शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

समाजवादी र राजपाबीच संवाद ठप्प

बिहीबार, ०२ माघ २०७६, ०८ : ५४
बिहीबार, ०२ माघ २०७६

काठमाडौँ । लामो समयदेखि बहसमा रहेको समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल बीचका एकीकरण प्रकृया केही दिन यता ठप्प छ । राजपा नेपालले नेपाल कम्युनिस्ट पार्टीसँग चुनावी गठबन्धन बनाएदेखि नै दुई दलबीचको संवादमा पूर्णविराम लागेको हो । नेकपा र राजपाबीच पुस २ गते दुई बुँदे सहमति भएको थियो ।

दुई बुँदे सहमतिसँगै समाजवादी पार्टी राजपासँग झस्किएको थियो । संयोगवस, नेकपा–राजपा बीच दुई बुँदे सहमति भएकै दिन समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव काननु मन्त्रालयमा पदभार ग्रहण गरेका थिए । त्यसको एक हप्ता न पुग्दै अध्यक्ष यादवले कानुन मन्त्रीको हैसियतमा मन्त्रीपरिषद्को बैठकमा संविधान संशोधनका लागी विज्ञ समूह गठन गर्ने प्रस्ताव लगेका थिए ।

यादवको सो प्रस्तावलाई केपी शर्मा ओलीले ‘अपमानजनक’ ढङ्गले अस्वीकार गरेपछि पुुस ८ गते समाजवादी पार्टीबाट मन्त्री भएका यादवसहित दुईजनाले राजीनामा दिए । त्यसको भोलिपल्ट समाजवादी पार्टीले सरकारबाट समर्थन नै फिर्ता लिएको थियो ।

यी दुई घटनाले अहिले राजपा र समाजवादी पार्टीको दुरी बढेको हो । राजपा नेपालका अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतोले समाजवादी पार्टीले आफूहरुलाई धोका दिएको कारण बाध्य भएर नेकपासँग सहमति गर्नुपरेको भन्दै आएका छन् । उनले आफूसँग समाजवादी पार्टीका अध्यक्षद्वय डा.बाबुराम भट्टराई र उपेन्द्र यादवले भेटेर नै काँग्रेससँग नभएर नेकपासँग तालमेल गर्ने बारेमा छलफल भएको दाबी गरिरहेका छन् ।

तर, समाजवादी पार्टीले भने महतोसँग चुनावी गठबन्धनका लागि नभएर पार्टी एकीकरणको विषयमा छलफल गर्न शीर्ष नेता गएको स्पष्ट पारेको छ । यस विषयलाई स्पष्ट पार्नका लागी समाजवादी पार्टीले विज्ञप्ति पनि जारी गरेको थियो ।


एकीकरणप्रति दुवै दलका नेता सकारात्मक देखिएपनि राष्ट्रियसभा चुनावमा दुवै दलसँगै नदेखिएपछि यसबारे मधेशमा विभिन्न टिकाटिप्पणी भइरहेका छन् । पार्टी एकीकरणकै लागि तयार रहेको भनिएका दुई दलबीच चुनावमा गठबन्धन नबन्नुले धेरैले एकीकरण हुनेमा आशंका व्यक्त गरेका छन् । उपनिर्वाचनमा पनि दुई दलबीच तालमेल भएको थिएन ।

 


यसरी सत्ताबाट एउटा दल बाहिरिने र अर्को दल नजिकिदा दुई पार्टीको एकीकरण प्रक्रिया नै प्रभावित बनेको छ । यद्यपि, समाजवादी पार्टीका प्रचार विभागका उपप्रमुख विश्वदीप पाण्डेले राष्ट्रियसभा चुनावका लागि नेताहरु व्यस्त भएको कारण संवाद नभएको जिकिर गर्दै चुनावपछि एकीकरणका लागी दुई दलबीच घनिभूतरुपमा छलफल हुने बताए ।

नेकपा र राजपाको गठबन्धन बनेपछि र समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि दुई दलको बीचमा औपचारिक संवाद नभएको स्वीकार गर्दै उनले कहिलेकाहीँ नेताहरुबीच फोन संवाद भने हुने गरेको दाबी गरे ।

यसो त दुई पार्टीबीच एकीकरणका लागि धेरै विषयमा कुराकानी मिलिसकेको कुरा दुवै दलका नेताहरुले स्वीकार गरेका छन् । केही समयअघि समाजवादी पार्टीका अध्यक्ष यादवले नै दुई पार्टीबीच एकीकरणका लागि धेरै विषयमा कुरा मिलिसकेको र केही प्राविधिक कुरा मात्र टुङ्ग्याउन मात्र बाँकी रहेको धारणा राखेका थिए । त्यस्तै, राजपा नेपालका संयोजक राजेन्द्र महतोले पनि दुई पार्टी एकीकरणको नजिक–नजिक पुगेको धारणा राख्दै आएका छन् ।

एकीकरणप्रति दुवै दलका नेता सकारात्मक देखिएपनि राष्ट्रियसभा चुनावमा दुवै दलसँगै नदेखिएपछि यसबारे मधेशमा विभिन्न टिकाटिप्पणी भइरहेका छन् । पार्टी एकीकरणकै लागि तयार रहेको भनिएका दुई दलबीच चुनावमा गठबन्धन नबन्नुले धेरैले एकीकरण हुनेमा आशंका व्यक्त गरेका छन् । उपनिर्वाचनमा पनि दुई दलबीच तालमेल भएको थिएन ।

एकीकरणका लागी पटक–पटक प्रयास गरेका राजपा नेपालका महासचिव एवम् प्रवक्ता केशव झाले पनि दुई दलबीच पछिल्लो समय संवाद नभएको बताए । ‘नेकपा–राजपाको गठबन्धन बने यता दुई दलबीच एकीकरणका लागी कुनै संवाद भएको छैन । अब केही भयो भने राष्ट्रियसभाको चुनावपछि नै हुनेछ,’ उनले भने । आफूहरु समाजवादी पार्टी र काँग्रेससहितको गठबन्धन बनाउन तयार रहेको तर समाजवादी पार्टीले नै काँग्रेससँग तालमेल नगर्ने भनेपछि पछिल्लो घटनाक्रम अगाडी बढेको उनले बताए ।

‘राजपा नेपाल एकीकरणका लागी तयार छ, तर त्यसका लागी समाजवादी पार्टीले केही शर्तहरु मान्नुपर्नेछ । राजपा नेपाल समानताका आधारमा एकीकरणको प्रकृया अगाडी बढाउने पक्षमा छ । पार्टीमा नेताहरुको वरियताक्रम पनि मिलाउनु पर्ने हुन्छ । त्यसमा समाजवादी पार्टी तयार भयो भने एकता प्रकृया पुनः अगाडी बढ्नेछ,’ राजपा नेपालको दावी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप