शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नौ वर्षपछि उपत्यकामा ट्राफिक लाइट,  पैदलयात्रुका लागि पनि ‘सिग्नल’

सवारी र पैदलयात्रुको बानी बसाल्न ट्राफिक प्रहरीलाई सकस
शुक्रबार, ०३ माघ २०७६, ०९ : २२
शुक्रबार, ०३ माघ २०७६

काठमाडौँ । उपत्यकाका ११ वटा चोकमा तपाईंले अब ट्राफिक प्रहरीले हात हल्लाउँदै ट्राफिक व्यवस्थापन गरेको देख्नु पर्दैन । साथै सवारी साधनहरु पनि ट्राफिक लाइटको सिग्नललाई फलो गरेर रोकिने र गुड्नेछन् । यो जोडेपछि पैदलयात्रुलाई बाटो काट्न पनि लामो समयसम्म कुर्नुपर्ने छैन ।

नौ वर्षअघि बिग्रिएका उपत्यकाका ११ स्थानका ट्राफिक लाइट बल्न थालेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखा र सडक विभागको समन्वयनमा पुतलीसडक, पद्मोदय मोड (२ वटा), सिंहदरबार, पुरानो बानेश्वर, नयाँ बानेश्वर, तीनकुने (३ वटा),  गौशाला र ललितपुरको महापालमा  ट्राफिक लाइट पुनः सञ्चालनमा ल्याइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापाले समेत चासो लिएपछि ९ वर्षपछि ट्राफिक लाइट सञ्चालनमा ल्याउन सफलता मिलेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालले जानकारी दिए ।

प्रधानमन्त्री ओली आफैले चासो दिएपछि ट्राफिक लाइट पुनः सञ्चालनका लागि सडक विभाग, काठमाडौँ महानगरपालिकाले लगानी गरेके हो । नेपालमा पहिलो पटक विक्रम संवत् २०२३ मा सिंहदरबार र राजदरबारको दक्षिणी गेट, सुन्धारा, न्युरोड गेटमा ट्राफिक लाइट जडान गरिएको थियो ।

त्यसपछि ०५७ सालमा जापान सरकारले काठमाडौँका विभिन्न ठाउँमा ट्राफिक लाइट जडान गरिदिएको तर बिग्रिएपछि ०६८ देखि सुचारु थिएन् । विगत ०६८ सालदेखि ट्राफिक लाइट फेरि बन्द हुँदा काठमाडौँको ट्राफिक व्यवस्थापनमा प्रतिकूल असर परेको थियो ।

उपत्यकाको ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि धमाधम ट्राफिक लाइट जडान गरिएको हो । विभागले राजधानीका सडकमा ट्राफिक लाइट जोड्नका लागि एक वर्षअघि नै ठेक्का खुलाएको थियो । हाल सञ्चालनमा रहेका ट्राफिक लाइट नेपाली इन्जिनियरले नै बनाएका हुन् ।

‘सडक विभाग र मर्मतको ठेक्का पाएको कम्पनीसँग समन्वय गरेर आठ वर्षपछि पुनः सञ्चालनमा ल्याउन सफल भयौँ,’ महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता जीवन कुमार श्रेष्ठले भने, ‘यसले उपत्यकामा हुने दुर्घटना न्यूनीकरणमा सघाउ पुग्नेछ ।’

एउटा लाइट बनाउन कम्तीमा ४ लाख रुपियाँ खर्च गरेको सडक विभागले जनाएको छ । उपत्यकामा हुने सवारी दुर्घटना ट्राफिक लाइट नहुनु पनि मुख्य कारण पाइएपछि विभाग र ट्राफिक धमाधम लागिपरेको छ । अबको केही दिनमै मित्रपार्क, कालिमाटी, टङ्केश्वर, परोपकार र पुल्चोकमा ट्राफिक लाइट सञ्चालन ल्याइने ट्राफिक प्रहरीको दाबी छ ।

ट्राफिक लाइट व्यवस्थापनसम्बन्धी हालको अवस्था

काठमाडौँ उपत्यकाभित्र जापान सरकारको सहयोग र नेपाल सरकारबाट २४ स्थानमा ट्राफिक लाइट जडान गरिएको थियो, जसमध्ये ११ ठाउँका मात्र चालु छ । हेरौँ ट्राफिक लाइट कहाँ चालु छन् कहाँ छैनन् :

सिस्टम फलो गर्न गाह्रो

चालक र पैदलयात्रुलाई सञ्चालनमा आएको ट्राफिक लाइट फलो गर्न गाह्रो परेको पाइएको छ । सिंहदरबार चोकमा रहेका ट्राफिक प्रहरी जवान विष्णुसिंह ठकुरीका अनुसार बानी पार्न गाह्रो भएको छ । उनले भने, ‘सिठ्ठी फुकेर बस्नु पर्दैन । पहिलेको भन्दा काम गर्न चाहिँ सजिलो भएको छ । तर यात्रु र चालकलाई बानी पर्न गाह्रो नै भएको छ ।’

गाडी चालकहरूभन्दा पनि मोटरसाइकल चालकहरुले सिस्टम फलो नगर्ने जवान ठकुरीको भनाइ छ । उनले भने, ‘हुत्तिएर मोटरसाइकल चालकहरु आउँछन् । ट्राफिक लाइटको उनीहरुलाई मतलब नै हुन्न ।’

यस्तै सिन्धुपाल्चोक घर भएकी ४१ वर्षीया गीता खड्काले ट्राफिक बत्ती बलेको देख्दा खुसी लागेको बताइन् । उनले भनिन्, ‘८, ९ वर्षअघि यस्तै देखेको थिएँ । बीचमा पोलमा बत्ती देखिन्थ्यो, बत्ती बलेको देखिँदैनथ्यो । खुसी लागेको छ ।’

कहाँ–कहाँ राख्नुपर्छ अब ट्राफिक लाइट ?

ट्राफिक महाशाखाका अनुसार काठमाडौँ उपत्यकाको १०८ स्थानमा ट्राफिक लाइट राख्नुपर्ने हुन्छ । पहिलो चरणमा ३६ स्थानमा आवश्यक रहेको महाशाखाका प्रवक्ता श्रेष्ठले रातोपाटीलाई बताए । यस्तै दोस्रो चरणमा ३२ स्थान र तेस्रो चरणमा ४० ठाउँ रहेको छ ।

सोह्रखुट्टे, लैनचौर, केशरमहल, वीरअस्पताल, सुन्धारा, चाइना टाउन गेट, त्रिपुरेश्वर, नारायणहिटी दक्षिण गेट, दरबारमार्ग, त्रिचन्द्र कलेज अगाडि, रत्नपार्क, पुरानो बसपार्क, भद्रकाली, जय नेपाल चोक, कमलपोखरी, काठमाडौँ प्लाजा, कमलादी, बागबजार, शंकरदेव कलेज अगाडि, पद्मोदय मोड, अनामनगर चोकमा अत्यावश्यक छ ट्राफिक लाइट ।

यस्तै सिंहदरबार, माइतीघर चोक, थापाथाली चोक, सडक विभाग बबरमहल, नयाँ बानेश्वर चोक, सिभिल अस्पताल मिनभवन, तीनकुने चोक, लैनचौर दक्षिण, शीतल निवास, कान्ती अस्पताल, निर्मल निवास, गोल्खुपाखा, कानदेवता कुपन्डोल, सहिद शुक्र पार्क हिमालयन होटल अगाडि, पुल्चोक र जावलाखेलमा राख्न आवश्यक छ ।

जावलाखेल चोक, दमकल मोड, कुमारीपाटी कुपण्डोल, हनुमानस्थान, बानेश्वर, कलङ्की, गठ्ठाघर, माली पेट्रोलपम्प, साल्ट ट्रेडिङ, बानेश्वर, वनस्थली, स्वयम्भु, गौशाला, सोह«खुट्टे, भक्तपुर, सूर्यविनायक, एयरपोर्ट, बौद्ध, मित्रपार्कमा अण्डर पासको बाटो आवश्यक रहेको सडक विभागले जनाएको छ ।

यस्तै बाटो क्रस गर्न सजिलो होस् भन्दै पैदलयात्रुका लागि २६ स्थानमा आकासे पुलहरु समेत निर्माण भएको छ । तर अधिकांश पैदलयाुत्र आकासे पुलभन्दा पनि जथाभावीबाट बाटो काट्ने गर्छन् ।

पैदलयात्रीका लागि सञ्चालनमा रहेका आकासे पुल :

१. जमल, २. भोटाहिटी, ३. रणोद्दीप, ४. पुरानो बसपार्क, ५. भद्रकाली, ६. नागस्थान माथिल्लो, ७. नागस्थान तल्लो, ८. न्युरोड गेट, ९. वीर अस्पताल अगाडि, १०. नयाँ बसपार्क, ११. पुल्चोक, ललितपुर, १२. जडीबुटी, १३. लोकन्थली चोक, १४. कौशलटार, १५. ट्राफिक प्रहरी प्रभाग, गठ्ठाघर अगाडि, १६. गठ्ठाघर अगाडि, १७. चारदोबाटो, १८. ठिमी चोक, १९. सिर्जनानगर, २० सल्लाघारी, २१. चुनदेवी, २२. सूर्यविनायक, २३. पानीट्याङ्की, थापागाउँ जाने मार्ग, २४. कोटेश्वर, २५. ग्वार्को, बीएन्डबी, २६. धोवीघाट ।

तत्काल बनाउनुपर्ने स्थानहरु :

१. लैनचौर, २. केशरमहल, ३. नयाँ बानेश्वर, ४. कालिमाटी चोक तरकारी बजार अगाडि, ५. त्रिपुरेश्वर चोक, ६. थापाथलीचोक, ७. कोटेश्वर, ८. चावहिल, ९. गौशालाचोक (पशुपति जाने तर्फको), १०. नारायण गोपाल चोक, ११. बालाजु चोक, १२. बसुन्धरा चोक, १३. माइतीघर, १४. शंकरदेव, १५. पुतलीसडक, १६. ल्होत्से चोक, १७. स्वयम्भु चोक, १८. टेकु, १९. कलङ्की ।

पैदलयात्रुका लागि पनि ‘हरियो बत्ती’

पैदलयात्रीका लागि पनि बाटो काट्न विशेष सुविधा छ । पैदलयात्रुका लागि ट्राफिक महाशाखाको कन्ट्रोल युनिटले पैदलयात्रीलाई बाटो काट्न अनुमति दिने गरी हरियो बत्ती बाल्ने गरेको छ । पैदलयात्रीले आफूले बाटो काट्ने अनुमति पाउका लागि जेब्रा क्रसिङसँगै राखिएको पोलमा बत्तीको ‘सिग्नल’ छ ।

हरियो बत्ती बलेको बेला बाटो काट्ने अनुमति हुन्छ । ‘सबैले सिस्टमलाई मानिदिए भने काठमाडौँको ट्राफिक व्यवस्थापनमा यो प्रभावकारी हुनेछ,’ एसएसपी ढकालले भने, ‘ट्राफिक लाइट जोडेपछि काठमाडौँको सवारी व्यवस्थापन र सहरी प्रतिष्ठा प्रवद्र्धनमा ठूलो टेवा पुग्नेछ ।’

पैदलयात्रुका लागि (Pedestrian Control Light) रहेका स्थानहरु मर्मत गर्नुपर्ने :

सोलारबाट पनि ट्राफिक लाइट

काठमाडौँ उपत्यकामा सञ्चालनमा आएको ११ वटा ट्राफिक लाइटमध्ये ४ वटा बत्ती सोलारबाट चल्ने गरेको पाइएको छ । गौशाला, पुरानो बानेश्वर, पद्मोदय–२ र नयाँ बानेश्वरमा ट्राफिक लाइट सोलरबाट सञ्चालनमा रहेको पाइएको हो ।

सोलारबाट सञ्चालित बत्तीहरुमा एकदमै समस्या देखिएको ट्राफिक प्रहरीहरु नै बताउँछन् । सोलारबाट सञ्चालित बत्तीहरु बेलाबेला मात्र चल्ने, काउनडाउन नचल्ने, ह्याङ हुने समस्याले ग्रसित छ ।

यस्तै, पुतलीसडक, महापाल, सिंहदरबार, गौरीगाउँ, सुविधानगर, तीनकुने र मुनिभैरवमा सञ्चालित बत्तीहरु विद्युतबाट नै चलेको छ । विद्युत्बाट चले पनि बत्ती मधुरो बल्ने गरेको पाइएको छ । दिउँसोको समयमा बत्ती बलेको देख्न नै गाह्रो हुने ट्राफिक प्रहरीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप