शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

निर्भया बलात्कार मामिलाका दोषीद्वारा कारागारमा नै आत्महत्याको प्रयास

शुक्रबार, ०३ माघ २०७६, ०९ : ५०
शुक्रबार, ०३ माघ २०७६

कडा सुरक्षा र सीसीटिभी निगरानीका बावजुद निर्भया बालात्कार मामिलाका दोषी विनय शर्माले तिहाड जेलमा आत्महत्याको प्रयास गरेका छन् । कारागार स्रोत र विनयका वकिल एपी सिंहका अनुसार यो घटना बुधबार बिहान भएको हो ।

विनयले झुण्डिएर आत्महत्या गर्ने प्रयास गरे पनि सुरक्षाकर्मीहरुले उनलाई जोगाएका थिए । यद्यपि, जेलका महानिर्देशक सन्दीप गोयलले भने घटना भएको अस्वीकार गरे ।

स्रोतलाई उल्लेख गर्दै भारतीय सञ्चारमाध्यम दैनिक भास्करले लेखेको छ, ‘घटनापछि विनयलाई मेडिकल इन्सपेक्सन रुममा २४ घण्टा डाक्टरहरुको निगरानीमा राखिएको थियो ।’ कारागार स्रोतका अनुसार घटनापछि बिहीबार विनय र जेलनम्बर २ बन्द रहेका मुकेश, अक्षय र पवनलाई फाँसी घरबाट नजिक रहेको उच्च सुरक्षासहितको जेल नम्बर ३ मा सारिएको छ ।

यो आदेश जनवरी ९ मा नै दिइएको थियो । तर, यसलाई हालसम्म लागु गरिएको थिएन ।

विनय जेल नम्बर ४ को सिङ्गल कोठामा बन्द थिए । उनको कोठा र शौचालयको बीचमा केवल एउटा पर्दा रहेको थियो । बुधबार बिहान ९ देखि १० बजे उनले गम्छालाई फन्दा बनाएर शौचालयमा झुण्डिने प्रयास गरेका थिए । तर, त्यसको उचाइँ ५ देखि ६ फिट मात्र भएको कारण उनी राम्रोसँग झुण्डिन पाएनन् । यही दौरान अन्य कैदीले सुरक्षाकर्मीहरुलाई सूचना दिएका थिए ।

निर्भया बलात्कार मामिलाका दोषीहरुलाई जनवरी २२ मा फाँसी दिनका लागि अदालतले आदेश दिएको छ । तर, फाँसीका लागि कारागारले नयाँ मिति तय गर्नका लागि आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप