचाइ ४ दशमलव ९ मिटर, झण्डैझण्डै ५ मिटरको रहेको छ । यसमा एकै पटक एक हजार जनाले यात्रा गर्न सकिने विभागले जनाएको छ । पाँचवटा डिब्बामा चालक दलसहित एसी र नन्एसी गरी डिब्बाहरुलाई छुट्याइएको छ । एउटा डिब्बामा ८४ वटा सिट रहेका छन् भने दुई तीन सय जना उभिएरै यात्रा गर्ने सकिने विभागले जनाएको छ ।

ड्राइभिङ पावर–कार र ड्राइभिङ टेल–कार अवधारणामा निर्मित रेलमा एक पाइलट र अर्को को–पाइलट गरी दुई जना चालक रहने छन् । रेललाई हेड र टेल दुई तर्फबाटै चलाउन सकिन्छ । रेल विभागका सूचना अधिकारी अमन चित्रकारका अनुसार अगाडि भागमा राखिएको डेमो इन्जिनले आवश्यकतामा पछाडिको टेल ड्राइभमा पावर सप्लाई गर्छ र चलाइन्छ । डेमो रेलको गति एक सय किलोमिटर प्रतिघण्टा रहेको छ भने एक हजार टन क्षमता रहेको छ ।

नेपालका लागि तयार गरिएको रेलमा नेपालको झण्डा प्रयोग गरिएको छ । रेलको बडी कलरमा समेत राष्ट्रिय झण्डाको तीन कलर मिश्रित गरिएको छ ।

यी रुट भएर चल्ने छ रेल

अहिले नेपालले सञ्चालन गर्न लागेको रेल सेवा अन्तरदेशीय रेल सेवा हो । यो रेल नेपाल–भारत बोडर भएर चल्ने छ । नयाँ रुट नभएर पहिलेकै जनकपुर–जयनगर ५२ किलोमिटरमा चल्ने छ । तर यसको रुट भने बर्दियासम्मको हो । नेपाल–भारत रेलवे सेवाको कुल दूरी ६९ किलोमिटर रहेको छ ।

तर प्रारम्भका लागि भने, जनकपुर–जयनगर रेल सञ्चालन गर्न लागिएको विभागले जनाएको छ । कुल ५२ किमि जनकपुर–जयनगर रेलवेमा अहिले ३५ किलो मिटरको रेल लिग तयार भइसकेको छ भने बाँकी १७ किमि दूरीका लिग पनि तयार हुने चरणमा छ । बाँकी लिग पनि अब छिट्टै तयार हुने महानिर्देशक मिश्रले बताए ।

 ८ स्थानमा रेलवे स्टेसन

विभागका अनुसार कुल ६९ किमिका लागि अहिले ८ स्थानमा रेलवे स्टेसन तयार गरिएको छ । जनकपुर–जयनगर रेलवे रुटका लागि जयनगर, इनरुवा, खजुरी मैनाथपुर, बैदेही, प्रवाह, जनकपुर र कुर्था गरी ८ स्थानमा रेलवे स्टेसन रहने छन् । यो स्टेसन हल्टसहितको स्टेसन रहेको विभागले जनाएको छ । एक स्टेसनका लागि कम्तीमा १०–१२ जना कर्मचारी लाग्छ । सबै स्टेसन र रेल सञ्चालन, व्यवस्थापनका लागि दुई सयभन्दा बढी कर्मचारी आवश्यक रहने महानिर्देशक मिश्रको भनाइ छ । तर अहिले विभागसँग जम्मा १४ जना मात्र कर्मचारी छन् ।

मिश्रका अनुसार विभागले अब छिट्टै कर्मचारी माग गर्ने छ । तर प्रयाप्त समय नभएकाले स्थायी नभएर अस्थायी रूपमा नभए पनि करारमा कर्मचारी भर्ना गर्ने विभागको योजना छ ।

प्राविधितर्फ भने प्रारम्भमा भारतबाटै प्राविधिक कर्मचारी ल्याई सेवा सञ्चालन गरिने विभागको भनाइ छ । त्यसो त यो रेल प्रोजेक्ट नै भारतीय सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालनमा आउन लागेको हो ।

यसमा नेपाल सरकारको आफ्नै लगानी भनेको जग्गा प्राप्ति (मुआब्जा) वितरण, रेल खरिद र रेल खरिदमा लाग्ने भन्सार छुट हो ।

रेल सञ्चालनका विविध जटिलता र अप्ठ्याराहरु रहे पनि नेपालको हितमा सरकारले रेल सञ्चालनमा तदारुकता देखाएको महानिर्देशक मिश्रले बताए । रेल सञ्चालनमा आएसँगै दुई देशबीचको व्यावसायिक फाइदा र मित्रता अझ गाढा हुने उनको भनाइ छ ।

‘नेपालको रेल सञ्चालनका प्रयाप्त फाइदाहरु भए पनि सरकारले अहिले नै नाफा घाटा हेरेको छैन ।’ मिश्रले भने, ‘तत्काल फाइदा नदेखिए पनि कालान्तरमा पछि देशलाई फाइदा पुग्छ ।’ मिश्रका अनुसार नेपालजस्तो भूपरिवेष्ठित राष्ट्रका लागि रेल नै ढुवानीको साधनको उपयुक्त विकल्प हो । यसले ढुवानीको ५० प्रतिशतसम्म खर्च बचत गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप