अण्डाको फण्डाः कोलेस्ट्रोल बढ्छ, मुटु रोग गराउँछ भन्ने कुरा कति साँचो–कति झुटो ?
अण्डा ! सम्भवतः यस पृथ्वीमा पाइने खाद्य पदार्थहरुमध्ये सबैभन्दा बढी पोषणयुक्त खानेकुराहरुमध्येका एक । फगत एउटा कोषलाई पूर्ण रुपमा चल्लामा परिणत गराउनको लागि आवश्यक सबै जीवनदायी तत्त्वहरुले भरिपूर्ण हुन्छ एउटा सिंगो अण्डा । एउटा उसिनेको अण्डामा हामीलाई दैनिक मात्रामा चाहिने भिटामीन एको ६ प्रतिशत, फोलेएटको ५ प्रतिशत, भिटामीन बी५ को ७ प्रतिशत, भिटामीन बी१२ को ९ प्रतिशत, फस्फोरसको ९ प्रतिशत र सेलेनियमको २२ प्रतिशत पाइन्छ । त्यसबाहेक अण्डामा भिटामीन डी, भिटामीन ई, भिटामीन के, भिटामीन बी ६, क्याल्सियम र जिंक पनि पाइन्छ ।
एउटा सिंगो अण्डा खाँदा हामीले ७७ क्यालोरी, ६ ग्राम प्रोटिन र ५ ग्राम स्वस्थकर चिल्लो पनि प्राप्त गरिरहेका हुन्छौं ।
तर यति पोषिलो र मानव शरीरका लागि अत्यावश्यक प्रोटिन, भिटामीन तथा खनिजतत्त्वहरुले भरिपूर्ण त्यही अण्डा चाहिँ मुटु रोगीहरुले खान नहुने भनी ‘बदनाम’ पनि छ । विगतका वर्षहरुमा अण्डाका बारेमा धेरै कुराहरु भनिएका छन् र ती सबैको सार के निस्कन्छ भने अण्डा धेरै खायो भने शरीरमा खराब कोलेस्ट्रोल (एलडीएल) को मात्रा बढ्नेछ र त्यसले मुटुको समस्या निम्त्याउने छ । यही ‘विश्वास’का कारण प्रायजसो सुन्ने गरिन्छ : कोलेस्ट्रोल वा मुटुको समस्या हुनेहरुले अण्डा खानु ठीक हुँदैन ।
तर के यो कुरा सत्य हो ? के अण्डाले मानव शरीरमा साँच्चै नै कोलेस्ट्रोल बढाउने तथा मुटुको समस्या पैदा गराउने हो त ?
पछिल्ला अनुसन्धानहरुलाई हेर्ने हो भने यो भनाइ त्यति सहज र सत्य छैन । वास्तवमा, मानव शरीरमा कोलेस्ट्रोलको मात्रा घटबढ हुने कुरा त्यति सजिलो पनि छैन । शरीरमा कोलेस्ट्रोल नियन्त्रण गर्ने एउटा गज्जबको प्रणाली हुन्छ, जुन प्रणालीले स्वचालित ढंगले काम गरिरहेको हुन्छ । त्यसअनुसार, हामीले बढी कोलेस्ट्रोलयुक्त खानेकुराहरु खायौं भने शरीरले आफैं कोलेस्ट्रोलेका उत्पादन कम वा बन्द गरेर त्यसलाई सन्तुलित पार्ने काम गरिरहेको हुन्छ । यसकारण पनि, अण्डा खाँदैमा शरीरमा कोलेस्ट्रोलको मात्रा बढी हाल्छ भन्ने कुरा सत्यबाट निक्कै टाढा छ भन्ने देखिन्छ ।
शरीरले कोलेस्ट्रोल कसरी नियमन गर्छ ?
कोलेस्ट्रोल भन्नेबित्तिकै हामी नकारात्मक रुपमा लिन्छौं ।
यसो हुनुको कारण पनि छ । किनभने कतिपय अध्ययनरुले रगतमा कोलेस्ट्रोलको मात्रा बढी हुँदा मुटुको रोग लाग्ने र कतिपय अवस्थामा मृत्यु समेत हुने देखाएको छ । तर ती अध्ययनहरुले देखाएका प्रमाणहरु मिश्रित छन् ।
यथार्थ चाहिँ के हो भने कोलेस्ट्रोलले हाम्रो शरीरमा महत्वपूर्ण काम गरिरहेको हुन्छ । यो प्रत्येक कोषको मेम्ब्रानको लागि अत्यावश्यक अणु हो । त्यसका साथसाथै, कोलेस्ट्रोल शरीरमा बन्ने टेस्टोस्टेरोन, इस्ट्रोजन र कोर्टिसोल जस्ता स्टेरोइड हर्मोनहरु बनाउनका लागि पनि प्रयोग हुने गर्छ । यसको यही महत्वको कारण शरीरमा यो पर्याप्त मात्रामा उपलब्ध भइरहोस् भन्नाका खातिर हाम्रो शरीरले विशिष्ट तरिका अपनाएको पनि हुन्छ ।
खानेकुराबाट सधैं कोलेस्ट्रोल प्राप्त गर्ने कुरा सम्भव हुँदैन, त्यही भएर शरीरमा आवश्यक कोलेस्ट्रोल हाम्रो कलेजोले नै पनि उत्पादन गर्ने गर्छ ।
तर जब हामी अण्डालगायत कोलेस्ट्रोलयुक्त खानेकुराहरु खान थाल्छौं र त्यो शरीरलाई चाहिनेभन्दा बढी हुन थाल्छ, त्यो मात्रालाई नियन्त्रित गर्नको लागि कलेजोले स्वतः कोलेस्ट्रोलको उत्पादन कम गर्न थाल्छ । फलतः हाम्रो शरीरमा कोलेस्ट्रोलको मात्रा थोरै मात्र कम बेसी हुने हुन्छ ।
तर यसको अर्थ यो होइन कि हामीले जतिसुकै बढी कोलेस्ट्रोलयुक्त खानेकुरा खाए पनि शरीरमा त्यो स्वतः नियन्त्रित भइहाल्छ । वास्तवमा एउटा तहसम्म मात्रै त्यो नियन्त्रित हुने हुन्छ । तर जब अत्यधिक मात्रामा हामी कोलेस्ट्रोलयुक्त खानेकुराहरु खान्छौं, त्यो बेलामा भने हाम्रो रगतमा कोलेस्ट्रोलको मात्रा पनि बढेर जान्छ ।
एकै दिनमा धेरै अण्डा खाँदा चाहिँ के हुन्छ ?
विगत लामो समयदेखि हामीलाई बताइँदै आइएको कुरा के हो भने अण्डा खाने कुरालाई सीमित गरिनुपर्छ । अण्डा खाइहाल्दा पनि अण्डाको पहेलो भाग वा रानी चाहिँ कम खानुपर्छ ।
एउटा मध्यम आकारको अण्डामा १८६ मिलिग्राम कोलेस्ट्रोल हुन्छ । त्यो भनेको हाम्रो शरीरलाई दैनिक चाहिने कोलेस्ट्रोलको ६२ प्रतिशत जति हुन आउँछ । सबैले थाहा पाएकै कुरा हो, अण्डाको रानीमा चाहिँ कोलेस्ट्रोल बढी हुन्छ, बाँकी सेतो भागमा चाहिँ धेरैजसो प्रोटिन हुन्छ र त्यसमा कोलेस्ट्रोल न्यून हुनछ ।
सामान्यतः एक हप्तामा २ देखि ६ वटासम्म अण्डाको रानी खानु ठीक भनिन्छ । तर यो कुरालाई समर्थन गर्ने गरी वैज्ञानिक तथ्यहरु चाहिँ फेला पर्दैनन् ।
भन्ने नै हो भने मानव शरीरमा कोलेस्ट्रोलको मात्रा बढाउनको लागि अण्डाले के कति योगदान गर्छ भन्नेबारेमा थोरै मात्रै अध्ययन भएका छन् ।
ती अध्ययनहरुमा समावेश गरिएका मानिसहरुलाई सामान्यतः दुई समूहमा बाँडिएका थिए, पहिलो समूहमा दिनको १ देखि ३ वटासम् अण्डा खाने र अर्को समूहमा चाहिँ अण्डाका सट्टा अरु नै चीजहरु खाने ।
ती अध्ययनहरुले निम्न कुराहरु देखाएका छन् :
० प्रायःजसो सबै केशहरुमा राम्रो मानिने कोलेस्ट्रोल (एचडीएल)मा बृद्धि भएको छ ।
० टोटल र खराब कोलेस्ट्रोल (एलडीएल) कोलेस्ट्रोलको मात्रामा चाहिँ सामान्यतः खासै फरक नदेखिएको तर कहिँले काहीँ चाहिँ हल्का मात्रै बृद्धि भएको देखिएको छ ।
० ओमेगा ३ ले भरिएका अण्डा खाँदा चाहिँ रगतमा मुटुको लागि खतरनाक मानिने ट्रिग्लिसेसिड्सको मात्रामा पनि कमी आएको पाइयो ।
० रगतमा लुटेइन र जेकसान्थिन जस्ता क्यारोटीनोइट एन्टिअक्सिडेन्टहरुको मात्रामा हल्का बृद्धि भएको पाइयो ।
० तर सिंगो अण्डाहरु खाँदा पर्ने असरहरु चाहिँ व्यक्तिपिच्छे फरक फरक रहने पनि देखियो ।
अध्ययनमा समावेश ७० प्रतिशत मानिसहरुमा अण्डा खाँदैमा टोटल वा खराब कोलेस्ट्रोल (एलडीएल) को मात्रामा खासै फरक नपरेको देखियो । बाँकी ३० प्रतिशतमा भने त्यो अलिकति बढेको पाइयो ।
दैनिक रुपमा केही संख्यामा अण्डा खाँदा केही मानिसहरुमा खराब कोलेस्ट्रोल बढेको देखिए पनि त्यस्ता मानिसहरुमा हुने खाँदिएको र सानो रुपको खराब कोलेस्ट्रोलको अंश ठूलो बनेको पनि देखियो ।
ख्याल गर्नुपर्ने कुरा के छ भने खराब कोलेस्ट्रालको अंश पनि सानोको सट्टामा ठूलो छ भने त्यसले मुटुसम्बन्धी रोग लगाउने सम्भावना कम हुन्छ । यस अर्थमा अण्डा खाँदा टोटल र खराब कोलेस्ट्रोल हल्का बढिहाल्यो भने पनि त्यसबाट चिन्तित भइहाल्नु पर्ने अवस्था चाहिँ रहँदैन ।
यस आधारमा के वैज्ञानिक निष्कर्ष निकालिएको छ भने एउटा स्वस्थ मानिसले दिनको ३ वटासम्म सिंगो अण्डा खानु पूर्णतः सुरक्षित छ ।
अण्डा र मुटु रोग
अण्डा खानु र त्यसले पैदा गर्ने मुटुरोगको खतराबारे थुप्रै अध्ययनहरु भएका छन् ।
ती अध्ययनहरुमध्ये पनि अधिकांश अध्ययनहरु अवलोकनमा आधारित छन् र ती अध्ययनहरुमा मानिसहरुको एउटा ठूलो हिस्सालाई वर्षौंसम्म अवलोकन गरिएका छन् ।
अनुसन्धानकताहरुले ती अध्ययनहरुका आधारमा खानेकुरा, धूमपान, मद्यपान, शारीरिक कसरत जस्ता कुराहरु निश्चित किसिमका रोगहरु घटाउन वा बढाउन जोडिएका छन् कि छैनन् भनेर तथ्यांकीय विधिका आधारमा निष्कर्षहरु निकालेका छन् ।
हज्जारौं मानिसहरुमाथि गरिएका त्यस्ता थुप्रै अध्ययनहरुले के देखाएको छ भने नियमित रुपमा अण्डा खाने मानिसहरु र नखाने मानिसहरुबीचमा मुटुको रोग लाग्ने सम्भावनामा खासै फरक छैन । बरु उल्टै कतिपय अध्ययनह?ले चाहिँ अण्डा खाने मानिसहरुमा हृदयघात हुने सम्भावना कम भएको पो देखाएको छ ।
तर तिनै अध्ययनहरुले के चाहिँ देखाएको छ भने टाइप २ खालका मधुमेह हुने मानिसहरुले धेरै अण्डा खाँदा मुटुको रोग लाग्ने सम्भावना बढेर जान्छ ।
तर एउटा नियन्त्रित अध्ययनमा समावेश टाइप २ मधुमेह भएका मानिसहरुले दिनको २ वटाका दरले हप्तामा ६ दिनका हिसाबले तीन महिनासम्म अण्डा खाँदा पनि उनीहरुको रगतमा कोलेस्ट्रोलको मात्रामा खासै फरक नपरेको पाइएको थियो ।
मानिसको स्वास्थ्य अवस्था उसले खाने अन्य खानेकुरामा पनि भर पर्न सक्ने देखियो । मधुमेहका रोगीहरुका लागि उत्तम मानिने कार्बोहाइड्रेड कम हुने खानेकुराहरुमा अण्डा समावेश गर्दा त्यसले मुटु रोग लाग्ने खतरालाई कम गरेको पनि पाइयो ।
अण्डाका अन्य थुप्रै फाइदाहरु पनि छन्
माथि शुरुमै उल्लेख भइसकेको छ : यस पृथ्वीमा पाइने खाद्य पदार्थहरुमध्ये सबैभन्दा बढी पोषणयुक्त खानेकुराहरुमध्येका एक हो भनेर । वास्तवमा, अण्डा थुप्रै पोषणहरुले भरिपूर्ण र अत्यन्तै लाभदायक खानेकुरा हो भन्ने कुरा तलका तथ्यहरुबाट पनि प्रष्ट हुन्छ :
० अण्डामा लुटेइन र जियाजान्थिन नाम गरेका एन्टिअक्सिडेन्ट तत्वहरु पर्याप्त मात्रामा पाइन्छ जसले मोतियाबिन्दूको खतरा र उमेर बढ्दै जाँदा देखापर्ने कमजोर दृष्टिको समस्यालाई कम गर्न मद्दत गर्छ ।
० अण्डामा चोलाइन नामक गरेका पोषक तत्व पर्याप्त मात्रामा पाइन्छ, जुन कोषहरुका लागि अत्यावश्यक हुन्छ ।
० अण्डामा पर्याप्त मात्रामा जनावारजन्य प्रोटिन हुन्छ, जसले हाम्रो मांसपेशी बृद्धि गर्न तथा हड्डीलाई स्वस्थ राख्ने काम गर्छ ।
० अण्डा खाँदा अघाएको अनुभूति हुन्छ, फलतः अनावश्यक खानेकुराहरु खानुपर्ने जरुरत नहुनाले मोटाउने समस्याबाट पनि हामीलाई जोगाउँछ ।
यी सबै तथ्यहरुका आधारमा निर्धक्कतापूर्वक भन्न सकिन्छ अण्डा खानु स्वास्थ्यको लागि फाइदाजनक नै छ, यसले गर्ने फाइदाका तुलनामा वेफाइदाहरु अत्यन्तै कम छन् ।
स्रोतः हेल्थलाइनडटकम
Title Photo: https://miro.medium.com
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सौराहामा डेढ अर्ब लगानीमा बन्यो पाँच तारे ‘रोयल टुलिप’ होटल
-
‘आइएमई पे’ एपमा बैंक खाता लिङ्क गरी स्मार्टफोन जित्ने मौका
-
स्थानीय तह उपनिर्वाचन : यस्तो छ कीर्तिपुरको नमुना मतपत्र
-
श्रवण शक्ति कम भएकाहरुको हक अधिकार सुनिश्चित गर्न सरकार गम्भीर छ : मुख्यमन्त्री आचार्य
-
राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतले पेस गरे ओहोदाको प्रमाणपत्र
-
एआईजीद्वय बुद्धिराज गुरुङ र केदार ढकाललाई दर्ज्यानी चिन्ह प्रदान