शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

इजरायलबाट फर्केका श्रीकृष्णले यसरी मारे कृषिमा छलाङ

बिहीबार, ०८ भदौ २०७४, १३ : २५
बिहीबार, ०८ भदौ २०७४

सालोम एग्रिकल्चर प्रा.लि.का सञ्चालक श्रीकृष्ण अधिकारीसँग मङ्गलबार अपरान्ह बागबजारमा भेट्ने समय निर्धारण गरिएको थियो । कम्पनीका लागि आवश्यक एक्जिम नम्बरका लागि बबरमहलमा रहेको वाणिज्य विभागमा पुगेका अधिकारी धेरै समय विभागमा अल्झिरहे । सूर्यास्त हुने क्रममा भेटिएका अधिकारीसँग एक कफी सपमा उनको विगत र वर्तमान खोतल्न सुरु गरियो । 

उनले आफ्नो जीवनको पोयो खोल्ने क्रममा सन् २००२ लाई स्मरण गर्न पुगे । द्वन्द्वको पीडाले थिलिएको त्यो समयमा उनले मकवानपुरमा फार्मेसी सञ्चालन गरिरहेका थिए । औसतमा उनको आयस्रोत राम्रै थियो । द्वन्द्वका कारण दुई पक्षको चेपमा परे । गरिआएको पेसा छोडी मुग्लान लाग्ने निधो गरेँ र इजरायल पुगे । त्यहाँको अनुभवले उनलाई सफलताको शिखरमा पुर्यायो । 

इजरायल यात्रा
सन् २००३ को सुरुमा अधिकारी इजरायल पुगे । कृषि कार्यमा त्यहाँ पुगेका उनले कृषि टनेल ग्रिन हाउसमा साढे आठ वर्ष काम गरे । त्यहाँ रहेको बखत ४० देखि ५० डिग्रीसम्म तापक्रम हुने टनेल खेतीमा निरन्तर काम गरेको उनले स्मरण गरे । टमाटरको खेती गरिने उक्त कम्पनीको कार्यमा आफ्नी श्रीमती पनि बोलाए । अधिकारीले विदेशको दुःखको साथै समय र कामलाई सम्मान सिके । त्यसका  अतिरिक्त र महत्वपूर्ण विषय जीवनलाई फलदायी बनाउने सीप  सिके । कामप्रतिको लगाव र समयको महत्व बुझ्न सकेका कारण नै अहिलेको अवस्था आएको उनले बताए । प्रविधिको उच्चत्तम प्रयोग, टनेल निर्माण र थोपा सिंचाइका निर्माण र प्रयोग विधिको सैद्धान्तिक र व्यावहारिक ज्ञान लिए । अधिकारीका लागि आधुनिक कृषि प्रणली सिक्न इजरायल बसाइ उर्वर समय रह्यो ।
श्रीमान र श्रीमतीसँगैको  बसाइ साथै मासिक कमाइ पनि राम्रो थियो । त्यसलाई चटक्क छोडेर अधिकारी दम्पत्तीलाई प्राप्त ज्ञान र सीप नेपालमा खर्चने सोंच पलायो । २०१० को मध्यमा अधिकारी दम्पती स्वदेश फिरे ।

स्वदेशमै कृषि कर्मको सुरुवात 
इजरायलबाट फर्केलगत्तै राजधानीको धर्मस्थलीमा अधिकारीले प्लास्टिक टनेलमार्फत टमाटर खेती सुरु गरे । प्रवासको ज्ञान, सीप र प्रविधिको उच्चत्तम प्रयोग गरी तरकारी उत्पादनमा सफल सुरुवात गरे । ग्रिन हाउसमार्फत गरिएको कृषि उत्पादनमा अधिकारीले इजरायलमा प्रयोग गरिएको थोपा सिंचाइलाई पनि भित्र्याएका थिए । इजरायलबाट आयातित थोपा सिंचाइ अधिकारीका लागि टर्निङ पोइन्ट  बन्यो । उनले सञ्चालन गरिहेको थोपा सिंचाइ परम्परागत प्रणालीभन्दा नितान्त फरक थियो । बीस वर्षअघिदेखि आईडी नेपालले सुरु गरेको परम्परागत थोपा सिंचाइ प्रणाली विस्थापन गरी आधुनिक थोपा सिंचाइ भित्र्याउने अभियानको जस अधिकारीलाई गएको छ । 

सबै प्वालबाट समान वितरण गर्न सकिने तथा उत्पादन पनि बढी गर्न सकिने सिंचाइ प्रणालीबाट कृषि विज्ञ डा. केदार बुढाथोकी प्रभावित भए । उनले वितरण गरेको थोपा सिंचाइ प्रविधिमा घुलित रासायनिक  मललाई पनि बिरुवासम्म पुर्याउन सकिन्छ । बुढाथोकीले इजरायलमा निर्मित थोपा सिंचाइको अधिकारीसँग माग गरे । कृषि कर्म गरिरहेका उनी बुढाथोकीको सङ्गतमा पुगेपछि व्यवसायी बन्न पुगे । बुढाथोकीका कारण  अन्य कृषकहरू पनि अधिकारीको थोपा सिंचाइमा आकर्षित भए । आफ्नो फर्मका लागि प्रयोग गरिएको थोपा सिंचाइ माग बढेपछि उनले सुरुवातका चरणमा इजरायलबाट ल्याई वितरण गरे । ढुवानी तथा भन्सारका कारण लागत बढेकाले इजरायलबाट आयात गर्न असम्भव भएपछि भारतबाट आयात गर्न सुरु गरे ।

देशविदेशसम्म विस्तार 
सालोम एग्रिकल्चर प्रा.लि.मा अहिले १६ जना कामदार काम गरिरहेका छन् । सो कम्पनीमा आश्रित कामदारहरू काम र पारिश्रमिकबाट पूर्ण सन्तुष्ट रहेको अधिकारीले बताए । लामो समय विदेशमा रहेर श्रमिक समस्या भोगेको हुनाले कामदारहरूलाई खुसी राखेको उनको दाबी छ । सन् २०१० मा धर्मस्थलीमा सञ्चालन गरिएको तीन रोपनीको टनेल ग्रिन हाउस  बिस्तारित भएर हाल काठमाडौँको गोलढुङामा १२ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

  सुरुवातको समय करिब ३० लाख रुपियाँको लागतमा सञ्चालन गरिएको कम्पनीले एक सिजनका लागि तीन करोड रुपियाँको प्लास्टिक मात्रै निर्यात गर्नसक्ने हैसियत बनाएको छ ।  कम्पनीले हाल ४२ जिल्लामा रहेका कृषकलाई थोपा सिंचाइ र टनेल प्लास्टिक आयात गरिरहेका छ । कृषिमा आधुनिक प्रविधि लागू गर्ने कृषकका लागि  आयातकर्ता र सहजकर्ता बनेको छ । विगत ५० वर्षदेखि दक्षिण कोरियामा टनेल प्लास्टिक निर्माण तथा निर्यात गर्दै आएको लिउन्सु कम्पनीको पार्टनर बनेको छ ।  नेपाल र भारतका लागि उक्त कम्पनीले उत्पादन गर्ने प्लाटिकको आधिकारिक आयातकर्ता र वितरकमा छनौट भएकोमा सञ्चालक अधिकारीले खुसी व्यक्त गरे । ड्याङ छोप्ने प्लास्टिकका लागि मुल्चिङ प्लास्टिक भने भारतबाट निर्यात गरिएको उनले जानकारी दिए । ड्याङ छोप्ने प्लास्टिक अन्तर्राष्ट्रिय गुणस्तर प्राप्त फिनोलेक्स कम्पनीको निर्यात गरिएको उनले बताए ।

कृषि अवलोकन गर्न विदेश यात्रा 
सन् २००३ मा कृषि कामका लागि इजरायल पुगेका अधिकारी सन् २०१६ मा कृषि अवलोकनकर्ता बनेर दक्षिण कोरिया पुगे । ग्रिन हाउस टनेल खेती अवलोकनका लागि कोरिया पुगेका उनले  प्लास्टिक कम्पनीहरूको पनि अवलोकन गरे । अमेरिका र युरोपका लागि टनेल प्लास्टिक निर्यात गर्दै आएको लियन्सुसँग नेपालका लागि प्लास्टिक आयात गर्ने समझदारी गरे । भ्रमण उनका लागि दोहोरो फाइदामा परिणत भयो । स्ट्रबरीको खेती अध्ययनका लागि अधिकारीले जापानको पनि भ्रमण गरे । साधारण प्लास्टिकमा निर्भर नेपालीहरूका लागि आठ वर्षसम्म टिक्ने र उत्पादन बढी दिने कोरियन युभी प्लास्टिकको आयातको बाटो खुल्यो । नेपाली कृषकहरूलाई दक्षिण कोरियाको कृषि प्रणालीको अवलोकन गर्न कृषकहरूको भ्रमण टोली लिएर पुनः कोरिया जान लागेको पनि उनले बताए ।  श्रीकृष्णलाई अर्को   संयोग  कस्तो रह्रो  भने  उनले कोरियबाट निर्यात गरिएको प्लाष्टिकको मुख्य ग्राहक नै टोखामा कृषि उब्जाउ गरिरहेका कोरियाली नागरिक नै ग्राहक भए ।

सरकारसँग आग्रह
कृषकका लागि सरकारले दिने अनुदान तथा भन्सार छुट वास्तविक कृषकहरूका लागि हुनै नसकेको उनले प्रष्ट्याए । नेपालमा अधिकांश कृषकहरू निर्वाहमुखी पेसाका रूपमा कृषिलाई अँगालिरहेका हुनाले ती सुविधा ठूलाबडाका लागि गरिखाने बाटो बनेको उल्लेख गरे । सानो परिणाममा कृषिउपज आयात गर्ने कृषक कसरी भन्सारसम्म पुग्ने  उनले प्रतिप्रश्न गरे ।  साधारण कामका लागि प्रयोग हुने कमसल प्लास्टिकलाई ५० देखि ७० प्रतिशत फाइदा लिएर सीमित व्यक्ति मोटाइरहेको प्रति सरकारको नियमन निकाय फितलो भएको भन्दै दुःख व्यक्त गरे । 

नाफाका लागि  व्यवसायीले ल्याएका कृषि सामग्री एक वर्ष पनि नटिक्ने अधिकारीले दाबी गरे । सरकारले प्राथमिकताको क्षेत्र निर्धारण गरे पनि अनुदान र भन्सारसम्म कृषकको पहुँच पुग्न नसकेको औँल्याए । पछिल्लोपटक सरकारले आयातकर्ता र निर्यातकर्तालाई व्यवस्थित गर्न बनाएको एक्जिम कोडले साधारण कृषकहरूलाई नकरात्मक असर गर्ने उनले बताए । विशुद्ध कृषि कामका लागि आयात गरिने ग्रिनहाउस प्लास्टिक वा अन्य कृषि औजारहरूलाई कृषिका सामग्रीका अन्तर्गत भन्सारमा सूचीकृत नगरिएकाले भन्सार छुट कागजी रूपमा मात्रै रहेको बताए । कृषिका सामग्री भन्सारमा सूचीकृत गर्न र कृषि क्षेत्रका आयातित सामग्री पहिचान गर्न सक्ने कर्मचारी खटाउन सरकारलाई सुझाव दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप