शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दक्षिण अफ्रिकामा ४ करोड ५० लाख व्यक्तिलाई खाद्यान्न सहयोग आवश्यक: राष्ट्रसंघ

बिहीबार, ०२ माघ २०७६, २२ : १८
बिहीबार, ०२ माघ २०७६

एजेन्सी । दक्षिण अफ्रिकामा खडेरी र बाढीका कारण आर्थिक गरिबीमा रहेका करिब चार करोड ५० लाख व्यक्तिलाई खाद्यान्न सहयोग आवश्यक देखिएको राष्ट्रसंघले बिहीबार जनाएको छ ।

‘भोकमरीको यो सङ्कट दक्षिण अफ्रिकामा अहिलेसम्म नभोगेको र नसोचेको अवस्थामा पुगेको र यो दर अझै बढदो अवस्थामा रहेको छ,’ विश्व खाद्य कार्यक्रमका क्षेत्रीय निर्देशक लोला क्यास्ट्रोले बताए ।

राष्ट्रसंघीय उक्त संस्थाले बताएअनुसार दक्षिण अफ्रिकामा लामो समयसम्म खडेरी परेको र त्यसपछि एक्कासी परेको वर्षाका कारण स्थानीय कृषि उत्पादनमा अनपेक्षित क्षति पुग्दा यहाँका नागरिकले आफ्ना बहुमुल्य सम्पत्तिलाई बेचेर खाद्यान्न व्यवस्थापन गर्नुपरेको वास्तविकता रहेको छ ।

खाद्यान्न अभावका कारण महङ्गो खाद्यान्नको जोहो गर्नुपर्दा देखिएको गरिबीका कारण बालबालिकाले विद्यालयको शुल्क तिर्न नसक्दा विद्यालयबाट बाहिरिएका घटना र आधा पेट खाने वा खाना नै नखाने अवस्था धेरै अफ्रिकी नागरिकको दैनिकी रहेको पनि क्यास्ट्रोले बताए ।

क्यास्ट्रोले भने, ‘अफ्रिकालाई खाद्यान्न व्यवस्थापनका लागि सन् २०२० मा करिब चार करोड ८९ लाख अमेरिकी डलर आवश्यक पर्ने तर संस्थासँग यसको आधा पनि बजेट नभएकोले अन्तर्राष्ट्रिय समुदायले समयमै सोच्नुपर्ने देखिएको छ ।’

दक्षिण अफ्रिकामा विश्वका अन्य मुलुकको तुलनामा तापक्रम दोब्बर बढेको र यहाँका जनताले विगत ३५ वर्ष यता सबैभन्दा खराब खाद्यान्न सङ्कटको सामना गर्नुपरेको राष्ट्रसंघले जनाएको छ ।

निम्न आर्थिक वृद्धि, बढ्दो जनसङख्या दर, खडेरी र बाढीको प्रभाब नै खराब खाद्य सङ्कटको कारक भएको क्यास्ट्रोले बताए ।

खासगरी इस्वाटिनी, लेसोथो, मदागस्कर, मालावी, मोजाम्विक, नामिविया, जाम्बिया र जिम्बाब्वेलगायतका दक्षिण अफ्रिकी मुलुकहरूमा नागरिकले अत्यधिक खाद्यान्न सङ्कटको सामना गरिरहेका राष्ट्रसंघले जनाएको छ ।

जिम्बाब्वेका आधा जनसङ्ख्या अर्थात् एक करोड ५० लाख नागरिकले चरम खाद्य सङ्कट झेलिरहेको राष्ट्रसंघको तथ्याङ्कमा उल्लेख छ ।

जिम्बाब्वेमा खडेरीका कारण गत वर्ष तीन महिनाको समयमा करिब २०० हात्ती खानाको अभावमा मरेका थिए भने अन्य जनावरले पनि यसको पीडा भोग्नुपरेको थियो ।

लेसोथोमा २० प्रतिशत, नामिवियामा १० प्रतिशत नागरिकले खाद्यान्न अभाबको सामना गरेका छन् । त्यस्तै रेडक्रसले दिएको तथ्याङ्कमा जाम्बियामा करिब २३ लाख नागरिकमा खाद्यान्न असुरक्षा रहेको छ । जाम्बियालाई अफ्रिकाको खाद्यान्न भन्डार भनिने गरेपनि खडेरीका कारण पानीका स्रोतहरू सुक्दा यहाँको कृषि उत्पादनमा ह्रास आएको छ । 

मौसम विज्ञहरूले यस क्षेत्रमा यस वर्ष अझ तातो र सुख्खा मौसमको सामना गर्नुपर्ने बताएका छन् ।

यसैबीच विश्व खाद्य कार्यक्रमले यस वर्ष अफ्रिकामा खाद्य असुरक्षाको पीडामा रहेका ८३ लाख जनसङ्ख्यालाई खाद्यान्न सहयोग वितरण गर्ने कार्यक्रम रहेको जनाएको छ । बाँकी समस्यासँग जुध्न कार्यक्रमले विश्व समुदायको ध्यानाकर्षण गरेको छ । यूरोपेली संघले दुई करोड २८ लाख मानवीय सहायताको राहत कार्यक्रममार्फत यस क्षेत्रमा काम गरिरहेको बिहीबार जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप