बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले सुनाए ‘एमसीसी’ पास गर्ने यस्तो योजना

बिहीबार, ०२ माघ २०७६, ११ : ५६
बिहीबार, ०२ माघ २०७६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे जथाभावी बोल्दै नहिँड्न कडा निर्देशन दिएका छन् । 

पुस २८ गते सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले एमसीसीबारे मन्त्री र केही नेताहरुले नबुझिकन बोल्ने गरेकोमा आपत्ति जनाउँदै यस्तो निर्देशन दिएका हुन् । 

बैठकमा एक मन्त्रीले एमसीसीबारे बाहिर विरोध भइरहेको र पार्टीकै नेताहरु समेत एमसीसीको विपक्षमा उभिएको प्रसंग निकालेपछि प्रधानमन्त्रीले एमसीसी नेपालको जलविद्युत र सडक विकाससँग जोडिएको भन्दै यसको विरोध गर्नुको औचित्य नभएको बताएका थिए ।

उक्त बैठकमा पार्टीका स्थायी समिति सदस्य भीम रावलले एमसीसीको चर्को विरोध गरेको र उनलाई बालुवाटारबाट ज्यान मार्ने धम्की आएको प्रसंग समेत निस्किएको थियो । यो प्रसंग उठ्ने वित्तिकै प्रधानमन्त्री ओली कड्किन पुगेका थिए । 

‘को वालुवाटार, के को बालुवाटार, सरकारलाई बद्नाम गराउन अनेक बहाना बनाउने ? पार्टीको जिम्मेवार व्यक्तिले यस्तो अर्मुत कुरा गर्न मिल्छ ?’, प्रधानमन्त्री ओलीको भनाई उद्धृत गर्दै एक मन्त्रीले नाम नखुलाइदिन आग्रह गर्दै रातोपाटीसँग भने, ‘आफूले भनेको भएन भनेर जे पायो त्यहीँ बोल्दै हिँड्ने ? यो ठिक भएन ।’

प्रधानमन्त्री बोलीरहँदा मन्त्रीहरु भने चुपचाप सुनिरहेका थिए । 

‘एमसीसी सम्झौता नयाँ पनि होइन, पुरानै सम्झौता हो । यसलाई हामीले निरन्तरता दिन मात्रै खोजेको हो । त्यसैले अहिले एमसीसीबारे जेजे भ्रमहरु छरिएका छन् । ती मुख्य विषयहरुको श्वेतपत्र बनाएर प्रस्तुत हुनुको विकल्प छैन । बरु त्यसो गर्न सकिन्छ’, प्रधानमन्त्री ओलीले बैठकमा प्रधानमन्त्रीले आफ्नो योजनासहितको धारणा सुनाएका थिए । प्रधानमन्त्री ओली यतिमा मात्रै रोकिएनन्, उनले अरु स्पस्ट पार्ने प्रयास पनि गरेका थिए । ‘केही मन्त्रीहरुले नबुझेरै एमसीसीबारे बोलेको पनि सुन्छु । बरु वोल्नुनै छ भने बुझेर बोल्दा राम्रो हुन्छ’, प्रधानमन्त्री ओलीको भनाइ थियो । 

उनले संसद सुचारु भएपछि एमसीसी प्रकृयामा जाने पनि बताएका थिए । ‘अव संसद चलेपछि एमसीसी प्रकृयामा जान्छ । त्याहाँ छलफल हुन्छ । करेक्सन गर्नुपर्ने भएपनि त्यहीबाट करेक्सन हुन्छ अनि त्यहीँबाट वैधानिकता पाउँछ र पास हुन्छ’, उनले अन्तिममा निर्णय सुनाएका थिए– ‘तपाईँहरु कोही पनि भ्रममा नपर्नुस्, एमसीसी पास हुन्छ ।’   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप