बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

छात्रालाई प्रतिमहिना रु ५०० प्रोत्साहन भत्ता दिने : मुख्यमन्त्री राउत

बिहीबार, ०२ माघ २०७६, २१ : २६
बिहीबार, ०२ माघ २०७६

धनुषा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश भित्र सञ्चालित रहेका सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई प्रतिमहिना रु ५०० प्रोत्साहन भत्ता दिने बताएका छन् ।

प्रदेश नं २, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज वीरगञ्जमा आयोजना गरेको ‘छोरी शिक्षा बीमा सप्ताह शिविर’ उद्घाटन गर्दै उनले भने, “ प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि सामुदायिक विद्यालयको कक्षा १ देखि ८ सम्मका छात्रालाई रु ५०० का दरले प्रोत्साहन रकम उपलब्ध गराउने तयारी गरेको छ । ” 

मुख्यमन्त्री राउतले विद्यालयमा छात्रालाई टिकाइ राख्न यो योजना प्रदेश सरकारले शुरु गर्न लागेको स्पष्ट गर्दै छोरीलाई २० वर्षभित्र रु २० लाख उपलब्ध गराउने सोचका साथ प्रदेश सरकार अगाडि बढिरहेको बताए ।

उनले प्रदेश सरकारले थालनी गरेको ‘बेटी पढाइ, बेटी बचाइ’ कार्यक्रमअन्तर्गत रु एक लाखको बीमा रकमलाई रु २० लाखसम्म पु¥याउने सोचका साथ प्रदेश सरकार अघि बढिरहेको जानकारी दिए । 

मुख्यमन्त्री राउतले छोरी शिक्षाको बीमा रकमलाई वृद्धि गर्न प्रदेशभित्र रहेका स्थानीय तहका प्रमुख तथा अन्य दातृनिकायसँग कुराकानी अगाडि बढाएको उल्लेख गरे । 

छोरी विमा कार्यक्रमका पर्सा जिल्ला संयोजक ईश्वर यादवको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रदीप यादव, प्रदेशसभा सदस्य जन्त अन्सारीलगायतले देश विकासका लागि नारी शिक्षित हुन आवश्यक रहेको र प्रदेश सरकारले थालनी गरेको बीमाले छोरीलाई शिक्षित हुने वातावरण बनाउने विश्वास व्यक्त गरे ।  

वीरगञ्जको विर्तामा सञ्चालित श्री त्रिजुद्ध माविको सभाकक्षमा आजदेखि शुरु भएको सप्ताहव्यापी बीमा शिविर माघ ९ गतेसम्म सञ्चालन हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । विसं २०७५ माघ १ गते यता जन्मिएकी छोरीको बीमा गर्न छुट भएकालाई शिविर सञ्चालन गरिएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप